प्रियंकालाई ओबामाको निम्तो l


बलिउड नायिका प्रियंका चोपडा पछिल्ला दिन हलिउडमा चम्किरहेकी छन् । गायिकाको छविमा हलिउड छिरेकी उनले छोटो संघर्षमै अमेरिकी थ्रीलर टीभी सिरिज ‘क्वान्टिको’ मा एफबीआई एजेन्टको शीर्ष भूमिका पाइन् ।
 सोही भूमिकाका लागि पिपुल्स च्वाइस अवार्ड समेत जितेकी प्रियंका यति बेला हलिउडकी हट केक नै बनेकी छन् । सर्वाधिक सम्मानित ओस्कर अवार्डमा समेत ट्रफी हस्तान्तरणका लागि मौका पाएकी उनले यतिबेला फेरि अर्को उपलब्धि आत्मसात् गर्न पाउने भएकी छन् ।
 अमेरिकी राष्ट्रपति बाराक ओबामाले बलिउड सुन्दरीलाई रात्रिभोजका लागि आमन्त्रण गरेका छन् । ह्वाइट हाउसमा वार्षिक रूपमा आयोजना हुने करेस्पन्डेन्ट डिनरका लागि सेलेक्टिभ सेलेब्समध्ये प्रियंका पनि छानिएकी हुन् । डिनरमा राष्ट्रपति ओबामा प्रथम महिला मिचेलसँगै आमन्त्रित पाहुनासँग डिनर गर्नेछिन् । 
जहाँ हलिउडका ब्राड्ली कुपर, लुसी ल्यु, जाने फोन्डा, ग्लाडिज नाइट जस्ता ठूला हस्तीहरूको समेत उपस्थिति रहनेछ । 
तर प्रियंकाले भने निम्तोलाई स्वीकार गर्ने वा नगर्ने बारेमा निक्र्योल भइनसकेको उनका सहयोगीले जनाएका छन् । प्रियंका यतिबेला पनि ‘क्वान्टिको’ को बिजी सुटिङ सेड्युअलमा छिन् भने पहिलो हलिउड फिल्म ‘बेवाच’ मा पनि अनुबन्ध भइसकेकाले डिनरका लागि समय पाउने वा नपाउनेबारेमा निश्चित नभएको हो । गैरनाफामूलक ह्वाइट हाउस करेस्पन्डेन्ट्स एसोसिएसनले आयोजना गर्ने उक्त डिनरबाट पत्रकारिताको छात्रवृत्तिका लागि रकम उठाउने गरिन्छ ।

0 comments

Write Down Your Responses