१ लिटर पानीको ३ रुपैयाँ

वैशाख ९, २०७३- लामो खडेरीले मूल सुक्दै गएपछि ग्रामीण क्षेत्रमा खानेपानी समस्या विकराल बन्दै गएको छ । भूकम्प र खडेरीले मूल सुक्दा गाउँले प्रतिलिटर ३ रुपैयाँमा खानेपानी खरिद गर्न बाध्य भएका छन् । खानेपानी अभावले दौंघाका बासिन्दा पोखरीको फोहोर पानी खान थालेका छन् । सक्नेले झन्डै ३ किलोमिटर तल १ हजार लिटरको २ हजार १ सय रुपैयाँमा गौरीखुट्टाबाट ट्याक्टरमा बोकेर खाने गरेका छन् । वर्षौंदेखि दौंघाको खानेपानी समस्या समाधान हुन सकेको छैन ।
 कक्षा ८ मा पढ्ने दौंघा ८ की भावना थापा दुई महिनादेखि बिहान ४ बजे उठेर ३ घण्टा पैदल दूरीको धारापानीको मुहानबाट पानी बोक्थिन् । ‘अहिले त्यही मुहान पनि सुक्यो’, उनले भनिन्, ‘अब त पोखरीकै फोहोर पानी खाने हो ।’ मानिसलाई नै खानेपानी अभाव भएपछि गाउँलेले गाईबस्तुलाई समेत पानी खुवाउन नियन्त्रण गर्न थालेका छन् ।
 खानेपानी समस्याकै कारण चैतदेखि जेठसम्म दौंघाका नेपाल राष्ट्रिय मावि, काउले प्रावि, आलम प्रावि र कालिका प्राविमा विद्यार्थी उपस्थिति न्यून भएको छ । अध्यापन पनि प्रभावित भएको छ । नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक लोकनाथ ज्ञवालीले भने, ‘खानेपानी अभावले सबैथोक प्रभावित भएको छ ।’ विद्यार्थी मात्र नभई खानेपानी समस्याकै कारण शिक्षकसमेत समयमै विद्यालयमा उपस्थित हुन कठिन हुने गरेको शिक्षक बालकुमार अर्यालले बताए । दौंघाबाट बसाइसराइ गर्ने पनि बढेका छन् ।
 दौंघा गाविसका पूर्वसचिव जुद्ध पछाईंका अनुसार ७ सय घरधुरीमध्ये ५ सय परिवारका २ हजार ८ सय उपभोक्ता खानेपानीको समस्यामा छन् । ‘गाउँको खानेपानी समस्या धेरै वर्षदेखिकै हो’, उनले भने, ‘यसकै कारण बर्सेनि १५ देखि २० घरपरिवार अन्यत्र बसाइँ जान्छन् ।’ सर्नेहरू गए पनि अन्यत्र जान नसक्नेहरू समस्यामा परेको उनले बताए ।
 दौंघाका ३, ५, ७, ८ र ९ वडामा पानीको चरम अभाव छ । सामान्य कुवा र पोखरीसमेत नहुँदा गाउँले खानेपानीका लागि घण्टौं टाढा पुग्न र पालो कुर्न बाध्य छन् । ‘खानेपानी पाउनकै लागि दिनमा ६ घण्टासम्म पालो कुर्नुपर्छ’, दौंघा ७ की कल्पना नेपालीले भनिन्, ‘गाउँमा कुवा र पोखरीसमेत नहुँदा समस्या भयो ।’ त्यस्तै ४, ५ र ६ वडामा पोखरी र मुहान भए पनि सुकेपछि अहिले गाईबस्तुलाई समेत पानी अभाव भएको छ । समस्या समाधानका लागि जीडब्लूएस पोखराले ड्रिलिङ प्रविधिबाट निकालेको पानी १ र २ वडामा वितरण गरिएको छ । तर अहिले त्यसको समेत मुहान सुकेपछि समस्या बढेको छ । 
गाउँलेले झन्डै १० वर्षअघि फिनिडा परियोजनाको सहयोगमा निर्माण गरेका २ हजार लिटर क्षमताका १ सय ५० र १ हजार लिटरका ७ सय वटा आकासे पानी संकलनका घैंटा निर्माण गरेका थिए । गत वर्ष वर्षा कम हुँदा घैंटामा समेत यस वर्ष पानी छिटो सकिएको ज्ञवालीले बताए । वामीबजार र आसपासका मुहान सुकेपछि सिंगो वामीबजार पनि खानेपानी समस्यामा छ ।

0 comments

Write Down Your Responses