ओली नेतृत्वको सरकार ढाल्न भोट हाल्छौ: मोर्चा
२०७३ बैशाख २३ काठमाडौं:
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओली मधेसी र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिएको छ। कांग्रेसले मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै बुधबार अपराह्न आयोजना गरेको बैठकमा मोर्चाका नेताले यस्तो आश्वासन दिएका हुन्।
संसद्भवनमा भएको बैठकमा मोर्चाका नेताले आफ्ना ११ बुँदे मागबारे एकदुई दिनभित्रै आधिकारिक धारणा पठाउन कांग्रेसका नेतालाई आग्रह गरेका थिए। कांग्रेसको आधिकारिक धारणा आएपछि ओली सरकारविरुद्ध अन्य महत्वपूर्ण विषयमा मोर्चाको बैठक बसी निर्णय लिने पनि मोर्चाका नेताले बताएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा नयाँ सरकारमा सहभागी भई आफ्ना माग पूरा गराउन मोर्चाका नेतालाई आग्रह गरेका थिए।
जबाफमा मोर्चाका नेताले आफ्ना ११ बुँदे माग सम्बोधन गर्न आग्रह गरे।संविधानसभा बहिष्कार गर्दै आएको मधेसी मोर्चाले गत असोज २४ गते प्रधानमन्त्रीको निर्वाचन हुँदा प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाका पक्षमा मतदान गरेका थिए। फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, 'ओली सरकार ढाल्न कांग्रेस सभापतिले जेजे भन्छन्, हामी त्योत्यो गर्न तयार छौं।' संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि ओली सरकार मधेस र मधेसीविरुद्ध रहेको आरोप लगाउँदै सरकार गिराउन आफूहरूको मत रहने बताए।
'सत्तामा जाने-नजाने अहिलेको एजेन्डा होइन, मधेसीविरुद्ध ओलीले बर्साएको गोलीको जबाफ ओली सरकार ढाल्नु हो,' उनले भने। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरूले ११ बुँदे माग पूरा गर्न कांग्रेसलाई आग्रह गरेको जानकारी दिए। उनले ओली सरकार ढाल्न हरप्रकारले सहयोग गर्न तयार रहेको बताए।कांग्रेस नेता महेश आचार्यले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भइसकेकाले नयाँ सरकार बनाउन सबैको चासो देखिएको बताए। दलहरूबीच नयाँ सरकार गठन, कार्ययोजनालगायतका विषयमा छलफल सुरु भएको जानकारी पनि उनले दिए।
कांग्रेस नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार गिराउन मात्र नभएर शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन, भूकम्पपीडितलाई राहत दिन र मुलुकमा राज्यको अनुभूति गराउन पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनु आवश्यक रहेको बताए। तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार गठनका विषयमा कांग्रेसले आफूहरूसँग छलफल गरेको जानकारी दिए। उनले भने, 'समग्र विषयमा छलफल भए पनि ठोस सहमतिका लागि मोर्चाका ११ बुँदामा कांग्रेसको आधिकारिक धारणा अपरिहार्य छ।'
आफूहरू सरकारमा जाने भन्दा पनि मधेसका मुद्दामा छलफल भएको उनले बताए। सद्भावनाका महासचिव मनीषकुमार सुमनले ओली सरकारलाई जसले पदमुक्त गर्छ, त्यसलाई निःशुल्क सहयोग र समर्थन गर्ने बताए। बैठकमा कांग्रेस सभापति देउवा, नेता विमलेन्द्र निधि, डा. शेखर कोइराला, महेश आचार्य, चीनकाजी श्रेष्ठ, गोपालमान श्रेष्ठ तथा मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादवलगायत थिए।


0 comments
Write Down Your Responses