उपत्यकामा पाँच सेटलाइट सिटीको तयारी
२०७३ बैशाख २७ सोमबार
काठमाडौं: के तपाईं काठमाडौं उपत्यकामै बसेर पनि दैनिक आवश्यकताका लागि चक्रपथभित्र धाइरहनुभएको छ? छोराछोरीलाई विद्यालय वा क्याम्पस पठाउन होस् वा उपचारका लागि होस् अनि किनमेलका लागि होस् वा मनोरञ्जनका लागि, अब तपाईंले आफू बसेकै क्षेत्र वा सहरमा यी र यस्ता दैनिक आवश्यकताका सबैजसो सुविधा प्राप्त गर्न सक्नुहुनेछ।
सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र पाँचवटा सहरलाई 'सेटलाइट सिटी' का रूपमा विकास गर्ने भएको छ। सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत भक्तपुरको गुन्डु, ललितपुरको खोकना, बुङमती र डम्पी, काठमाडौंको धर्मस्थली, काभ्रेस्थली र जीतपुरका साथै मनोहरा र बागमती करिडोरलाई सेटलाइट सिटीका रूपमा विकास गर्ने भएको हो। सेटेलाइट सिटी नेपालका लागि पहिलो हो।
सहरी विकास मन्त्रालयमातहतको प्राधिकरणले सेटलाइट सिटी बनाउने कामको सुरुआत गरेको हो। प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले सेटलाइट सिटीको अवधारणा अघि बढाइएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, 'बजेटका लागि अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको छ, सर्वप्रथम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्ने भएकाले सोका लागि काम अघि बढाइसकेका छौं।'
वातावरणीय दृष्टिले पूर्णरूपमा अनुकूल हुने हरियाली यस्तो सिटीमा अस्पताल, बैंक, विद्यालय, क्याम्पस, बजार क्षेत्र, खेलमैदान, रंगशाला, स्विमिङ पुल, डिपार्टमेन्टल स्टोर, फुटपाथ, साइकल र अपांगमैत्री सडक, उद्योग, कलकारखाना आदिजस्ता बारम्बार आवश्यक पर्ने सबैजसो सुविधा प्राप्त हुनेछन्। कुनै नागरिक अन्यत्र जागिरमा जान्छ भने पनि सिटीमा व्यवस्थित ढंगले बस्न सक्छ अथवा ऊ उपत्यकाकै अन्य सहरमा पर्यटक बनेर जान सक्छ।
सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र पाँचवटा सहरलाई 'सेटलाइट सिटी' का रूपमा विकास गर्ने भएको छ।
सानोतिनो वा दैनिक आवश्यक पर्ने कुनै पनि कामका लागि त्यो स्थानका सहरबासी अन्यत्र जान नपरोस् भनेर यस्तो सिटीको परिकल्पना गरी काम अघि बढाइएको तिवारीले जानकारी दिए।प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना बनाएरै काम गर्नुपर्ने भनी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ मा उल्लेख गरिसकेको छ।
विविध कारणवश उक्त ऐन २०६९ सालदेखि मात्र कार्यान्वयनमा आएको छ।
तिवारी पनि गुरुयोजना बनाएर अघि नबढे नयाँ र समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउँछन्। यसका लागि सर्वप्रथम स्थानीय निकायमा निर्वाचन र तिनबाट छनोट भएका जनप्रतिनिधिविना गुरुयोजना बनाउनु उपयुक्त नहुने उनको बुझाइ छ।
उनले भने, 'तत्काल गुरुयोजना असम्भवजस्तै छ। त्यसअघि सेटलाइट सिटीको काम अघि बढाउनुपरेको छ। यसका लागि खर्बौ बजेट चाहिन्छ तर यो अवधारणालाई पूर्णता दिन सकियो भने बल्ल मानिसलाई महानगरमा वा सहरमा बसेको महसुस हुनेछ।'
छिमेकी राष्ट्र बंगलादेशको राजधानी ढाकामा एक लाख २० हजार रोपनी क्षेत्रफलमा सेटलाइट सिटी बनाउन थालेको पाँच वर्ष भयो।
भारतका गुडगाउँ, नोयडा, रोहिणी आदि स्थानमा सेटलाइट सिटी बनाइएका छन्।
तिवारीका अनुसार सिटीमा विभिन्न देशका कम्पनीले कारखाना खोलेर स्थानीय बासिन्दालाई रोजगारीसमेत दिन सक्नेछन्। उनले डीपीआरका लागि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पाँच करोड रुपैयाँको अख्तियारी पठाइदिन कुराकानी भएको र सहमतिसमेत भएको बताए।
विकास प्राधिकरणले काम अघि बढाए पनि यसअघि सहरी विकास तथा निर्माण विभागले ललितपुरको हरिसिद्धिलाई २०५६ सालमा सेटलाइट सिटी बनाउने भनी गरेको तयारी त्यसै थन्किएको छ। डा. तिवारीले भने, 'सहरी विकासमन्त्रीसमेत रहेका प्रधानमन्त्रीसँग भएको कुराकानीमा काम अघि बढाउन मौखिक निर्देशन भएको छ। उहाँले 'अघि बढ्नोस्' भन्नुभएको छ।'


0 comments
Write Down Your Responses