पूर्व सेना प्रमुखदेखि माअोवादीका शीर्ष नेताबिरुद्व हत्या मुद्दा
वैशाख २९, २०७३-
द्वन्द्वकालका घटनामा संलग्नताको आरोपमा तत्कालिन सेना प्रमुख र माओवादीका शिर्ष नेताहरुबिरुद्व हत्या तथा अपहरणजस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दा दर्ता भएका छन् । सरकारले बेपत्ता छानबीन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नु अगावै द्वन्द्वपीडित परिवारले कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेका हुन ।
उच्च सुरक्षा अधिकारी र नेताहरुबिरुद्व ज्यान मारेको आरोपसहितको मुद्दा सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न अटेर गरेपछि ती घटना अदालतसम्म पुगेका छन् । अदालतले गम्भीर प्रकृतिका फौजदारी अपराधको अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले जाहेरी दर्ता गर्यो तर, अनुसन्धानमा ढिलाई गर्दै आएको छ ।
तत्कालिन सेना प्रमुख प्यारजंग थापा, रुकमाङ्गद कटवाल, सुरक्षा अधिकारीहरु र माओवादी नेता खडक बिश्वक्रमा, जिल्ला इन्जार्चलगायतका नेताहरु बिरुद्व किटानी जाहेरी परेको छ ।
कोहलपुर ७ का युवराज गिरीले नेपालगन्ज राँझास्थित ईमामनगर ब्यारेकका तत्कालिन प्रमुख कटवालले पक्राउ गरी यातना दिएको भन्दै उनीबिरुद्व संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको मानव अधिकार समितिमा उजुरी दिएका थिए ।
समितिले पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति दिने र घटनाको अनुसन्धान गरी संलग्न व्यक्तिलाई कारवाही गर्न सिफारिस गरेको थियो । 'तर, हालसम्म उक्त घटनाको अनुसन्धान भएको छैन,' यातनापीडित गिरी भन्छन्,'हाल आएर यस्ता मुद्दाहरु मिलाउने प्रयास हुन थाल्यो ।' कटवालले कमाण्ड समालेका सैनिकहरुले ०६१ बैशाख १३ गते पक्राउ गरी चरम यातना दिएको आरोप छ ।
त्यस्तै, बर्दिया सोरहवा २ जगतिया गाउँकी १० वषर्ीया रुपा चौधरीलाई ०५९ साउन ५ गते राति घरबाटै पक्राउ गरी गाउँको बीचमा रहेको सार्वजनिक कुँवा लागेर गोली हानी हत्या गरेको आरोपसहित तत्कालिन सेना प्रमुख प्यारजंग थापा, मेजर अजित थापा र क्याप्टेन रमेश स्वाँरबिरुद्व जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।
सुरुमा बर्दिया प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित परिवार पुनराबेदन अदालत, नेपालगन्जमा पुगेका थिए । अदालतले बालिका हत्या घटनाको जाहेरी दर्ता गरी मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दा चलाउन आदेश दिईसकेको छ । अदालतको आदेशपछि जाहेरी दर्ता भएपनि अनुसन्धान अघि बढेको छैन । बालिका हत्या घटनापछि उक्त गाउँ माओवादी पकड क्षेत्र बनेको स्थानीयबासिन्दा बताउँछन् । 'यस्ता क्रुर हत्याका मुद्दाहरुलाई मेलमिलाप आयोगमा लागेर मिलाउने काम एमाओवादीले गर्नु भएन,' स्थानीयबासिन्दा भन्छन्,'उक्त मुद्दाको अनुसन्धान गरी दोषिलाई कारवाही हुनै पर्छ ।'
दाङका उपेन्द्र जिसी, सुवाष रोका, गोरबहादुर थापा, दिलबहादुर खडकालाई तत्कालिन माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेको भन्दै तत्कालिन माओवादी प्रमुखबिरुद्व प्रहरीमा उजुरी परेको छ । ०५८ फागुन ९ गते अपहरण गरी हत्या गरिएको पीडित परिवारले बताएका छन् । त्यस्तै, बर्दिया कालिकाका दिलबहादुर खडका र नारायण सापकोटालाई माओवादी कार्यकर्ताले अपहरण गरी बेपत्ता बनाएको भन्दै नेता खडक बिश्वकर्मा - प्रकाण्ड) र भुवन चौधरीलगायतकाबिरुद्वमा जाहेरी दर्ता भएका छन् ।
प्रहरी कार्यालय र अदालतमा पुगेका द्वन्द्वकालिन घटनाको अनुसन्धान नहुँदा पीडितले न्यायको अनुभुति गर्न पाएका छैनन् ।
'संक्रमणका नाममा न्यायलाई प्रभावित गर्ने काम कुनै पनि पक्षबाट हुनु हुँदैन । तर, द्वन्द्वकालमा मानव अधिकार उल्लंघन गर्ने दुबै पक्ष अझै पनि शक्तिमै रहेका कारण ती उजुरी ओझेलमा परेका छन्,' तत्कालिन राज्य र बिद्रोही पक्षबाट पीडित बनाईका परिवारलाई कानुनी सहयोग गर्दै आएका एडभोकेसी फोरमका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतम भन्छन्, 'प्रहरी र अदालतमा पुगेका घटनालाई कानुनले फिर्ता लिन मिल्दैन ।
तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्छ ।'
द्वन्द्वकालिन घटना मध्ये बाँकेका ७, बर्दियाका ६, दाङमा २ र सुर्खेतमा २ र दैलेखमा एक मुद्दा प्रहरी र अदालतसम्म पुगेका छन् । बर्दियामा ६ वटा द्वन्द्वकालिन मुद्दाहरु प्रहरीमा दर्ता हुने प्रक्रियामा छन् । अदालतको आदेशपछि बर्दिया प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको हो ।


0 comments
Write Down Your Responses