मोटरसाइकल एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु

जेष्ठ ५, २०७३- 
पूर्व-पश्चिम राजमार्गको लहानस्थित भोटिया टोलमा मंगलबार राति भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । गोलबजारका बिबेक सिंह महतो, सोही ठाउँका रामअशिष पासमान, लहान-८ का नुजा सदाय र सप्तरीको गम्हरीया-३ का लक्ष्मण रामको मृत्यु भएको हो । घाइते भएका बल्कबाका सर्बेस गोसाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । 
 राति ९:१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स३प १६० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आएको स३प ९२०८ को मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको उनले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को स२प ६७ नम्बरको मोटरसाइकल पनि नियन्त्रण गर्न नसकेर सोही दुर्घटनाग्रस्त मोटरसाइकलमा ठोक्किएको थियो । 
 चारै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । स३प १६० नम्बरको वाइबिआर मोटरसाइकलमा बिबेक सिंह र सर्बेस गोसाइ, स३प ९२०८ नम्बरको पल्सर मोटरसाइकलमा रामअशिष पासमान र स२प ६७ नम्बरको डिस्कोभरी मोटरसाइकलमा लक्ष्मण राम र नुजा सदाय सवार रहेको प्रहरी नायब उपरीक्षक केसीले बताए

0 comments

Write Down Your Responses