हतियार लुकाएर भारतीय प्रहरीलाई छाडियो


भारतीय दूतावासका प्रथम सचिव धनगढीमा धनगढीः भारतको पञ्जाब राज्यबाट अपराधी खोज्न भन्दै एके ४७ बोकेर डोटी पुगेका पाँच भारतीय प्रहरीलाई सोमबार छोडिएको छ ।
 पाँचैजना प्रहरीलाई नेपालका लागि भारतीय राजदूतावासका प्रथम सचिव एन कनान र भारतको पञ्जाब पुलिसका डिएसपी घुरमित सिंहको जिम्मा लगाइएको सुदूरपश्चिम क्षेत्रका डीआईजी विजयराज भट्टले जानकारी दिए । भारतको पञ्जाव राज्यको सङरुर जिल्लाको अहमदगढ थानाअन्तर्गत बस्ने डाक्टर रमेशकुमार पुरीको १२ अप्रिल अथवा चैत ३० गते भएको हत्यामा ६ नेपाली संलग्न भएको भन्दै उनीहरुको खोजीमा भारतीय प्रहरी नेपाल छिरेका थिए ।
 नेपाल छिर्नेहरुमा पञ्जाव पुलीसका निरीक्षक रोशनलाल, सई शशी कपुर, असई जसपाल सिंह र वरिष्ठ हवल्दारद्वय शुवास चन्द र जर्नेल सिंह अछाम र डोटीको सीमानामा रहेको चौखुट्टेबाट आइतबार विहान पक्राउ परेका थिए । डाक्टर पुरीको हत्यामा अछामको सिउडीका दुई नेपाली संलग्न रहेको भन्दै अछामकै रामबहादुर साउदलाई घर देखाउन भन्दै पक्रेर पञ्जब पुलिस शनिबार त्यसतर्फ गएको डीआईजी भट्टले बताए । 
प्रत्यक्षदर्शीहरुले उनीहरुको साथमा थान एके–४७ राइफल र त्यसमा लाग्ने गोली २५ थान, पेस्तोल र त्यसको गोली १२ थान रहेको बताएपनि डिआईजी भट्टले हतियार बारे केही बताउन चाहेनन् । एकजना प्रहरी अधिकृतले भने उनीहरुसँग हतियार रहेको बताएका छन् । ‘उनीहरुसँग हतियार थियो, उनीहरु अन्जानमा हतियारसहित नेपाल प्रवेश गरेका थिए, तर हतियार छ भनेर प्रमाणित भए उनीहरुमाथि ठूलो कारवाही हुने भएकाले पनि प्रहरीले हतियार बारे नबोलेको हुनसक्छ’ एकजना प्रत्यक्षदर्शीले भने ।
 नेपाल प्रहरीलाई हतियारबारे केही नबोल्न भारतीय दूतवासले भनेपछि नेपाल प्रहरीले पनि हतियार बारे नबोलेको स्रोतले जनाएको छ । हतियारसहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेको खबरपछि, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव सोमबारको बुद्ध एयरको विमानबाट आकस्मिकरुपमा सोमबार धनगढी आएका थिए ।
 पाँचै भारतीय प्रहरीले चौखुट्टे प्रहरीलाई अपराधी पक्रिन सहयोग माग गरेपछि, त्यसबारे जिल्ला प्रहरी हुँदै क्षेत्रीय प्रहरी प्रमुख सम्म खबर पुगेको थियो । ‘आइतबार विहान साढे ४ बजे चौखुट्टे पुगेका भारतीय प्रहरीले आफुहरु सिउडीका दुई नेपालीलाई पक्रिन आएको र सहयोग गर्न चौखुट्टे प्रहरी पोष्टका असईलाई भनेपछि उनीहरु पक्राउ परेका हुन्’ डिआईजी भट्टले भने । उनीहरुलाई आइतबार राति नै धनगढी ल्याइएको थियो । पाँचैजनालाई सोमबार मुचुल्का गरेर गौरीफन्टा सीमा पारी पुर्याइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सीमा कटाउन नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्ट गएका थिए भने डोटीबाट पनि उनीहरुलाई एसपीको कमाण्डमा स्कटिङ गरेर धनगढी ल्याइएको थियो । नेपाल प्रहरीको हतियारसहितको टोलीले स्र्कटिङ गरेर ल्याएकाले पनि उनीहरुसँग हतियार रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । शनिबार अपरान्ह उनीहरु कञ्चनपुरको सीमाक्षेत्र गड्डाचौकीबाट नेपाल प्रवेश गरेका थिए । गड्डाचौकीमा सादा पोशाकमा रहेका उनीहरुले नेपाल प्रहरीलाई आफुहरु नेपाल घुम्न आएको र भारतीय गाडीका लागि नेपालमा चाहिने कागजातबारे सोधपुछ गरेका प्रहरीले जनाएको छ । 

 नेपाल प्रहरीले नेपालमा चाहिने कागजातका बारेमा बताएपछि उनीहरुले महाकाली अञ्चल यातायात कार्यालयबाट भारतीय नम्बरको निजी गाडीको नेपालभरको अस्थायी रुट पर्मिट बनाएर अछामतिर लागेका पनि प्रहरीले जनाएको छ ।
 भारतीय प्रहरीले पक्राउ गरी ल्याएका नेपालीलाई भने नेपाल प्रहरीले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ । नियममा, नेपालीलाई नेपालबाट पक्राउ गरेर भारतलाई सुपुर्दगी गर्ने प्रावधान नरहेकाले, किटानी गरिएका ६ नेपाली पक्राउ परेपछि पनि भारतलाई नबुझाइने नेपाल प्रहरीले जनाएको छ । यो पनि पढ्नुस् एके–४७ सहित पाँच भारतीय प्रहरी डोटीमा पक्राउ

0 comments

Write Down Your Responses