सेनाले ३ हेलिकप्टर ल्याउँदै



वैशाख २५, २०७३- 
नेपाली सेनाले विपद् व्यवस्थापनका लागि थप तीन हेलिकप्टर ल्याउन लागेको छ। मुलुकमा विपद् पर्दा सीमित हेलिकप्टर हुनु, भएका पनि बिग्रिएर मर्मत भइरहनु र अन्य २५ वर्ष पुरानो भई लिलामी गर्न लागिएका कारण थप हेलिकप्टर चाहिएको सेनाले जनाएको छ। २०७२ वैशाख १२ को भूकम्पपछि सेनाले उद्धार, राहत र व्यवस्थापन गर्न हेलिकप्टर मार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। ‘टेन्डर आह्वान भइसकेको छ, अब छिट्टै एउटा मिडियम (१५ सिटे) र दुई वटा सानो (५ सिटे) हेलिकप्टर आइपुग्नेछन्,’ सेनाका प्रवक्ता तथा सहायक रथी ताराबहादुर कार्कीले कान्तिपुरसँग भने। भूकम्पपछि नेपालमा खोजी तथा उद्धारका लागि भारत र अमेरिकाका हेलिकप्टरले सहयोग गरेका थिए।
 ‘उनीहरूको सहयोगका लागि हामी धन्यवाद दिन्छौं। तर हाम्रोजस्तो मुलुकमा विपद् व्यवस्थापनका लागि सधैं तयार रहनुपर्छ,’ कार्कीले भने, ‘यो विपद् व्यवस्थापन क्षमता अभिवृद्धि योजनाअनुसार हो।’ सेनाले ३ वर्षका लागि २० अर्ब ४० करोड ३१ लाख ९३ हजार ३ सय रुपैयाँको विपद् व्यवस्थापन बजेट प्रस्ताव गरेको छ। त्यसमध्ये हवाई साधन ल्याउन रक्षा मन्त्रालयले २ अर्ब ४३ करोड स्वीकृत गरिसकेको छ। विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने योजनाअनुसार सेनाले ३ वर्षभित्र ५० देखि ७० सिट क्षमता भएको एउटा जहाज र अति विशिष्ट व्यक्तिहरूको उडानका लागि एक हेलिकप्टर ल्याउने पनि योजना बनाएको छ।
 उक्त ७० सिटे जहाजमा अपरेसन कार्य, प्यारा जम्प तथा विपद् व्यवस्थापनमा हवाई ढुवानीको काम गर्ने सेनाले बताएको छ। राज्य व्यवस्था समितिको वैशाख १७ को बैठकले पनि सेनालाई प्राविधिक रूपमा दक्ष बनाउन आवश्यक हेलिकप्टर किन्न सांसदहरूले सुझाव दिएका थिए। बैठकमा उपस्थित उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सांसदहरूको सल्लाहअनुसार सेनालाई दक्ष बनाउँदै लाने प्रतिबद्धता जनाएका थिए। विपद् व्यवस्थापन बजेटमा सबैभन्दा बढी हवाईमा ७७ दशमलव १९ प्रतिशत छुट्याइएको छ। त्यसपछि यातायात, इन्जिनियरिङलगायतलाई प्राथमिकता दिइएको छ।
 ‘नेपालको भौगोलिक अवस्थाका कारण राहत तथा उद्धारका लागि हेलिकप्टरहरू महत्त्वपूर्ण हुन्छन्,’ प्रवक्ता कार्कीले भने। सेनाका ९ हेलिकप्टर र २ जहाज अहिले सञ्चालनमा छन्।

0 comments

Write Down Your Responses