जहाँ पुरुषले प्रयोग गर्दैनन् गर्भनिरोधक..

२०७३ बैशाख २७ 
 किमाथांका (संखुवासभा) :किमाथांका-२ की २५ वर्षीया फन्जुम शेर्पाले २०६६ सालमा निमा छिरिङ शेर्पासँग विवाहपछि अहिले पाँच वर्षीया छोरी पासाङल्हामु, तीन वर्षीय छोरा तेन्जिङ, डेड वर्षीय छोरा दाबालाई जन्म दिइन्। निरक्षर नै भए पनि खुसीले सन्तान पुगेको भन्दै श्रीमान्लाई बध्याकरण गर्न अनुरोध गर्छिन् तर नमानेपछि उनी आफैं बाध्य भएर गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्न बाध्य छिन्।

 जिल्लाकै दुर्गम यस क्षेत्रमा अशिक्षतको बाहुल्य छ। गर्भान्तर र गर्भनिरोधक साधन प्रयोग गर्नेको संख्या न्यून छ। भोटखोला क्षेत्रका किमाथांका, हटिया, चेपुवा र पावाखोला गाविसका पुरुषले गर्भनिरोधक साधन प्रयोग नगर्दा महिलाले नै प्रयोग गर्न बाध्य छन्। बालबालिकाको हेरचाह र घरको सबै कामधन्दा महिलाले गर्नुपर्ने बाध्यता भएको र अस्थायी साधनले शरीरलाई अस्वास्थ बनाउने गरेको चेपुवा च्याम्ताङकी आङचिप्पा भोटे बताउँछिन्।
हिमालय प्राथमिक विद्यालय किमाथांकामा कार्यालय सहयोगीका रूपमा कार्यरत फन्जुमका श्रीमान् निमाछिरिङले अस्थायी साधन प्रयोगबारे जानकारी गराउँदा सुन्न पनि चाहेनन्। उनले लजाउँदै भने, 'त्यस्तो काम पनि गर्ने हो र? ' गाउँमा कामको भार बढी हुने भएकाले २५ वर्षकै उमेरमा आफैंले अस्थायी साधन प्रयोग गर्न बाध्य भएकाले शरीर मोटाएको र पेट दुख्नेजस्ता समस्या हुनथालेको फन्जुमले बताइन्। उनीजस्तै यी चार गाविसका पुरुष अस्थायी साधन प्रयोग गर्दैनन्।
 सचेत महिला नभएका परिवारमा १२ जनासम्म सन्तान जन्माउने गरेको पाइन्छ। किमाथांका स्वास्थ्य चौकी प्रमुख निमाछेदर शेर्पा अस्थायी साधन प्रयोग गर्ने पुरुषको संख्या शून्य भएको बताउँछन्। नि:शुल्क वितरण गरिने कन्डमसमेत पुरुषले प्रयोग नगर्ने गरेको उनले बताए।
 चेपुवा स्वस्थ्यचौकी प्रमुख नोर्चे भोटेले भने, 'नि:शुल्क लिनू भनेर भाँडोमा राखिएको कन्डम चार वर्षदेखि उस्तै छ। महिलाहरू भने पिल्स, तीन महिने संगिनी सुईजस्ता अस्थायी साधन प्रयोग गर्छन्।' हटिया स्वास्थ्य चौकीका प्रमुख फुर्पु भोटेले अस्थायी साधन प्रयोगका लागि पुरुषहरूमा जानकारी र सचेतीकरण कार्यक्रमसमेत आयोजना गरिएको बताए। 
देवता, पितृ रिसाउने, वंश नाश हुनेजस्ता धार्मिक र परम्परागत कुसंस्कारका कारण अस्थायी साधन पुरुषले प्रयोग नगरेको उनले बताए। महिलाहरूले भने गर्भान्तर र गर्भनिरोधका लागि बाध्य भएर साधन प्रयोग गर्ने गरेका छन्। महिलाले मात्र अस्थायी साधन प्रयोग गर्नुपर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालयले अस्थायी साधन प्रयोगबारे पुरुषहरूमा सचेतना कार्यक्रम ल्याउनुपर्ने हटियाका शिक्षक लादर भोटेले बताए।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले भने बिगतदेखि नै अस्थायी र स्थायी गर्भ निरोधका उपाय र यसका सकरात्मक पक्षका बारेमा सचेतना कार्यक्रम गर्दै आएको बताए। भोटखोला क्षेत्रमा आलु, मकै, उवा र कोदो मात्र उत्पादन हुन्छ। 
उत्पादित अन्नले तीन महिना मात्र खान पुग्छ। यस क्षेत्रका महिलाले बढी परि श्रम गर्नुपर्ने र अस्थायी साधनसमेत महिलाले नै प्रयोग गर्नुपर्ने बाध्यता भएपछि छोटो उमेरमै मृत्यु हुने गरेको अरुणोदय उच्च माविका प्रचार्य छिरिङ भोटेले बताए। अधिकांश परिवारले अस्थायी साधन प्रयोग गर्दैनन् तर प्रयोग गर्नेहरूमा पनि परिवारको सल्लाहबिना नै प्रयोग गर्ने गरेको पाइएको छ।
 धेरै सन्तान जन्माएर पालनपोषण गर्न समस्या भएको भन्दै महिलाहरू पछिल्लो समय सचेत हुने गरेका छन्। यस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन बढेकाले २५ वर्ष नबित्दै तीनचार सन्तानका आमा हुने चलन छ। युवती आमाहरूमा साधन प्रयोग र परिवारको संख्या ठूलो हुनु हुन्न भन्ने सचेतना पलाएको हटियाका पूर्वगाविस अध्यक्ष वाङ्दावी भोटे बताउँछन्।
 भोटखोलाको विकासको बाधक परिवारको संख्या ठूलो हुनु पनि मुख्य भएकाले तत्काल यसमा राज्यले विशेष प्रोत्साहनसहितको पहल गर्नुपर्ने उनी माग गर्छन्।

0 comments

Write Down Your Responses