सिटिइभिटीले भूकम्प प्रभावित पाँच सय छात्रछात्रालाई पढाउने

काठमाडौं, वैशाख २९ - 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ । पत्रकार सम्मलेनमार्फत परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५०० जना छात्रछात्राका लागि आगामी जेठ २ गतेबाट निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । 
 सिटिइभिटीका प्रवक्ता एवम् सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशङ्कर घिमिरेले चालु आवको बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम भूकम्प प्रभावित मध्येबाट छनोट भएका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली, र ओखलढुङ्गाका भूकम्प प्रभावित ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका परिवारबाट छनोट भएका छात्रछात्राले निःशुल्क प्राविधिक शिक्षा लिन पाउने भएका हुन् ।
 निःशुल्क पढ्न पाउने छात्राले निर्वाह भत्ताबापत् प्रतिमहिना तीन हजार ५ सय, बर्सेनि यातायात खर्च एक हजार ५ सय, पोसाक खर्च दुई हजार ५ सय रुपैयाँ पाउनुका साथै निःशुल्क अध्ययन एवम् छात्रावासको पनि सुविधा प्राप्त गर्नेछन् । परिषद्का सदस्य सचिव रामहरि लामिछानेले ६५ करोड रुपैयाँ बराबरको रकम विपन्नलाई छात्रवृत्तिका लागि खर्च हुने जानकारी दिनुभयो । वार्षिक एक अर्ब दुई करोड रुपैयाँको छात्रवृत्ति ८८ छात्रछात्राका लागि खर्च हुनेछु उहाँले भन्नुभयो । 
शारीरिक अपाङ्गता भएका बहिरा व्यक्तिका लागि पनि प्राविधिक शिक्षामा समावेश गर्ने हेतुले धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय वागलुङ्लाई परिषद्को आङ्गिक शिक्षालयको रुपमा सञ्चालन गरी स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कार्यक्रम समेत आव २०७३र७४ बाट सुरु गर्न लागिएको लामिछानेले बताउनुभयो । 
 परिषद्बाट सम्बन्धन लिन प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्ट्रले जुनसुकै बेला प्रस्ताव पेस गर्न पाउने निर्णय खारेज गरेको परिषद्ले जनाएको छ । अब यस्ता प्रस्ताव पेस गर्न परिषद्ले विज्ञापन गरेपछि मात्र पाइने छ ।

0 comments

Write Down Your Responses