एसएलसीको ग्रेडिङमा विषयगत र प्रयोगात्मकलाई छुट्टै अंक

काठमाडौं: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्दा विषयगत रूपमा विद्यार्थीलाई अभ्यासमूलक र सैद्धान्तिक खण्डलाई छुट्टाछुट्टै अंक दिने भएको छ। यसअघि सैद्धान्तिक र विषयगत दुवै खण्डको प्राप्तांक जोडेर एकीकृत रूपमा ग्रेड दिने निर्णय गरिएको थियो। एकीकृत रूपमा ग्रेड दिँदा सैद्धान्तिक खण्डमा कमजोर विद्यार्थीलाई प्रयोगात्मक खण्डमा आएको नतिजाले उच्च ग्रेड ल्याउन सहयोग पुर्याउने र यसरी उच्च ग्रेड पाए पनि विद्यार्थी पढाइमा भने कमजोर हुने सरोकारवालाको गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालयले छुट्टाछुट्टै अंक दिन लागेको हो। 
 विगतका वर्षमा एसएलसीमा अंग्रेजी, गणित, विज्ञानलगायतका विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । प्रयोगात्मक खण्डमा उच्च अंक ल्याए पनि सैद्धान्तिक खण्डमा अनुत्तीर्ण हुने विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुने व्यवस्था थियो। ७५ पूर्णांकको सैद्धान्तिक खण्डमा ल्याएको अंक र २५ पूर्णांकको प्रयोगात्मक खण्डमा ल्याएको अंकलाई एक सय पूर्णांक मानेर जोड्दा विद्यार्थीले समग्रमा उत्तीर्ण हुन आवश्यकभन्दा धेरै अंक ल्याउने गरेको भए पनि सैद्धान्तिक खण्डमा अनुत्तीर्ण भएका कारण समग्र परीक्षामा अनुत्तीर्ण हुने व्यवस्था थियो। ‘अबदेखि ग्रेडिङमा नतिजा प्रकाशन गर्दा सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको अंक मार्कसिटमा उल्लेख गर्छौं’, परीक्षा नियन्त्रक कृष्ण काप्रीले भने ।
 गत वर्ष परीक्षणका रूपमा सार्वजनिक गरिएको ग्रेडिङमा नतिजालाई यस वर्षदेखि पूर्ण रूपमा ग्रेडिङमा सार्वजनिक गर्न लागिएको हो। ग्रेडिङमा नतिजा प्रकाशन गर्दा विद्यार्थीको प्राप्तांकअनुसार ९० देखि एक सयसम्म ल्याउनेलाई आउट स्ट्यान्डिङ अर्थात् ए प्लस, ८० देखि ८९ सम्मलाइ ए अर्थात् एक्सिलेन्ट, ७० देखि ७९ सम्मलाई बी प्लस अर्थात् भेरी गुड दिइनेछ। ६० देखि ६९ सम्मलाई बी अर्थात् गुड, ५० देखि ५९ सम्मलाई सी प्लस अर्थात् एबोभ एभरेज, ४० देखि ४९ सम्मलाई सी अर्थात् एभरेज, ३० देखि ३९ अंकसम्म ल्याउने विद्यार्थीलाइ डी प्लस, २० देखि २९ सम्म ल्याउने विद्यार्थीलाइ डी तथा ० देखि १९ सम्म नम्बर ल्याउने विद्यार्थीलाई ई दिइनेछ।

0 comments

Write Down Your Responses