पोखराका गुरुङको शव जापानको जंगलमा भेटियो
२०७३ जेष्ठ ३ सोमबार
जापान: कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी-६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ।
मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेको हो।
ढिलो गरी प्राप्त समाचारअनुसार तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो।
प्रहरीका अनुसार गुरुङको घाँटीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो। डिएनए र परीक्षण रिर्पोटबाट आत्महत्या गरेको पुष्टि पछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ।
गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन। दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालैमात्र जापान आएकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए।
छोरा र छोरी पोखरा घरमै रहेको बताइएको छ।
तमुधी जापानका पूर्वअध्यक्ष भीम गुरुङले मृतक गुरुङको शव मे २२ तारिक आइतबार बिहान ११ बजे जापानकै स्थानीय खासिवाको फुनेरल टान्सपोटेसन शव गृहमा अन्त्येष्टि गरिने जानकारी दिएका छन्।


0 comments
Write Down Your Responses