भक्तपुरको पहिचान बिस्केट जात्रा
भक्तपुर: आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शनिबारदेखि सुरु हुँदै छ । चैत मसान्तको चार दिनअघि भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरु गर्ने चलन छ ।
लामो र मोटो डोरीले रथलाई तानेर टौमढीबाट करिब दुई सय मिटर दक्षिण गःहिटी पुर्याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । बिस्केट जात्राको लागि आवश्यक तीनतले भैरवनाथको रथ तयार भइसकेको छ ।
गुठी संस्थान भक्तपुरले बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले शनिबार बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजालगायत सम्पन्न गरेपछि दिउँसो रथ तान्ने कार्यतालिका बनाइएको जानकारी दिए ।
भैरव मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा चलिरहँदा रथको अघिपछि मोटो र लामो डोरी बाँध्ने कार्य हुने भएकोले यस वर्ष निर्धारित समयभन्दा पहिल्यै रथ तातिने उनले बताए ।
डोरी बाँधिसकेपछि रथको अघिल्तिर रहेको बेतसिँमा बेताल बाँधिन्छ । बेताल बाँधिसकेपछि बाजागाजाका साथमा भैरवको मूर्तिलाई रथमा विराजमान गराइने चलन छ । रथमा भैरव विराजमान गराइएपछि भैरव नाइकेको होस्टेको जवाफमा भक्तजनले हैंस्से भन्दै रथ तान्छन् ।
बिस्केट जात्राको क्रममा हुन सक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष बढी सुरक्षाकर्मी परिचालन गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्ष भूकम्पले चर्काएका संरचनाबीच जात्रा सञ्चालन हुने भएकाले सुरक्षाकर्मी बढी परिचालन गर्ने तयारी गरिएको हो ।
जात्राको सुरक्षासँगै भौतिक संरचना भत्केर हुन सक्ने दुर्घटनालाई लक्षित गरी छुट्टै सुरक्षाकर्मी परिचालन हुने भक्तपुरकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक किरण वज्राचार्यले बताइन् ।
उनका अनुसार झैझगडा हुने सम्भावित क्षेत्रमा एक दर्जन सीसी टीभी क्यामेरासमेत जडान गरिएको छ ।
प्रहरी प्रशासनले बिस्केट जात्रालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण र दुर्घटनारहित बनाउन रथ गुड्ने भक्तपुर नगर क्षेत्रमा शुक्रबार रातिदेखि नै मदिरालगायत मादक पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइसकेको छ ।
जात्रा मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै शुक्रबार जात्रास्थल टौमढीमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको छ ।
गुठी संस्थान भक्तपुरको संयोजनमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर कला–संस्कृतिसँगै शिक्षा क्षेत्रमा धेरै अघि बढिसकेकाले सधैं जात्रामा झैझगडा हुन्छ भन्ने कुरालाई दोहो¥याइरहन नहुनेमा जोड दिए । यस वर्ष भूकम्प र आर्थिक नाकाबन्दीको प्रभावका कारण पनि जात्रा शान्तिपूर्ण र मर्यादित हुने उनले विश्वास व्यक्त गरे ।
भक्तपुर नगरपालिकाका पूर्वप्रमुख एवं सांसद प्रेम सुवालले बिस्केट जात्रा भक्तपुरकै गौरव र पहिचान भएकाले यसलाई शान्तिपूर्ण र मर्यादित मनाउन सबै लागिपर्नुपर्ने धारणा राखे ।
त्यस्तै जिल्लामा क्रियाशील राजनीतिक पार्टीका स्थानीय नेताहरुले जात्रा विशुद्ध सांस्कृतिक रूपले शान्तिपूर्ण र मर्यादित भएर मनाउन आह्वान गरे ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी प्रमुख किरण वज्राचार्य, सशस्त्र प्रहरी बल गुह्येश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापालगायतले जात्रा शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन प्रहरी प्रशासन सहायकमात्रै हुने धारणा राखे ।
कार्यक्रमपछि सशस्त्र प्रहरी बलको अर्केस्ट्रा समूहले सांगीतिक प्रस्तुति गरेको थियो ।
समूहले विभिन्न चलेका तथा सदाबहार गीतसंगीत प्रस्तुत गर्दा टौमढीमा भेला भएका सर्वसाधारणमात्रै होइन भक्तपुर घुम्न आएका विदेशीहरूसमेत नाचगानमा सहभागी भएका थिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयको संयोजनमा शनिबार बिहान बिस्केट शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै बिस्केट जात्रा सद्भाव र्याली निकाल्ने भएको छ ।

0 comments
Write Down Your Responses