एचआइभी सारेर श्रीमान वितेपनि दोश्रो विवाह गरे.

काठमाडौं, वैशाख २९ – 

श्रीमान ज्वरोले थलिएर ओछ्यानमा लम्पसार परेका थिए । त्यतिबेला श्रीमानलाई के भएको थियो भन्ने केही थाहा थिएन अछामकी सानु टमटालाई । श्रीमानले औषधि माग्दा ल्याइदिने भन्दा अरु काम उहाँको बुताभन्दा परको कुरा थियो । सानु भन्नुहुन्छ ‘मलाई ब्रोफिनका गोली ल्याइदे भन्नुहुन्थ्यो, म औषधी पसलमा गएर ल्याइदिन्थें ।’ प्रौढ शिक्षा पढ्दै गरेकी सानु एकदिन छाँगाबाट खसे जस्तै हुनुभयो । जुन दिन उहाँले एचआइभी एड्स र यसको लक्षणका बारेमा प्रौढ शिक्षामा पढ्न पाउनुभयो । उहाँले पढेको लक्षण घरमा सुतिरहेका श्रीमानसँग सबैजसो मिल्दाजुल्दा थिए ।
 घर फर्किएपछि त्यही दिन सानुले श्रीमानलाई रगत परीक्षण गर्न आग्रह गर्नुभयो । तर बदलामा श्रीमान्बाट कुटाई खानुपर्‍यो । ‘अरुका श्रीमतीले भएको रोग समेत छुपाउँछन् तँ चाहिँ नभएको रोग पनि छ भनेर शंका गर्ने भन्दै मलाई कुट्नुहुन्थ्यो’ त्योबेलाको दिन सम्झिँदै सानु टमाटाले भन्नुभयो । श्रीमानको कुटाई खाएपनि उहाँले रगत जाँच गर्न आग्रह गर्न छाड्नु भएन 
। प्रौढ शिक्षामा एचआइभी सम्बन्धी पढेपछि त श्रीमानलाई एचआइभी नै भएको हो भन्ने लागिसकेको थियो सानुलाई । दिनहरु बित्दै गए । श्रीमान् थलिएको लामो समय भइसकेको थियो । जे गर्दा पनि रगत जाँच गर्न नमानेपछि कि दुवैको रगत परीक्षण गरौं होइन भने छाडेर गइदिन्छु भनेपछि मात्र उनका श्रीमान रगत परीक्षण गर्न सहमत हुनुभयो । 
अछाम घर भए पनि सानु टमाटाको परिवार भारतमा बस्दै आएका थिए । त्यसैले पनि रगत जाँच गराउन सजिलो थियो । उहाँका ससुरा र सानुकै प्रयासमा रगत जाँच गराउँदा सानुको श्रीमानमा एचआइभी एडस् भएको पत्ता लाग्यो । अन्तिम अवस्थामा श्रीमान्को आयु ६ महिनामात्र तोकेपछि त्यही दिन सानुले एड्स भएका श्रीमानलाई छोडेर भाग्नुभयो । 
‘कागजमा ६ महिनाको ग्यारेन्टी आएको थियो त्यसै रीसमा मैले छोडिदिएँ । पछि थाहा भयो मैले छाडेको सात महिनापछि उसको मृत्यु भएछ ।’ श्रीमानलाई छाडेपछिका दिन श्रीमान्लाई छोडेर भागेकी सानु टमाटाको भेट अछामकै भक्ते कामीसँग भयो । कामको खोजीमा आएका भक्तेलाई भारतको मथुरामा भेटेपछि बिस्तारै चिनजान बाक्लिन थाल्यो ।
 भक्ते पहिलो श्रीमानको समेत नातेदार पर्थे । भक्तेलाई सानु टमटाले आफ्नो जीवनको सबै बेलिबिस्तार सुनाएपछि भक्तेको मनमा माया जागेर आयो र उहाँले सानुको जीवनलाई साथ दिने बाचा कस्नुभयो । ‘पहिलो श्रीमानलाई एचआइभी भएपछि म पागल जस्तै भएको थिएँ । जिल्ला एउटै भएपछि मैले मेरो मन भित्रको व्यथा पोखाउने व्यक्ति भेटाएँ जस्तो लाग्यो र सबै कुरा गरें । मैले त्यो श्रीमान्को अस्पतालको कागज समेत देखाएँ, त्यसपछि यिनलाई (अहिलेको श्रीमान) पनि माया पलाएछ क्यारे, ल तिमीलाई म मर्न दिन्न म मरेर पनि तिमीलाई बचाउँछु भन्यो, खै मेरो दिमाग पनि के भएछ ? म पनि यिनैसँग पछि लागें’ भक्तेसँगै बसेकी सानु टमटाले भन्नुभयो । 
त्यसपछि के भयो ? भक्ते कामीसँग विवाह गरेपछि पनि तीन वर्ष भारतमै रह्यो सानु टमटाको परिवार । अछाम र भारतमा उनीहरुको आउजाउ भइरहन्थ्यो । सानु गर्भवती भएको आठ महिना भएको थियो, त्यत्तिबेला केही लक्षण देखिन थाल्यो, पछि जाँच गर्दा पत्ता लाग्यो सानुमा पनि एचआइभीको संक्रमण । एचआइभी भएपछि सानुले जिल्ला जनस्वास्थ्य कार्यालय अछामको डाक्टरको निगरानीमा दुई सन्तान जन्माई सक्नुभएको छ । 
डाक्टरको निगरानीमा जन्मिएकाले सानुका दुवै बालक स्वस्थ छन् । भक्तेलाई पनि अहिलेसम्म संक्रमण देखिएको छैन । एचआइभी संक्रमण भएपछि जन्मिएका दुई जना छोरा, पहिलो श्रीमान पट्टिका छोरी र सासु गरी ६ जनाको परिवार छ सानुको । 
‘बुबा आमाले धनीका छोरालाई बिहे गराईदिने हुँदा मेरो यो हालत भयो, बरु आफ्नै राजीले अरु सँगै बिहे गरेको भए यस्तो अवस्था आउने थिएन, सानैमा बिहे गर्नुपरेकोमा मलाई साह्रै पछुतो लाग्छ’ १४ बर्षकै उमेरमा बिहे गरेकी सानु टमटा भन्नुहुन्छ ‘पहिलो श्रीमानलाई छाडेर हिँड्दा म १६ वर्षकी थिएँ ।’ भक्तेको वाचा ‘तिमीलाई म मर्न दिन्न, म मरेर पनि बचाउँछु’ भक्तेको यही वचनका कारण बिहे गर्नुभएको थियो सानुले । भक्तेले जे भनेर बिहे गर्नुभएको थियो अहिले सम्म वचन पूरा गर्नुभएको छ । 
सानु भन्नुहुन्छ ‘मलाई जे भनेर ल्याएको थियो अहिलेसम्म हेलाँहोचो केही गरेको छैन, म एचआइभी हुँदा पनि मलाई एक दिन गाली पनि गर्नुभएन ।’ भक्ते पनि आफूले श्रीमतीको उपचारमा लाग्दा आफूलाई समेत बिर्सेको बताउनुहुन्छ ।
 ‘उनको के गल्ती थियो र ? गल्ती त पहिलो श्रीमानको थियो, मैले अहिलेसम्म वचन पनि लगाएको छैन, बरु यिनलाई बचाउन विभिन्न संघसंस्था धाएँ, अहिलेसम्म बचाएकै छु ’ भक्ते भन्नुहुन्छ । भक्ते घर नजिकैको पशुपति उच्च माध्यमिक विद्यालयमा परिचर हुनुहुन्छ । गाउँमै रोजगारी मिलेपछि भक्तेले भारत धाउन पनि छाड्नु भएको छ ।
 श्रीमानको माया र स्वस्थ सन्तानको साथ अनि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी एआरटीको नियमित सेवनले सानुलाई लामो समय बाँच्ने आँट थपिएको छ । ‘मलाई त आयु पूरा गरेरै मरुँला भन्ने छ’ सानुले आत्मविश्वासका साथ भन्नुभयो ।

0 comments

Write Down Your Responses