मेलम्चीको पानी: सपना कि विपना ?
२०७३ बैशाख ३० बिहीवार
काठमाडौँ उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले करिब २५ वर्षदेखि चर्चा हुँदै आएको मेलम्ची खानेपानी आयोजनाका बारेमा सञ्चारमाध्यममा निरन्तर लेख रचना एवं समाचार प्रकाशित हुँदै आएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘भिजन' का रूपमा आएको यो आयोजना आम नेपालीका लागि एउटा कहिल्यै पूरा नहुने सपनाजस्तो भएको छ भने धेरैका लागि यो एउटा हावादारी गफजस्तो पनि ।
मेलम्ची नेपालको यस्तो एउटा आयोजना हो, जसका बारेमा नेपालभित्र र बाहिरका प्रत्येक नेपाली जानकार छन् तर नकारात्मक रूपमा । उनीहरूले यसलाई सरकारको झूटो आश्वासन र असम्भव कुराका रूपमा मात्र लिएका छन् । यसका बारेमा हरेक दिन काठमाडौँका घरघरमा कुरा चलेकै हुन्छ, जुन ख्यालठट्टा वा नकारात्मक प्रसंगमा आउने गर्छ ।
एउटा सामान्य नागरिक मात्र होइन, राजनेता, पत्रकार, बुद्धिजीवी र सरकारका केही निकायका कर्मचारीलाई पनि मेलम्ची आयोजनाले मूर्तरूप लिन्छ भन्नेमा विश्वास नभएजस्तो देखिन्छ । आयोजनाका बारेमा कहीँकतै कसैले सकारात्मक कुरा गर्दा त्यसलाई पत्याउने मानिस कमै छन् । आयोजनाका बारेमा कतिसम्म नकारात्मक सोच बनिसकेको छ भने कुनै पनि काम नबन्ने भयो या समयमा नसकिने भयो भने ‘मेलम्ची जस्तो' भन्ने गरिन्छ ।
यसरी हेर्दा मेलम्ची आयोजना ढिलासुस्ती र अकर्मण्यताको पर्यायवाचीका रूपमा नेपाली समाजमा स्थापित भएजस्तो लाग्छ । के मेलम्ची कहिल्यै पूरा नहुने काम हो ? के यसको परिकल्पना नै गलत हो ? के सरकारले जनतालाई ढाँटेकै हो ? के यसको कार्यान्वयनमा जनताले बाधा पारेकै हुन् ?
काठमाडौँ खानेपानीको अवस्थाः विगत र वर्तमान
अहिले राजधानी रहेको काठमाडौँ उपत्यका परापूर्वकालदेखि नै एउटा समृद्ध बस्ती रहेको पाइन्छ । इतिहासका विभिन्न कालखण्डमा विभिन्न क्षेत्रबाट आएका मानिसले शासन गरेका र बस्ती विस्तार गरेको देखिन्छ । धेरैलाई लाग्न सक्छ– २००७ सालपछि देशभरिका मानिस काठमाडौँमा थुप्रिएपछि यहाँ पानीको हाहाकार हुन थालेको हो ।
उपत्यकामा पानीको इतिहास पढ्दा विभिन्न कालखण्डमा यहाँ पानीको हाहाकार भएको, खडेरी परेको र यहाँका वासिन्दा अनिकालको चपेटामा परेको वर्णन गरेको पाइन्छ ।
विगत कुरा गर्ने हो भने सातौँ शताब्दीमा लिच्छवी राजा नरेन्द्रदेवको पालामा धेरै वर्ष पानी नपरेर जनजीवन कष्टकर भएपछि सबैको सल्लाहअनुसार तत्कालीन राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य, सहयोगी रथचक्र ज्यापू र कर्कोटक नाग कामरूप कामाक्षा (हालको भारतको आसाम राज्य) पुगेर विभिन्न तान्त्रिक विधि प्रयोग गरी राक्षस राजाका छोराका रूपमा जन्मिएका मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि पानी परेको र लामो खडेरीबाट जनता मुक्त भएको वर्णन पाइन्छ ।
सहकालका देवताका रूपमा ललितपुर सहरमा रातो मच्छिन्द्रको रथयात्रा हरेक वर्ष वर्षा सुरु हुनुअघि गर्ने प्रचलन अद्यावधिक छँदैछ । किंवदन्तीअनुसार मच्छिन्द्रनाथले जम्मा १४०० वर्षमात्र नेपालमा बस्ने कबुल गरेकाले अब १५० वर्ष मात्र समय बाँकी रहेको देखिन्छ ।


0 comments
Write Down Your Responses