‘भारतको ग्रान्ड डिजाइनमा फसियो'
| २०७३ बैशाख २९ बुधवार
काठमाडौं:
एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई समर्थन निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् ।
भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुर्याएको भन्दै त्यस्तो आरोप लगाएका हुन् ।
गम्भीर प्रकृतिका विषयमा पार्टीभित्र गहन छलफल नहुँदा यस्तो हुने गरेको पनि उनले बताए । ‘भारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टीको नेतृत्व फसेको हो,' भट्टले अन्नपूर्णसँग भने, ‘मेरो विश्लेषणमा भारतीय डिजाइनलाई असफल पार्न अर्को बाह्य शक्तिले मात्र सक्थ्यो ।' उनको संकेत उत्तरतर्फ भए पनि उनले चीनको नाम लिएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वैशाख २२ गते आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न कांग्रेसले समर्थन जनाएको भन्दै एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित सत्ता गठबन्धनमा रहेका दलहरूलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनमा अघि बढ्न अपिल गरेका थिए ।
त्यसको भोलिपल्टै वैशाख २३ गते दाहालले एमालेसँग नौबुँदे सहमति गरी वर्तमान सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।
संविधान कार्यान्वयनमा उदासीनता, विस्तृत शान्तिसम्झौताविपरीतका गतिविधि, एमाओवादी नेताले नेतृत्व गरेका मन्त्रालयमा प्रधानमन्त्री केपी ओलीले गर्ने गरेको राजनीतिक नियुक्ति, एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एक महिनाअघि लेखेको पत्रको सुनुवाइ नहुनुजस्ता विषयले एमाले र एमाओवादीबीच आन्तरिक संघर्ष हुँदै आएको भट्टले बताए । ‘नयाँ ढंगले जानुपर्नेमा ग्रान्ड डिजाइनमा हामी किन फस्यौं ? हामीले हाम्रो स्वतन्त्र अस्तित्व बचाउन किन सकेनौं ? ' भट्टले भने
भट्टले भारतसँग आफ्नो पार्टीको सम्बन्धबारे प्रस्ट्याउन जरुरी रहेको पनि बताए । ‘अति विरोध र अति समर्थन गर्ने प्रवृत्ति छ । सन्तुलित खालको सम्बन्ध हुनुपर्छ,' उनले भने, ‘आफू कमजोरी गर्छन्, भारतलाई गाली गर्छन्, भारतसँगको सम्बन्ध कस्तो हुने हो ? प्रस्ट पार्नुपर्छ ।
आफ्नो समस्या अर्काको टाउकोमा हालेर पन्छिने प्रवृत्ति छ ।' भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयले नेपाल–भारत सम्बन्धमा दूरगामी असर पर्ने पनि उनले बताए ।
भट्टले भने, ‘नेपाली राजदूतले राष्ट्रिय स्वार्थलाई हेर्ने हो । कूटनीतिक मर्यादाविपरीत जान मिल्दैन ।' भारतसँग आरोपप्रत्यारोपमा उत्रनु कूटनीतिक रूपमा उपयुक्त नहुने पनि उनले बताए ।


0 comments
Write Down Your Responses