'दस हजार मेगावाट बिजुली निकाल्ने भनेर ओलीले भ्रम छरे : देउवा

२०७३ जेष्ठ ३ सोमबार
प्रजातन्त्रमाथि खतराका सङ्केत काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको २२ औँ स्थापना दिवस तथा 'किसुनजी विशेषः चिन्तन' प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने, 'दलका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको छ ।
 संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा कांग्रेस लाग्नेछ ।' बिजुलीको अभावमा जीवन गुजार्न बाध्य जनतालाई दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिदिने भ्रम फैलाएर सरकारले झुटो आश्वासन बाँडेको आरोप सभापति देउवाको थियो । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बौद्धिक समुदायले कुनै पनि विषयको वैज्ञानिक विश्लेषणका आधारमा समर्थन वा विरोध गर्नुपर्ने बताए ।
 'सरकारले राजदूत फिर्ता गर्नु सामान्य प्रक्रिया भए पनि जुन विषयलाई आधार बनाएर भारतका लागि नेपाली राजदूतलाई फिर्ता गरिएको छ', उनले भने, 'यसले छिमेकीसँगको सम्बन्धमा असर पर्नसक्छ।' नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको परिवर्तन बाहेक केही ठोस काम हुन नसकेको बताए । 
 'मधेसको समस्या अब काठमाडौँ छिरेको छ, यसको समाधान सबै दल मिलेर मात्र हुनसक्छ', उनले भने, 'मधेसका समस्या बुझ्न एसोसिएसनले तराईमा मिसन पठाउँदैछ, यसले सत्यतथ्य बुझी समस्या समाधानका लागि सरकारलाई सहयोग हुने विश्वास छ ।' न्यायपरिषद्मा पाँचजना सदस्य भएपछि मात्र न्यायाधीश नियुक्त हुनुपर्छ भन्ने एसोसिएसनको विचार रहेको अध्यक्ष केसीले बताए । न्यायपालिका स्वतन्त्र रहन नसके प्रजातन्त्र बच्न नसक्ने उनको भनाइ थियो ।
 समाजका अध्यक्ष डा केदारनरसिंह केसीले मानवअधिकारको संरक्षण र विधिको शासन स्थापनामा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातान्त्रिक संस्कृति र संस्कार जोगाउन समाज लागिपर्ने बताए ।
 समाजका पूर्व अध्यक्ष वसन्त गौतमले बौद्धिक जगत्ले प्रशंसा र चाकडी छुट्याउन सके प्रजातन्त्र संरक्षणका लागि योगदान पुग्ने बताए । विसं २०५२ जेठ ३ गते समाजको स्थापना भएको हो । रासस

0 comments

Write Down Your Responses