बाजुरामा रगत अभाव, सुत्केरी छट्पटाउँदै, डाक्टर हारगुहार गर्दै

वैशाख २७, २०७३- 
मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई चिकित्सक आफैले रगत दिएर बचाएको साता दिन नबित्दै सोमबार बाजुरा अस्पतालमा त्यस्तै अर्को समस्या आइपरेको छ । सुत्केरी भएको ६ दिनसम्म लगातार भएको रक्तश्रावले सिकिस्त भएपछि आटीचौर–८, नाइना गाउँकी ३० वर्षीया दीर्घदेवी चँदारालाई परिवारले आइतवार राती जिल्ला अस्पताल मार्तडी पुर्‍याए । 
अस्पताल पुग्दा श्वास मात्रै बाँकी रहेकी उनको हेमोग्लोबिनको मात्रा एक दशमलव पाँच मात्रै रहेको रिपोर्ट हेरेपछि उपचारमा संलग्न डा. राजन न्यौपाने अत्तालिंदै रगतका लागि भौतारिन थाले । ‘रगत नपाए सुत्केरीलाई बचाउन सक्ने उपाय नै थिएन ।
 रगतका लागि रातभर भौतारिएँ । तर केही उपाय लागेन,’ डा. न्यौपानेले भने । बिरामीका आफन्त, अस्पतालमा रहेका अन्य बिरामीका कुरुवाहरुलाई रक्तदानका लागि रातभर हारगुहार गरे । तर कोही पनि रगत दिन तयार भएनन् ।
 बिरामीलाई बचाउन नसक्ने भन्दै आफुले निरास भएर रात गुजारेको डा. न्यौपानेले बताए । सुत्केरीलाई ए पोजेटिभ रगत आवश्यक थियो । रक्तदान गर्दा शरीर कमजोर भईन्छ भन्ने भ्रम भएकाले बिरामीकै आफन्तहरु समेत रक्तदान गर्न चाहँदैनन् । 
बिरामीलाई बचाउन न्यूनतम १० पोका रगत आवश्यक थियो, तर डाक्टरले एक पोका रगत समेत जुटाउन सकेका थिएनन् । बाजुरामा ब्लड बैंक छैन् । रक्तदाता खोजेर प्रेस ब्लड बिरामीलाई ट्रान्सफर गर्नुको विकल्प बाजुरामा छैन । रातभरी रगतकै खोजीमा अनिदो बसेका डा. न्यौपानेले सोमबार बिहानैदेखि जिल्ला स्वास्थ्य कार्यालयकै कर्मचारीहरुलाई रक्तदानका लागि उत्प्रेरित गरे । 
तथ्यांक फाँटका मानबहादुर हमाल रगत दिन तयार भए । त्यत्तिले पुग्ने अवस्था थिएन । कम्तीमा नौ जना अरु रक्तदाता आवश्यकता थियो । सोमबार बिहानैदेखि थप रक्तदाता जुटाउन प्रयत्न जारी राखे । जिल्ला प्रहरी कार्यालयका प्रमुख दलबहादुर बोगटीलाई अनुरोध गरे । प्रहरीमा समेत जवानहरु नभेटिएपछि डीएसपी बोगटी आफै रगत दिन तयार भए ।
 उनी अस्पताल पुगेर सुत्केरीलाई रगत दिए । रगत थपिदै गएपछि बिरामीलाई बचाउन सक्न आशा पानि बढ्दै गयो । आकस्मिक प्रसुति केन्द्रमा कार्यरत डाक्टर राजन न्यौपाने जिल्ला अस्पतालका प्रमुख होइनन् । तर उनी अस्पतालमा आउने हरेक बिरामीको स्वास्थ्य उपचारमा निक्कै संवेदनशीलत भूमिका निर्वाह गरिरहेका देखिन्छन् । 
साता दिनअघि यस्तै अवस्थामा अस्पताल ल्याइएकी जगन्नाथकी २२ वर्षीया बसन्ती बिष्टलाई डा. न्यौपाने आफैले रगत दिएका थिए । आफैले शल्यक्रिया गरेर उनको गर्भमा रहेको मृत शिशु झिकेर आमालाई बचाएपछि उनले चौतर्फी प्रशंसा बटुलेका थिए । छैटौं दिन अस्पताल पुऱ्याइएकी निरक्षर दीर्घदेवीलाई उनका परिवारले घरमै प्रसुती गराएका थिए । 
‘पाँचौ दिनसम्म उनको रक्तश्राव रोकिएन र दिनदिनै बढ्दै गयो । अर्कोतिर साल समेत आएको थिएन,’ डा. न्यौपानेले भने, ‘बिरामी सिकिस्त हुँदै गएपछि आइतबार अपरान्ह्र घरदेखि दुई घण्टा टाढा रहेको आटीचौर स्वास्थ्य चौकीमा पुर्‍याएको रहेछ ।’ सुत्केरीका देवर जया चँदाराका अनुसार स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफुहरुले उपचार गर्न नसक्ने भन्दै जिल्ला रिफर गरेपछि आइतबार राती उनलाई सदरमुकामस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो ।
 सरकारले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना, चारपटक गर्भ जाँच र स्वास्थ्य संस्थामा प्रसूति गर्न गराउनका लागि वर्षेनी थुप्रै खर्च गर्दै आएको छ । तर दीर्घदेवी जस्ता ग्रामीण क्षेत्रका थुप्रै गर्भवतीहरु भने थाहै नपाई मृत्युको मुखमा धकेलिरहेका छन् । यसअघि दुई छोरी र एक छोरा जन्माई सकेकी दीर्घदेवीले सबै बच्चा परम्परागत रुपमा घरमै जन्माएकी थिइन् । साथै उनले हालसम्म गर्भ जाँच समेत नगराएको उनका श्रीमान रामबहादुर चँदाराले बताए ।
 रक्तसञ्चार केन्द्र नभएका कारण बाजुरामा रगतको अभाव सधै नै भई रहने गरेको छ । रक्तदाता तयार भएपछि सिधै बिरामीमा रगत दिने पद्धति आकस्मिक रक्तसञ्चार सेवा मात्रै जिल्ला अस्पतालमा संचालनमा छ । यसका लागि तत्काल रक्तदाता चाहिन्छ । तर, यहाँका स्थानीयमा रक्तदान गर्दा शरीर कमजोर भइन्छ भन्ने भ्रम भएकाले बिरामीकै आफन्तहरु समेत रक्तदान गर्न चाहँदैनन् ।
 संकटमा परेका बिरामीहरुलाई जोगाउन अधिकांश बेला सेना, प्रहरी र स्वास्थ्यकर्मीकै भर पर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
 ब्लड बैंक सञ्चालनको आधिकारिक अनुमति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मात्र छ । तर बाजुरामा भने हालसम्म रक्तसञ्चार केन्द्र स्थापना नभएकाले रगतको समस्या भई रहन्छ । रेडक्रस बाजुराका रमबहादुर शाही ब्लड बैंक स्थापना गर्न आफुहरु प्रयासरत रहेको बताउँछन् ।

0 comments

Write Down Your Responses