म्यानपावर निर्देशकलाई राजदूत सिफारिस
वैशाख २९, २०७३-
सरकारले नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने व्यक्तिलाई रोजगारदाता मुलुक ओमनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ । दुबईलाई बेस बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील सर्मिला पराजुलीलाई मन्त्रिपरिषद्को बैठकले ओमनको राजदूतमा सिफारिस गरेको हो ।
उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनधिकार फोरम लोकतान्त्रिकको कोटामा उनी राजदूत सिफारिसमा परेकी हुन् ।
सन् २०१४ सेप्टेम्बरदेखि ओमनमा नेपाली दूतावास खुलेको थियो । संसदीय सुनुवाइपछि उनी ओमनका लागि नेपाली पहिलो राजदूत हुनेछिन् । उनको परिवारै म्यानपावरको क्षेत्रमा क्रियाशील छ ।
उनी दुबईमा रहेको ‘बीएसडी ह्युमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ र नेपालमा रहेको म्यानपावर फ्लोरिड ह्युमन रिसोर्स सोलुसनका निर्देशक भएको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिज/ट्रेनिङ सेन्टरको वेबसाइटमा उल्लेख छ । पराजुली त्यस ओभरसिजका ‘ओभरसिज डाइरेक्टर’ हुन् ।
पूर्वराजदूत सूर्यनाथ मिश्रले ‘म्यानपावरका डाइरेक्टरलाई राजदूत बनाउने कार्य गलत’ भएको बताए । ‘खाडीमा जति नेपालीको दयनीय स्थिति छ, त्यो सबै म्यानपावरवालाहरूको बदमासीले हो,’ चार वर्ष कतारमा सफल कार्यकाल पूरा गरेर फर्केका मिश्रले कान्तिपुरलाई भने, ‘म्यानपावरवालाहरू कामदारको हितभन्दा व्यवसायको उत्थानमा लाग्ने कार्य स्वाभाविक छ ।
यो त माछोको रेखदेख गर्न बकुलोलाई जिम्मा दिएजस्तै हो ।’
बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिने काम गर्छ । ‘१० वर्षभन्दा बढी समयदेखि मानव संसाधन आउटसोर्सिङ (सप्लाई) गर्ने कार्यमा उच्च अनुभव छ,’ बीएसडीको वेबसाइटमा उल्लेख छ, ‘कामदारको सप्लाई लाइनको अन्त्यसम्म गएर काम गर्नुका साथै सही कामदारको आपूर्ति तथा छनोट गर्नेछौं ।
’
रोयल डाइमन्ड कम्पनीले यूएई तथा खाडी क्षेत्रका कम्पनीको मागअनुसार कामदार आपूर्ति गर्ने गर्छ । यसले कम्पनीमा गएर मागपत्र खोज्ने र नेपालसहित स्रोत देशमा पुगेर कामदार खोजेर दिने काम गर्ने रोयलको वेबइसाइटमा उल्लेख छ ।
‘दुबई बेस यो कम्पनी कामदार आपूर्तिको क्षेत्रमा अग्रणीमा पर्छ । हामी उड्डयन, इन्जिनियरिङ, स्वास्थ्य सेवा, हस्पिटालिटी, कार्यालय सहायक, सुरक्षा गार्ड तथा व्यवस्थापन सहजीकरणका लागि कामदार आपूर्ति गर्छौं,’ रोयलको वेबसाइटमा उल्लेख छ, ‘निजी, सार्वजनिक, अर्धसरकारी र सरकारी क्षेत्रमा कामदार आपूर्ति गरिरहेको छ । कामदार आपूर्ति गर्ने कार्य दैनिकजसो बढिरहेको छ ।’
पराजुलीको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिजले कामदारको भिसा पठाउने काम गर्छ । उनी र उनका श्रीमान् बिमल ढकाल यूएईमा बसेर काम गर्छन् भने जेठाजु कमल ढकाल काठमाडौं बसेर फ्लोरिड म्यानपावरको काम हेर्छन् ।
नेपाल बिजनेस काउन्सिल यूएईको उपाध्यक्षसमेत रहेकी पराजुली यूएई आउनुअघि उनी मलेसियामा कार्यरत थिइन् ।
उनले आफू म्यानपावरसँग सम्बन्धित कम्पनीमा आबद्ध नरहेको भन्दै ‘ग्रिनलाइनको वेबसाइट अपडेट नभएको’ बताइन् ।
‘ग्रिनल्यान्ड ट्रेनिङ सेन्टरको मात्रै निर्देशक हो । रोयल डाइमन्ड, बीएसडी र फ्लोरिड म्यानपावरमा म छैन । मेरो पारिवारिक बिजनेस हो,’ उनले कान्तिपुरलाई भनिन्, ‘काठमाडौंमा डिस्काउन्ट कार्डबाट बिजनेस सुरु गरेको हो ।
अहिले मेरो शैक्षिक, हाइड्रोपावर र ट्राभलको क्षेत्रमा लगानी छ ।’
आफू १७ वर्षको उमेरदेखि पढाइ र बिजनेसलाई सँगै लिएर जान सकेकाले छोटो समयमा सफलता लिन सकेको उनले बताइन् । ‘मेरै मध्यस्थतामा बहराइन र नेपालबीच श्रम सम्झौता भएको हो,’ उनको दाबी छ, ‘अब ओमनमा राजदूत भएर जान पाएमा मैले दुई देशबीच हुन नसकेका सम्झौता गराउन सक्छु । नेपाली कामदारको हितका लागि महत्त्वपूर्ण काम गर्न सक्छु ।’


0 comments
Write Down Your Responses