पेट्रोल खानी उत्खनन् गर्न चिनियाँ टोली मोरङ पुग्यो
२०७३ जेष्ठ ४ मंगलवार
पेट्रोल निस्कने शासमा गाउँले
मोरङः मोरङको बाहुनीस्थित राधानगरमा पेट्रोल खानी अन्वेषण गर्न उत्खनन्को काम सुरु हुँदा जयप्रकाश गौतम लक्का जवान थिए ।
ऊबेला गाउँमै आएका विदेशी टोलीले दिनरात जमिन छेँडेर पेट्रोल अन्वेषणको काम सुरु गर्दा उनकै उमेरका दौंतरीको दिनचर्या भने ‘भेला हुने र पाइप गाडेको’ हेर्ने थियो ।
गौतमसहित धेरै गाउँले मेसिनले जमिनमा प्वाल पार्दै फलामका बढेमानका पाइप भस्साउँदै गरेको हेर्न दिनहुँ भेला हुन्थे । कतिपय गाउँलेले बालुवा बोक्ने र जमिनबाट निस्किएको लेदो फ्याक्नका लागि रोजगारी पनि पाएका थिए । मंगलबार पनि राधानगरमा स्थानीय गाउँलेको ठूलो भिड लाग्यो ।
‘उबेला पनि जमिनबाट तेल निस्किएको हेर्न पाइने कुराले हामी धेरै रोमाञ्चित र आशावादी बनेका थियौं’, गौतमले भने, ‘पच्चीस वर्ष बितेछ विदेशी टोलीले जमिन प्वाल पार्दा बनेका खाल्डो पुरपार गरेर गएको, त्यसयता त पेट्रोल निकाल्ने भनेर कोही पनि आएनन् ।’
मंगलबार ६ जना चिनियाँ टोलीसहित उद्योग मन्त्री सोमप्रसाद पाण्डे राधानगर पुग्दा अहिले वृद्ध अवस्थामा पाइला टेकेका गौतम पहिलेकै दौंतरीसँगै ‘राधानगरको जमिन मुनि पेट्रोल रहेको’ भन्ने विश्वास गरेको ठाउँमा पुगे । उनीसँगै गाउँलेको भिड लाग्यो । धेरै गाउँले त आफ्नै ठाउँमा पेट्रोल खानी छ वा छैन भन्नेमा अन्योल नै रहेका जस्ता थिए । युवक युवतीको पनि ठूलो जमघट थियो ।
पहिले अन्वेषणको काम हुँदा किशोर अवस्थामा रहेका उदय श्रेष्ठले भने, ‘मन्त्री आफैं आएर चिनियाँ सरकारी टोलीका प्राविधिकले काम थाल्ने आश्वासन दिएपछि अब काम बढ्ला भन्ने आशा पलाएको छ ।’
राधानगरमा पेट्रोल भण्डार रहेको पुष्टि भए यो क्षेत्रकै विकास हुनेमा आफूहरु आशावादी भएको श्रेष्ठले बताए ।
पच्चीस वर्षअघि नेपाल सरकारले नर्वेको एक निजी कम्पनी मार्फत् गराएको उत्खनन् बीचैमा रोकिएपछि राधानगरमा ‘ड्रिल’ गरिएको ठाउँमा प्लाष्टर गरेर भ्वाङ परेको ठाउँ पुरेर राखिएको छ ।
त्यतिबेलाको टोलीले जमिन मुनी ३ हजार ५ सय १४ मिटरसम्म भ्वाङ पारेर चट्टान र जमिनको भित्री सतहको अध्ययन गरेको थियो ।
उद्योग मन्त्री पाण्डेले भने, ‘अब चिनियाँ सरकारी टोलीले पहिलेको प्रतिवेदन अध्यायन गर्दै अन्वेषणको काम थाल्दैछ । पेट्रोल भण्डारणको अवस्था हेरेर व्यवसायिक उत्पादनका लागि उपयुक्त भए तीन वर्षभित्र निकाल्न सुरु गरिन्छ ।’ राधानगरमा सबैभन्दा धेरै पेट्रोल रहेको भन्ने विश्वास गरिएको मन्त्री पाण्डेले बताए ।
चिनियाँ टोलीले सुनसरीको चतरा क्षेत्रको चट्टानको अध्यायन गरेको र राधानगरमा समेत पेट्रोलको ठूलो भण्डारण रहेको आँकलन गरेको मन्त्री पाण्डेले बताए ।
चिनियाँ सरकारको तर्फबाट चाङको नेतृत्व प्राविधिकको टोली खटिएको छ । खानी तथा भूगर्भ विभागको टोलीसँगै उनीहरु केही दिन राधानगरमै रहने छन् । मन्त्रीले पाण्डेले भने, ‘विस्तृत अध्यायन गरेर टोलीले नेपाल र चिनियाँ सरकारलाई जानकारी गराएपछि उपकरणसहित काम थाल्न आउने छन् ।’
अहिले त्यो ठाउँमा सरकारले घेराबारा गरेको तीन बिघा सरकारी जमिन र अन्वेषण गर्दा सामग्री राख्न बनाइएको भवनको सुरक्षाको लागि दुई जना सुरक्षाकर्मी खटाइएको छ ।
चीन सरकारसँग भएको सम्झौताअनुसार चिनियाँ टोलीले देशका विभिन्न दश स्थानमा पेट्रोल तथा प्राकृतिक ग्यासको अध्यायन गर्न सुरु गरेको हो । गत वैशाख २५ गते दैलेख घोषणा जारी गर्दै अन्वेषणको काम आरम्भ गरिएको हो ।


0 comments
Write Down Your Responses