माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ३ आन्दोलनकारी घाइते

३ जेठ, काठमाडौं । 
संघीय गठवन्धनले गरेको सिंहदरबार धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीतर्फ तीन जनालाई चोट लागेको त्यहाँ रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेलले जानकारी दिएका छन् ।
 घाइते भएकोमा अमर धिमाल, सोनाम राई र सन्तोष नाम गरेका व्यक्ति छन् ।
Maitighar-Jhadap तर, संघीय समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले भने प्रहरीले लाठीचार्ज गर्दा आफ्ना दर्जनौं नेता-कार्यकर्ता घाइते भएको दाबी गरेका छन् ।
 शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण आक्रमण गरेको यादवले आरोप लगाए । उनका अनुसार युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बु, संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदुर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादव पनि घाइते भएका छन् । 
 गठवन्धनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै विरोध गरेको छ । Police प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण केहिबेर माइतीघर क्षेत्र तनावग्रस्त भएको थियो । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको छ । माइतीघरमा करिब पाँच सयको संख्यामा आन्दोलनकारी उपस्थित छन् भने त्योभन्दा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएका छन् । 
यतिबेला आन्दोलनकारीहरुले सरकारविरूद्ध नाराबाजी गरिरहेका छन् ।

0 comments

Write Down Your Responses