सुराकी भन्दै नर्दोष युवक पिटिए

२०७३ जेष्ठ ४ 
संघीय गठबन्धनको घेराउ काठमाडौं: अर्घाखाँचीका रामप्रसाद पौडेल र प्रकाश अधिकारी सोमबार दिउँसो चर्को गर्मीमा साथीका लागि होस्टेल खोज्दै अनामनगरबाट माइतीघरतर्फ जाँदै थिए । भनेजस्तो होस्टेल नपाएपछि निरास बनेर डेरामा फर्किन लागेका उनीहरू एक्कासि संघीय गठबन्धनका आन्दोलनकारीको निशानामा परेका छन् । 
 आन्दोलनकारीको आक्रमणबाट रामप्रसादको दाहिने आँखामा गम्भीर चोट लागेको छ । आँखाको शल्यक्रिया गर्न उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‌याइएको छ । प्रकाशको अनुहारका ठाउँठाउँमा चोट लाग्नुका साथै सुन्निएको छ । 
आन्दोलनकारीले ‘तिमीहरू प्रहरीको सुराकी बनेर आएका होइनौ ? ' भन्दै सडकमै पल्टाएर उनीहरूलाई कुटपिट गरेका हुन् । शंकरदेव क्याम्पसमा एमए अध्ययन गरिरेहका रामप्रसाद र त्रिचन्द्र कलेजमा अध्ययन गरिरहेका प्रकाश न राजनीतिक दलका कार्यकर्ता हुन्, न त कुनै विद्यार्थी संगठनमा आबद्ध छन् । ‘पहिले साथीलाई झम्टिए । हामीले बोल्न नपाउँदै लौरोले जथाभाबी कुटे । उनलाई बचाउन जाँदा प्रहरीको सुराकी भन्दै सडकमा पल्टाएर कुटे ।
 एउटै कोठामा बस्ने साथीलाई त्यसरी कुटेको देखेपछि मैले सहन सकिनँ', आकस्मिक उपचारपछि सुरक्षाका लागि सिंहदरबार प्रहरी वृत्तमा राखिएका रामप्रसादले भने, ‘मेरो आँखामा चोट लागेपछि रगत बग्न थाल्यो । त्यहीं लडें, उठ्नै सकिनँ । साथीलाई घेरेर कुटिरहेका थिए । 
एकैछिनमा प्रहरी आएर हामीलाई उठाए अनि अस्पताल लगे ।' उनले आफूहरू आन्दोलन हेर्न पनि नगएको बताए । उनले भने, ‘न हामी कुनै दलको कार्यकर्ता नै थियौं । राजनीतिबारे खासै थाहा छैन । साथीका लागि होस्टेल खोज्न छोटो होला भनेर त्यही बाटो भएर अनामनगर जाँदै थियौं । जताततै घेरिएर बसेका रहेछन् । यस्तो अवस्था होला भन्ने थाहा पाएको भए त त्यो बाटो नै जाने थिएनौं ।'
 अनुहार सुन्निएर बोल्नसमेत गाह्रो भइरहेका प्रकाशले भने कुनै गल्ती नहुँदा पनि आफूहरूलाई मार्ने उद्देश्यले कुटपिट गरेको गुनासो गरे । ‘सबैले अन्धाधुन्ध कुटिरहेका थिए । बचाउन कोही पनि आएन । दुई मिनेट प्रहरी आउन ढिला भएको भए मैले संसार देख्न पाउने थिइनँ', प्रकाशले भने, ‘यो देशमा घरबाट निस्केपछि कोठामा पुगिन्छ कि पुगिँदैन भन्ने अब कुनै भर भएन ।'
 आन्दोलनकारीले सकुन्जेल कुटिरहेका दुई विद्यार्थीलाई प्रहरीले उठाएर नजिकैको अन्नपूर्ण न्युरो अस्पताल पुर्‌याएको थियो । थप उपचारका लागि त्रिपुरेश्वर अस्पताल पुर्‌याएर उनीहरूलाई शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
 ‘हामी विद्यार्थीलाई बिहानबेलुका छाक टार्न पनि गाह्रो छ काठमाडौंमा । उपचार खर्चसमेत तिर्नसक्ने अवस्था छैन', रामप्रसादले भने, ‘घरमा भन्यो भने उल्टै पिर गर्नुहुन्छ बुबाआमाले ।' उनीहरूलाई भेट्न पुगेका सूर्य पाण्डेले आफ्ना निर्दोष साथीहरूलाई जथाभाबी कुटेर घाइते बनाइँदा मुलुकमा लोकतन्त्र नभएको जस्तो अनुभव भइरहेको बताए । 
‘आफ्नो अधिकारका लागि लाग्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्छ । यो देशमा बसेर हामीजस्ताको कुनै फाइदा छैन', उनले भने, ‘मेरा साथीहरूको ज्यान तलमाथि भएको भए के हुन्थ्यो ? '

0 comments

Write Down Your Responses