पेट्रोलियम पदार्थको खानी उत्खनन् गर्न चीनियाँ टोली दैलेखतर्फ

| २०७३ बैशाख २४ शुक्रबार
 काठमाडौँः पेट्रोलियम पदार्थको खानी उत्खनन्का लागि चिनियाँ टोली उद्योगमन्त्री सोमप्रसाद पाण्डेका साथ दैलेख हिडेको छ । नेपाल सरकार र चिनियाँ सरकार बीच भएको सम्झौता अनुसार काम शुरुगर्न चिनियाँ टोली नेपाल आएको थियो । 
सोही टोलीलाई लिएर मन्त्री पाण्डे खानी उत्खननका लागि दैलेख गएका हुन् । उद्योग मन्त्रालयको प्रविबद्धता अनुसार लामो समयदेखी थाती रहेको नेपालका पेट्रोलियमको भण्डारण पत्ता लगाई उत्खनन् गर्ने कामको सुरुवात दैलेखबाट सुरुहुने भएको छ ।
 उद्योगमन्त्रालयको पहलमा चीन सरकारसँगको सम्झौता अनुसार नेपालमा रहेका खानीमा रहेको भण्डारण क्षमता पत्ता लगाउने र सम्भव भएमा उत्खनन्मा समेत सहयोग गर्ने कार्ययोजना छ । चीनियाँ टोली सम्झौता भएको एक महिनामै नेपाल आएको हो । 
टोलीमा चीन सरकारको तर्फबाट वरिष्ठ जियोलोजिष्ट ज्याङ्ग दाक्युन लगायत ६ वैज्ञानीक सहभागी छन् । विज्ञ टोलीले जिपियस जियोलोजिष्ट सिस्टमबाट अध्ययन गरि भण्डारण पत्ता लगाउने खानी विभागका पेट्रोलियम अन्वेषण शाखा प्रमुख सहसचिव सुधीर रजौरियाले जानकारी दिए ।
 टोलीले दैलेख लगायत चुरे पहाड रेन्जका पाल्पा, चतरा लगायतका स्थानमा २५ दिनसम्म अध्ययन गर्नेछ । टोलीले अध्ययन पछि परिणाम अनुसार उत्खनन् गर्ने वा नगर्ने निर्णय गर्ने खानी विभागले जानकारी दिएको छ । नेपालमा रहेका खानीको उत्खनन् भए मुलुक आत्मनिभरता तर्फ उन्मुख हुने विश्वास गरिएको छ ।

0 comments

Write Down Your Responses