सूर्यमाथि हिँड्दैछ आज बुध ग्रह

‘खगोल क्षेत्रको यो विरल घटना नांगो आँखाले हेर्नु हुँदैन 

सोमबार, बैशाख २७, २०७३

 आज सोमबार घाम अस्ताउने बेला सूर्यलाई नियालेर हेर्ने हो भने त्यसमा एउटा प्वाल परेजस्तो देखिनेछ। काठमाडौंमा अपराह्न ४:५५ देखि सूर्यास्त हुने बेला अर्थात् ६:४२ सम्म यस्तो रोमाञ्चकारी दृश्य देखिने खगोलशास्त्रीहरूले बताएका छन्। सूर्यमै प्वाल परेजस्तो देखिने यस्तो विरल घटना के हो त? 
 वाल्मिकी क्याम्पसका वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार जब बुध ग्रह (मर्करी) आफ्नो बाटोमा हिँड्दै गर्दा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ, तब यस्तो दृश्य देखिन्छ।
 यसलाई खगोलशास्त्रमा ‘सूर्यबुध गमन’ (मर्करी ट्रान्जिट) भनिन्छ। सौर्य मण्डलमा सूर्यको सबभन्दा नजिकको ग्रह बुध हो। खगोल क्षेत्रको यस्तो रोमान्चकारी घटना एक शताब्दीमा जम्मा १३ वा १४ चोटि हुन्छ। खासगरी मे र नोभेम्बरमा हुने खगोलशास्त्री बताउँछन्।

 एउटा मे महिनामा यस्तो घटना भए, अर्कोचोटि १३ वा ३३ वर्षपछि हुन्छ। नोभेम्बरमा हुँदा अर्कोचोटि दोहोरिन ७, १३ वा ३३ वर्ष लाग्नेछ। अब यस्तो सूर्यबुध गमन १२ वर्षपछि मात्र देख्न पाइने आचार्यले बताए। फ्रेन्च खगोलशास्त्री पियरे ग्यासेन्डीले पहिलोचोटि यो घटना पत्ता लगाएका हुन्। उनले टेलिस्कोप आविष्कार भएको दुई दशकपछि सन् १६३१ मा पहिलोचोटि सूर्यबुध गमनको दृश्य देखेका थिए। 
 खासमा जर्मन खगोलशास्त्री जोहानस केप्लरले बुध ग्रहले सूर्यको चक्कर काट्दा प्रयोग गर्ने बाटोको सही प्रक्षेपण गर्दै त्यसै आधारमा सूर्यबुध गमन हुने तिथि पत्ता लगाएका थिए। तर, त्यस्तो घटना हुनुअगावै १६३० मा उनको निधन भयो।
 यसअघिको पछिल्लो सूर्यबुध गमन १० वर्षअघि सन् २००६ नोभेम्बर ६ मा भएको थियो। यो घटना नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तानदेखि पूर्वी यूरोप तथा अफ्रिकाका धेरैजसो मुलुकबाट सूर्यास्त हुनुभन्दा केही घन्टाअघि देख्न सकिनेछ।
 बेलायत तथा उत्तर अमेरिकाबाट त अझ स्पष्ट देखिनेछ। उत्तर अमेरिकामा सूर्योदयलगत्तै देखिने यो दृश्य लगभग सात घन्टा रहने खगोलशास्त्रीहरूले बताएका छन्। पृथ्वी, बुध लगायत सबै ग्रहले आ–आफ्नो बाटोबाट सूर्यको चक्कर लगाइरहेका हुन्छन्।
 यही क्रममा सूर्य, पृथ्वी र बुध एउटै समानान्तर रेखामा आइपुग्दा यस्तो दृश्य देखिन्छ। बुध ग्रह सूर्य र पृथ्वीको बीचमा आउँदा त्यो सूर्यमै हिँडिरहेजस्तो लाग्नेछ। यो बेला सूर्यजत्रो देखिन्छ त्यो भन्दा १५८ गुना सानो कालो टीका सूर्यमा हिँडेको देखिनेछ।
 त्यो कालो टीका नै बुध ग्रह हो। सूर्यबुध गमनको यो दृश्य नांगो आँखाले भने हेर्नु हुँदैन। विशेष किसिमको फिल्टर प्रयोग गर्नुपर्छ। नांगो आखाले हेरे सदाको लागि आँखा बिग्रने खतरा भएको आचार्यले बताए। 

‘विशेषज्ञको निगरानीमा टेलिस्कोपबाट वा सूर्यलाई परावर्तन गरी छायाँमा हेर्दा आँखा सुरक्षित हुन्छ,’ उनले भने, ‘सूर्य हेर्न भनेर बनाइएको विशेष किसिमको चस्मा प्रयोग गरेर पनि यो दृश्य देख्न सकिन्छ।’ एक्सरे वा सिसामा ध्वाँसो लगाएर वा अन्य कुनै किसिमबाट पनि हेर्न नहुने उनले बताए। उनका अनुसार असावधानीपूर्वक हेर्दा कहिलेकाहीँ थाहै नहुने गरी आँखा खराब भइदिन्छ।

0 comments

Write Down Your Responses