बार्सिलोना स्पेनिस च्याम्पियन
जेष्ठ २, २०७३-
लुइस स्वारेजको ह्याट्रिकसँगै बार्सिलोनाले ग्रानाडालाई ३–० ले हराएर शनिबार स्पेनिस लिगको उपाधि लगातार दोस्रोपल्ट जितेको छ ।
प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडले डेपोर्टिभो लाकोरुनालाई २–० ले पराजित गरे पनि बार्सिलोनाबाट उपाधि खोस्न सकेन ।
सबै ३८ खेलको समाप्तिमा बार्सिलोनाले रियललाई १ अंकले पछाडि पार्दै पछिल्ला आठ सिजनमा छैटौंपल्ट ला लिगाको उपाधि जितेको हो । २४ औंपल्ट घरेलु लिग च्याम्पियन भएको बार्सिलोनाले ९१ अंक जोड्यो भने लगातार १२ औं खेल जितेको रियलको ९० अंक रह्यो ।
रियलभन्दा केही अघिसम्म बार्सिलोना १० अंकले अगाडि थियो ।
तर, अप्रिलमा क्याटलन क्लब बार्सिलोना लगातार ३ खेल हारेपछि स्पेनिस लिगको उपाधि होड अन्तिम दिन रोमाञ्चक स्थितिमा पुगेको थियो ।
लगातार १२ खेल जिते पनि रियलको यस सिजनमा अन्तिम उपाधि आशा च्याम्पियन्स लिगमा मात्र बाँकी छ ।
रियलले च्याम्पियन्स लिगको फाइनलमा अर्को स्पेनी टिम एट्लेटिको म्याड्रिडसँग खेल्नेछ ।
यो सिजनको लिगको अन्तिम खेलमा बार्सिलोनाका लागि तीनै गोल उरुग्वेका फरवार्ड स्वारेजले गरे । उनले २२, ३८ र ८६ औं मिनेटमा गोल गर्दै छैटौं ह्याट्रिक पूरा गरेका थिए ।
यससँगै उनले ४० गोलसहित ला लिगामा सर्वाधिक गोलकर्ताको पीचीची अवार्ड जितेका छन् ।
पछिल्ला ५ खेलमा १४ गोल गरेका उनी स्पेनी ला लिगामा एकै सिजन ४० गोल गर्ने लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि तेस्रो खेलाडी हुन् ।
मेसी र रोनाल्डोलाई उछिन्दै लिगको सर्वाधिक गोलकर्ता बन्ने उनी सन् २००९ यताकै पहिलो हुन् । उनले यो सिजन सबै प्रतियोगितामा गरी ५९ गोल गरेका छन् । यसमा उनले कोपा डेल रेको फाइनलमा थप्न सक्नेछन् ।
रियलको जितमा दुवै गोल रोनाल्डोले गरे ।
उनी सर्वाधिक गोलकर्ताको सूचीमा ३५ गोलसहित दोस्रोमा रहे । सबै किसिमको प्रतियोगितामा गरी यो उनको सिजनको ५१ औं गोल हो । लगातार छैटौं सिजन ५० बढी गोल गर्ने उनी पहिलो फुटबलर हन् ।


0 comments
Write Down Your Responses