प्रहरीलाई ५० लाख घुस दिनखोजेपछि.

२०७३ बैशाख २१ मंगलवार काठमाडौँ: 

प्रहरीलाई घूस खुवाउन खोज्ने लागुऔषध एम्फेटामाइनको कारोबारी पूर्णबहादुर पाख्रिन तामाङ ५० लाखसहित पक्राउ परेका छन् । धादिङ सत्यदेवी स्थायी ठेगाना भई काठमाडौँ र नुवाकोटको विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका उनलाई बूढानीलकण्ठ नगरपालिकास्थित नीलोपुलबाट लागुऔषध नियन्त्रण ब्यूरोले वैशाख १७ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 
 आज आयोजित पत्रकारसम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले नेपालमा एम्फेटामाइनको मुख्य कारोबारी तामाङ रहेको जानकारी दिए । पक्राउ परेका तामाङ थाइल्यान्डमा बसी अस्ट्रेलिया, फिलिपिन्स, म्यानमारलगायत पूर्वी एसियाली मुलुकमा अवैध लागुऔषध एम्फेटामाइन कारोबार बिस्तार गर्ने धर्मबहादुर तामाङको सहोदर भाइ हुन् ।
 गत चैत ३० गते बच्चाको खेलौना, सुटकेसको डन्डी, क्रिमको डब्वामा लुकाई छिपाई राखिएको अवस्थामा नेत्र गुरुङ र चित्र तामाङमार्फत थाइल्यान्डबाट ल्याएको ३०२ ग्राम एम्फेटामाइन ब्यूरोले पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा सो लागुऔषध तामाङले मगाएको खुलेको थियो । उनीहरु पक्राउ परेपछि ब्यूरोले आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै एक व्यक्तिमार्फत ब्यूरोका प्रहरी अधिकारीसँग कुुरा मिलाउन५० लाख खर्च गर्ने भन्दै सन्देश पठाएका थिए । 
उनै व्यक्तिका माध्यमबाट प्रहरीले तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको आर्थिक कारोबार र लागुऔषध एम्फेटामाइन मुद्दाको सम्बन्धमा सम्बन्धित देशका लागुऔषध कानुन कार्यान्वयन निकायसँग समेत आवश्यक समन्वय तथा सहकार्य गरी थप अनुसन्धानको भइरहेको ब्यूरोले जनाएको छ । रासस

0 comments

Write Down Your Responses