सप्तकोसीको तटबन्ध रोक्न आदेश
२०७३ बैशाख २९ बुधवार
पुनरावेदनको आदेशपछि भारतले रोक्यो काम
इटहरी: पुनरावेदन अदालत विराटनगरले दिएको अन्तरिम आदेशपछि सुनसरीको बराहक्षेत्र गाविस पुल्ठेगौंडास्थित सप्तकोसी नदीमा भारत सरकारले बनाउँदै गरेको तटबन्ध निर्माणको काम रोकिएको छ । अदालतले आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरी लगाएर तटबन्ध निर्माण बन्द गराएको हो ।
बर्सेनि सप्तकोसी नदीमा आउने बाढीले सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, पश्चिमकुसाहा, हरिपुर गाविसमा सयौं बिघा जमिन कटान गरी बस्तीमा समेत क्षति पुर्याएपछि भारतले डेढ महिनाअघि तटबन्ध निर्माणको काम थालेको थियो
बराहक्षेत्र गाविसकी तारादेवी श्रेष्ठ र रवि राईले आफ्नो नम्बरी जग्गामा तटबन्ध निर्माण गरेको भन्दै पुनरावेदन अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र ठेकेदार कम्पनीलाई विपक्षी बनाई हालेको रिटमा पुनरावेदन अदालतका न्यायाधीश कुमारप्रसाद पोखरेलको इजलासले तत्काल सप्तकोसी तटबन्धको काम बन्द गर्न अन्तरिम आदेश दिएको हो ।
अदालतको आदेशपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरी परिचालन गरी ठेकेदार खगेन्द्र दाहाललाई काम रोक्न निर्देशन दिएको हो । अहिले तटबन्ध निर्माणको काम बन्द गरिएको दाहालले बताए ।
श्रेष्ठ र राईले निजी जग्गामा लगाइएका बोटबिरुवामा समेत क्षति पुग्नेगरी तटबन्ध निर्माणको काम भइरहेको भन्दै रिट हालेका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले पुनरावेदन अदालतको आदेशसहितको पत्र कार्यान्वयनका लागि जिल्ला प्रशासनमा आएपछि तटबन्ध निर्माणको काम बन्द गरिएको बताए ।
उनले भने, ‘सम्मानित अदालतको आदेश सबैले पालना गर्नुपर्छ ।'
स्थानीय बासिन्दाले भने तटबन्ध निर्माण रोकिएकोप्रति आपत्ति जनाएका छन् । बराहक्षेत्रका युवराज श्रेष्ठले सप्तकोसी नदीमा तटबन्ध बनेपछि कोसी आसपासका बस्ती र खेतीयोग्य जग्गा सुरक्षित हुने भएकाले तटबन्ध निर्माण रोक्न आदेश जारी भएपछि स्थानीय बासिन्दा निराश भएको बताए ।
सप्तकोसी नदीले २०२० सालदेखि हजारौं बासिन्दाका घरजग्गा बगाएको छ ।
सप्तकोसीमा आउने बाढीका कारण सुनसरीका एक दर्जन गाविस र भारतको बिहार राज्यका दर्जनौं गाउँलाई समेत असर गर्ने गरेका कारण भारत सरकारले सप्तकोसी नदीमा तटबन्धको काम सुरु गरेको थियो ।
पुनरावेदन अदालतका निमित्त रजिस्टार वसन्त घिमिरेले निजी जग्गामा लगाइएका बोटबिरुवा मासेर सप्तकोसीमा तटबन्ध निर्माण गरिएको भन्दै श्रेष्ठ र राईले रिट हालेपछि तत्कालका लागि काम बन्द गर्न पुनरावेदनले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आदेश दिएको बताए । उनले तटबन्ध निर्माणका विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, ठेकेदार र रिट हाल्ने श्रेष्ठ र राईलाई छलफलका लागि बोलाइएको जानकारी पनि दिए ।
सप्तकोसीमा आएको बाढीले २०६४ भदौ ५ गते पश्चिमकुसाहा गाविसको पूर्वी तटबन्ध भत्काएर सुनसरीका हरिपुर, श्रीपुर, लौकही र पश्चिमकुसाहा गाविसको हजारौं बिघा जमिन कटान गरी १० हजारभन्दा बढी परिवारलाई घरवारविहीन बनाएको थियो ।
भारतले पीडितलाई राहत दिएन
नेपाल–भारतबीचको कोसी सम्झौताअनुसार सुनसरीको बराहक्षेत्र गाविसदेखि हरिपुर गाविसको कोसी ब्यारेजसम्मको पूर्वपश्चिम तटबन्ध भारत सरकारले निर्माण र मर्मत गर्ने सहमति थियो । त्यही सहमतिअनुसार सप्तकोसीमा भारतले बर्सेनि तटबन्ध निर्माण गर्दै आएको छ ।
कोसी सम्झौताअनुसार कोसी ब्यारेज बनेपछि सप्तकोसीले क्षति पुर्याएका पीडित परिवारलाई क्षति भएअनुसार राहत दिनुपर्ने भए पनि भारतले हालसम्म पीडितलाई कुनै प्रकारको राहत नदिएको कोसीपीडित संर्घष समितिका सचिव बाबुराम कार्कीले बताए ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा वर्षाको समयमा पानीको बहाब उच्च हुँदासमेत भारतले आफूअनुकूल मात्र ढोका खोल्ने गरेका कारण सुनसरीको खेतयोग्य जमिन कटान गर्नुका साथै मानव बस्तीमा क्षति पुर्याउँदै आएको छ ।


0 comments
Write Down Your Responses