जो सत्र वर्षको उमेरमै प्रिन्सिपल बनिन्..
वैशाख २९
ग्लोबल स्कुल स्थापनाको कथा
अरूका जागिर खानुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने मेरो सोच बन्यो । मैले गर्न लागेको काममा मामाघर र मेरी आमाको सहयोग पाइनँ । उहाँहरूले रोक्दा पनि रोकेनन् । पुँजी थिएन । ६ महिना काम गरेको तलब मैले खर्च नगरी राखेकी थिएँ । त्यही लगानी लगाएर मैले स्कुल खोल्ने योजना बनाएँ ।
त्यतिखेर म १७ वर्षकी मात्र थिएँ ।
पद्मकन्या क्याम्पसमा म बीए अध्ययन गर्दै गरेकी विद्यार्थी । सुरुमा स्कुलको नाम के राख्ने भन्ने थाहा थिएन । अंग्रेजी वर्णको ‘जी’ मेरो नाम र स्कुलको नाम एकै अक्षरबाट जुरेको नाम छानेँ– ‘ग्लोबल प्रि प्राइमरी स्कुल’ । रमेश भट्टराई मेरा साथी थिए । उमेर र अनुभवमा मभन्दा माथि । उनको सहयोगमा स्कुल खोल्ने परिबन्द मिलाएँ । कागजपत्रका सबै काम उनले मिलाइदिए । जम्माजम्मी चौबीस हजार रुपियाँ चाहिने भयो । जोहो गरेको पैसाले पुगेन ।
मसँग भएका सुन–चाँदीका गहना मैले बेचिदिएँ ।
चाडबाडमा अग्रजले टीका लगाइदिएर दिएको पैसा पनि मैले पोको पोरर राखेकी थिएँ । त्यतिबेला काम आयो । त्यतिखेर एकसेट डेस्क–बेन्चको एक सय १५ रुपियाँ पथ्र्याे । आफ्नै डिजाइनमा ती फर्निचर बनाएकी थिएँ । फर्निचर सम्झिँदा हिजोआज पनि मलाई हाँसो लाग्छ ।
अशोक सिनेमा हलको पछाडि थापाहिटी भन्ने ठाउँमा ग्लोबल स्कुल खोलियो । त्यतिखेरका चर्चित गायक मधु क्षेत्री मेरा साथी थिए ।
उहाँको सहयोगमा रेडियो नेपालमा मेरो स्कुलको विज्ञापन बजाइयो । महिनौँ दिनसम्म विज्ञापन बज्यो– पाँच सय रुपियाँमा । सबै म एक्लैले मिलाउनुपथ्र्याे । स्कुलको विज्ञापन गर्नुपर्यो । स्कुलका विज्ञापनका पोस्टर टाँस्न पनि म आफँै दौडिन्थेँ । भातको माड पकाएर गम बनाउँदै पाटनका गल्लीगल्लीमा म स्कुलका पोस्टर टाँस्न हिँड्थेँ । ०३६ फागुन १ गतेदेखि स्कुल सञ्चालनमा आयो । प्राथमिक तहसम्म पढाइने स्कुल थियो । सुरुमा ९५ विद्यार्थी भर्ना भए ।
चारजना शिक्षक । घरभाडा मासिक चार सय भाडा तिर्नुपथ्र्याे ।
१७ वर्षमै प्रिन्सिपल
कलिलो उमेर । सपना ठूलो । १७ वर्षको उमेरमा स्कुलको प्रिन्सिपल बनेँ । सहकर्मी आफूभन्दा निकै पाका हुन्थे । आफूलाई परिपक्व देखाउन म बूढीआमाहरूले लगाउने साडी लगाउँथेँ । मेकअप पनि त्यस्तै । ठूलो चस्मा । अग्लो हिलले ठूली देखिन्थेँ । तैपनि विद्यार्थीका अविभावक बच्च भर्ना गर्न आउँदा मतिर नभई परिपक्व शिक्षकतर्फ लम्किन्थे । म नेवारी परिवारकी छोरी ।
परिवारले हामीलाई कहिल्यै पनि नेवारी भाषा सिकाएनन् । नेपाली नै हाम्रो बोलीचालीको भाषा थियो । उतिबेला पाटनका मानिस नेपाली बुझ्दैनथे । त्यो समय विद्यार्थीका अविभावकसँग बोलचाल गर्ने भाषा नमिलेर म त हैरान । नेवारी भाषा पनि सिकियो । त्यतिखेर महिलाहरू सार्वजनिक ठाउँमा हिँड्दा केटाहरू जिस्काउँथे ।
म स्कुल आउँदा–जाँदा केटाहरू पछि–पछि लाग्थे । कोहि त स्कुलको गेटसम्मै पुग्थे । स्कुलका प्रशासनिक काम मिलाउन जिल्ला प्रशासन कार्यालय पुग्थेँ । कम उमेरकी महिलाले ठूला कामका कागज लिएर जाँदा विश्वास नै गर्दैनथे ।
अल्मलाउँथे । त्यस्ता समस्या सुल्झाउन कहिलेकाहीँ त परिपक्व तर ज्ञान कम भएका मान्छे लिएर जान्थेँ । प्रशासनिक कुरा सजिला थिएनन् । आइडियाका लागि मैले सेन्ट जेभियर्स स्कुलका तत्कालीन प्रिन्सिपल फादर ब्राउनीसँग सहयोग लिन्थेँ । उनले सहयोग र ढाडस दिरहन्थे । तालिमका लागि म विश्वका विभन्न देश गइरहन्थेँ ।
त्यसका लागि आर्थिक पाटो आफैँ जुटाउनुपथ्र्याे । जोहो गरेका रकम नयाँ काम सिक्ने तालिममै सिध्याउँथेँ । बाँकी पैसा आमालाई दिन्थेँ ।
आफैँलाई बिर्सेर काम
बिहे गरेको तीन महिनामै श्रीमान् बिदेसिए । घरमा एउटी बूढी सासू थिइन् । अति नै पुरातन । उनको जति सेवा गरे पनि चित्त बुझाउन कठिन थियो । फेरि म घरकी जेठी बुहारी सबै जिम्मेवारी मेरै थाप्लोमा थियो । घरका सबै धन्दा सकेर स्कुल जानुपथ्र्याे । स्कुलबाट आएर फेरि उही घरधन्दा ।
एकैछिन पनि ढुक्कको सास फेर्न पाइँदैनथ्यो ।
म राम्ररी नेवारी भाषा बुझ्दिनथेँ । सासू नेपाली फिटिक्कै नबुझ्ने । त्यस्तो अवस्थामा घरव्यवहार मिलाउने कुरा चुनौतीपुर्ण थियो । सासू अलि दुःख दिनेखालकी थिइन् । हाम्रो घरमा ज्येष्ठ नागरिकले नखाई हामीले खान मिल्दैनथ्यो । उनलाई खाना खुवाएर घरधन्दा भ्याएर समयमै स्कुल पुग्न मलाई निकै समस्या हुन्थ्यो । यस्ता कुराले मानसिक तनाब दिन्थे । बुहारीलाई दुःख दिने नियतले मेरी सासूआमाले घरमा काम गर्ने मान्छे पनि राख्न दिँदैनथिन् । दुःख पाउँथे, ठक्कर खान्थेँ । तर, मैले कहिल्यै हार मानिनँ ।
नेवारी परम्परा न हो– चाडबाड, जात्रा, भोज भइरहन्थे । म एक्लैले सबै सम्हाल्नुपर्ने । घरकी बुहारी, अभिभावक, श्रीमती सबै भूमिका निर्वाह गर्नुपथ्र्यो । घर र स्कुलका समस्यामा गाँजिएर सबै सुल्झाउँदा सुल्झाउँदै कहिलेकाँही त आफैँलाई बिर्सन्थेँ ।
geeta (1)
०४६ मा प्याब्सन स्थापना भयो । संस्थाको सदस्य भएर काम गर्ने अवसर पाएँ । थप जिम्मेवारीले मेरो दिनचर्या झनै व्यस्त हुन थाल्यो । त्यतिखेर काखमा दुई महिनाको छोरा थियो ।
बच्चालाई घरको जिम्मामा छाडेर म काममा लाग्थेँ । दोस्रो बच्चा पेटमै हुँदाको कुरा हो । डाक्टरले बच्चा जन्मिने डेट दिए पनि म काममा हिँड्थेँ । बच्चा जन्मेपछि पनि महिना दिन पनि आराम नगरी म काममा लाग्थेँ । केही नगरी म बस्नै सक्दिनथेँ । घर फर्कंदाँ कहिले त रातको १० पनि बजिसकेको हुन्थ्यो । सफलताको खुड्किलो जति चढे उति चढ्न मन लाग्ने रहेछ ।
प्याब्सनको गोप्य बैठकका लागि आधारातसम्म म घरबाहिर हुन्थेँ ।
उता बच्चा दूध खान नपाए भोको, यता मेरो दुध चर्किन्थ्यो । धारा बग्थे । म थिचेरै बस्थेँ । ०५७ मा म प्याब्सन अध्यक्षमा निर्वाचित भएँ । काममा व्यस्तता झनै बढेर गयो । आधारातसम्म म घर नफर्कंदा श्रीमान्ले फोन गरेर भन्थेँ, ‘आधा रातसम्म बाहिर बस्ने श्रीमती घर नआए पनि हुन्छ ।’
लक्ष्य पहिचान गर्न सक्ने मान्छेका लागि सफलता टाढाको कुरा होइन भन्ने मलाई लाग्छ ।
हामी महिला हुँदैमा खुम्चिएर बस्नु, आफूलाई कमजोर ठान्नु आफैँमाथि अन्याय गर्नु हो । हो, सपना देख्ने, लक्ष्य बनाउने मान्छेका जीवनमा समस्या र अवरोध आउँछन् । ती अवरोध नै हाम्रा असली शिक्षक हुन् । सिक्न जान्नुपर्छ । अघि बढ्न जान्नुपर्छ । जीवनमा अवरोध छ समस्या छ र त जीवन सुन्दर र सार्थक छ । मैले जीवनबाट सिकेको पाठ यही नै हो ।



0 comments
Write Down Your Responses