यातायात व्यवसायीबीच कुटाकुट

वैशाख ७, २०७३- नयाँ उज्यालो यातायात व्यवसायी संघले रुट इजाजत लिएर बस सञ्चालनको तयारी गर्न लागेको बेला पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी समितिले अवरोध गरेको छ । यातायात व्यवसायीबीच सोमबार झडप हुँदा ७ घाइते भएका छन् । आगामी ९ गतेदेखि पोखरा–काँकडभिट्टा रुटमा बस सञ्चालनको तयारी गरेको बेला पृथ्वी समितिका व्यक्तिहरू आएर बस तोडफोड गर्न खोजेको र रोक्ने क्रममा उल्टै हातपात गरेको उज्यालोले जनाएको छ । पृथ्वी समितिका व्यक्तिको कुटपिटबाट दुई जना घाइते भएको उज्यालो यातायात व्यसायी संघका केन्द्रीय महासचिव केवलराम राईले बताए ।
 ‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने अधिकारमाथि सिन्डिकेट पक्षधरले धावा बोलेको छ,’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धालाई कुण्ठित गर्ने कामको भत्र्सना गर्छौं ।’ उनले स्थानीय प्रशासनले वास्ता नगर्दा यातायात क्षेत्रमा सिन्डिकेट मौलाइरहेको बताए । पृथ्वी समितिका अध्यक्ष एनकुमार साईले आफूहरूसँग कुनै समन्वय नगरी बस चलाउन खोजेकाले ज्ञापनपत्र बुझाउन जाने क्रममा घरको छतबाट प्रहार गरिएको ढुंगाले लागेर आफ्ना तर्फका पाँच जना घाइते भएको बताए । ‘केही ‘डन’ को सहारामा जबरजस्ती गाडी चलाएर अहिलेका संरचना भत्काउन पाइँदैन,’ उनले भने । दुवै समिति तर्फकाले चुल्ठेमुन्द्रेको व्यापक परिचालन गरेका थिए । 
स्थानीय प्रशासन र प्रहरीले यसलाई गम्भीरतासाथ लिएको र अनुसन्धान गरिने जनाएका छन् । झडपमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा अभिमन्यु तामाङ, पूर्णबहादुर शाही र कमल बराल छन् । उनीहरू सबै उज्यालो समिति समर्थक हुन् । घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारबाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । दुवै समितिको कार्यालयमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses