घूसबिना काम नगरेपछि सेवाग्राही मर्कामा
२०७३ बैशाख २७ सोमबार
जनकपुरधाम: मालपोत कार्यालय जनकपुरका कर्मचारीले बिनाघूस सेवाग्राहीको काम अघि बढाई विभिन्न अड्चन खडा गर्ने गरेपछि सर्वसाधारण मर्कामा परेका छन्।
धनुषाको रघुनाथपुर गाविस निवासी फुलगेन यादव पाँच दिनदेखि आफ्नो जग्गाको रजिस्ट्रेसन पास गराउन कार्यालय धाए पनि कर्मचारीले अतिरिक्त रकम नपाएपछि वहाना बनाएर फर्काउने गरेको बताए।
बैंकमा धरौटी राखेको जग्गा ऋण चुक्ता गरेर फुकुवा गराएपछि आफ्नो नाममा रजिस्ट्रेसन गराउन गाउँबाट आइतबार मालपोत आएका यादवले लेखापढी व्यवसायी सत्यनारायण महतोमार्फत काम अघि बढाएका थिए।
१२ वर्षदेखि लेखापढीको काम गर्दै आएका महतोले कार्यालयका कर्मचारीलाई घूस नदिएकै कारण यादवको काम विभिन्न वहानामा रोक्दै आएको र बिहीबार १० बजे सम्पूर्ण कागजात पुर्याएर मोठ भिडाउन कर्मचारी शिवशरण पण्डितलाई आग्रह गर्दा उनले चलानी नम्बर नभएको भन्दै काम रोकेको बताए।
११ बजेसम्म चलानी नम्बरसहितको पत्र बैंकबाट ल्याएर अब काम गरिदिनुस् भनेर आग्रह गर्दा पण्डितले एकछिन पर्खनुस् भन्दै तीन बजाइदिएको र त्यसपछि अब अबेला भो अर्को दिन आउनुस् भनेर काम नगरेको लेखापढी व्यवसायी महतोले बताए।
महतोले भने, ‘गरिब जनताको काम गर्न पनि घूसनै चाहिने फाँटवाला कर्मचारीको गुनासो हाकिमलाई गरेपछि उनीहरूले मिलाएर जानुस् काम हुन्छ भने । यहाँ कर्मचारीदेखि हाकिमसम्म सबैलाई घूस नपुर्याएसम्म काम हुँदैन।' लेखापढी व्यवसायीले पनि सेवाग्राहीसँग अतिरिक्त रकम लिने गरेको र उनीहरूले कर्मचारीसँग सेटिङ मिलाएर घूस दिँदै काम गराउने गरेको महतोले आरोप लगाए।
कार्यालयका कर्मचारीले घूस नपाउँदा सेवाग्राहीको कागजातसमेत लुकाएर राखिदिने गरेको र निरर्थक हैरान पार्ने गरेको अर्का लेखापढी व्यवसायी सुनील कर्णले बताए। दुई दिनअघि मात्रै कजली दनुवारको रजिस्ट्रेसन पास गराएर गएका कर्णले बिहीबार व्यक्तिगत कपी लिन आउँदा कर्मचारीले कपी नरहेको भन्दै अर्को दिन आउनुस् अनि दिन्छौं भन्ने गैरजिम्मेवार जवाफ दिएको बताए।
लेखापढी व्यवसायीमा पनि जसले घूस मिलायो त्योसँग राम्रो व्यवहार र जसले पैसा दिन सकेन त्यसको काममा कर्मचारीले झमेला गर्ने गरेको लेखापढी व्यवसायीको भनाइ छ।
आफ्नो गुनासो लिएर सेवाग्राही, लेखापढी व्यवसायीले कार्यालय प्रमुख भुवनहरि अर्यालको कार्यकक्षमा कुरा गर्न जाँदा अर्यालले मोठ फाँठका कर्मचारी पण्डितलाई बोलाएर सोधपुछ गर्न खोज्दा उनले उल्टै सेवाग्राहीकै गल्ती देखाउन थालेपछि कार्यकक्षमा हो हल्ला भएको थियो।
सेवाग्राहीले पण्डितमाथि घूस मागेको आरोप लगाउँदा उनले कार्यालय प्रमुखकै अगाडी गाली गरेका थिए।


0 comments
Write Down Your Responses