आज विश्व पृथ्वी दिवस, यस्तो छ पृथ्वीको रहस्य, यसको भविष्य र भूकम्प
पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४ दशमलव ५७ अर्ब बर्ष अगाडि उत्पन्न भएको मानिन्छ । त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गरेको भूगोलविद्हरु बताउँछन् ।
पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। यसको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान ८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो जुन हाम्रै मुलुकमा पर्छ र सबैभन्दा होचो स्थान समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च रहेको छ।
पृथ्वी विभिन्न भौतिक गुण भएका पदार्थहरूले बनेको छ। पृथ्वीको बाहिरी सतहबाट भित्री केन्द्रतिर जाँदा बेग्ला–बेग्लै भौतिक गुण भएका मुख्य पाँचवटा पत्रहरू भेटिने गरेको पाइन्छ । सबैभन्दा बाहिरी पत्रलाई लिथोस्फेयर भनिन्छ। लिथोस्फेयरको भित्रपट्टि क्रमश एस्थेनोस्फेयर, मेसोस्फेयर, बाहिरी कोर र भित्री कोर रहेका हुन्छन्। लिथोस्फेयर ठोस, कडा र दह्रो हुन्छ भने एस्थेनोस्फेयर रबरजस्तो तन्कने र कमलो भएकोले गर्दा लेदोजस्तो विस्तारै बगिरहन्छ। मेसोस्फेयर ठोस हुनुको साथै एस्थेनोस्फेयरभन्दा कडा र दह्रो हुन्छ। बाहिरी कोर तरल अवस्थामा छ भने भित्री कोर ठोस अवस्थामा। पृथ्वीको बाहिरी सतहबाट भित्री केन्द्रतिर जाँदा तापक्रम र चाप पनि बढ्दै जान्छ। भूकम्प आउनुमा लिथोस्फेयर र एस्थेनोस्फेयरका भौतिक गुणहरूको ठूलो भूमिका छ। त्यसैले पृथ्वी र भूकम्प भनेका पर्यावाची जस्तै हुन् । जवसम्म पृथ्वी छ, तबसम्म् भूकम्प आइनै रहन्छ । फरक यत्ति हो, भूकम्प सधै गइरहने भने होइन ।
प्लेटहरू बन्ने र विनाश हुने प्रक्रिया
पृथ्वीको बाहिरी पत्र लिथोस्फेयरको मोटाइ एकनासको छैन र थुप्रै गहिरा र लामा चिराहरूले यसलाई टुक्र्याइदिएको छ। चिराहरूले घेरिएको लिथोस्फेयरलाई प्लेट भनिन्छ। पृथ्वीमा ७ वटा ठूला प्लेटहरू र १४ वटा मझौला खालका प्लेटहरू छन्। यी प्लेटहरूभित्र पनि थुप्रै स–सना प्लेटहरू हुन्छन्। भूगोलविद्हरुका अनुसार प्लेटहरू स्थिर नभइ चलायमान हुन्छन्। पानीमाथि डुंगा बगेजस्तै एस्थेनोस्फेयरमाथि लिथोस्फेयरले बनेका प्लेटहरू विस्तारै सर्छन्। सबै प्लेटहरूको गति एकनासको हुँदैन। एउटै प्लेटको विभिन्न भागमा पनि बेग्लाबेग्लै गति हुन्छ। प्लेटहरूको सरदर गति १ देखि १८ सेन्टिमिटर प्रति वर्षसम्म भएको अनुमान गरिएको छ। कम्तीमा पनि १०० किमि मोटाइ भएका यी प्लेटहरू बन्ने र विनाश हुने प्रक्रियालाई प्लेट टेक्टोनिक्स भनिन्छ।
दुई छिमेकी प्लेटहरूको बीचको सिमाना तीन प्रकारको हुन्छ। एक–आपसबाट टाढा गइरहेका प्लेटहरूको सिमानालाई डाइभर्जेन्ट प्लेट बाउन्ड्री अथवा स्प्रेडिङ जोन भनिन्छ भने एक–आपसतिर आएर ठोक्किएका प्लेटहरूको सिमानालाई कनभर्जेन्ट प्लेट बाउन्ड्री अथवा सब्डक्सन जोन भनिन्छ। त्यस्तै एक–आपसलाई छुँदै विपरीत दिशातिर जाने प्लेटहरूको सिमानालाई ट्रान्सफर्म प्लेट बाउन्ड्री भनिन्छ। मध्यभाग दर्हो हुने भएकोले प्लेटहरू आफ्नो किनारामा बढी भाँचिने, दोब्रिने या बाङ्गिने हुन्छन्। प्लेटको विभिन्न भागमा भएको सापेक्षित गतिले गर्दा प्लेट बाउन्ड्रीमा रहेका चट्टानमा तीन प्रकारका दबाब उत्पन्न हुने बताइन्छ । जसलाई नर्मल स्ट्रेस, सिअर स्ट्रेस र टेन्सनल स्ट्रेस भनिन्छ। परिणामस्वरूप, दुई छिमेकी प्लेटहरू जोडिएको भागमा रहेका चट्टानमा एक किसिमको शक्ति सञ्चय हुन्छ। जसलाई स्ट्रेन इनर्जी भनिन्छ । उक्त सञ्चित शक्ति चट्टानको भार बहन गर्ने क्षमता भन्दा बढी भएपछि चट्टानमा या नयाँ चिरा पर्छ यात पुराना चिराको एकापट्टि रहेका चट्टानहरू अर्कापट्टि रहेका चट्टानहरूको सापेक्षमा तलतिर अथवा माथितिर अचानक चिप्लन्छन् र उक्त क्षेत्रमा भुइँचालो जान्छ। यसै कारणले गर्दा जापान, इन्डोनेसिया, चिली, हाइटी, कोलम्बिया, भारत, पाकिस्तान, अमेरिकाजस्ता देशहरूमा बारम्बार भूकम्प गइरहन्छ। किनभने यी देशहरू दुईवटा प्लेटहरू जोडिएको क्षेत्रमा रहेका छन्।चट्टानमा भएको चिराको एक–अर्कापट्टि रहेका चट्टानहरू स्थिर नभएर चिप्लिएका देखिन्छन् भने त्यस्तो चिरालाई फल्ट भनिन्छ।
शक्तिशाली भूकम्प जाँदा सयौ वर्ग किलोमिटरको भूभाग अचानक उचालिँदै धकेलिँदा त्यहाँका चट्टानमा पहिलेदेखि नै रहेका चिराहरू झन् लाम्चा र फराकिला हुन्छन् भने अनगिन्ती नयाँ विभिन्न आकार–प्रकारका चिराहरू पनि बन्छन्। फलस्वरूप, उक्त क्षेत्रको प्राकृतिक सन्तुलन गम्भीर रूपले बिग्रन्छ। यसरी भूकम्पले बिगारेको सन्तुलनलाई पुन स्थिर बनाउन चट्टानमा आन्तरिक हलचल सुरू हुन्छ र साना—साना भूकम्पहरू जान थाल्छन्। जसलाई ‘आफ्टर सक’ अथवा पराकम्पन भनिन्छ।
जसरी एउटा ठूलो पहिरो गएको ठाउँमा साना—साना पहिराहरू अथवा ढुङ्गामाटाका टुक्राहरू कैयौं दिनसम्म खसिरहन्छन्, त्यसैगरी शक्तिशाली भूकम्पको मुख्य धक्कापछि थुप्रै पराकम्पनहरू आउनु स्वाभाविक मानिन्छ । सन् २००५ मा पाकिस्तानमा गएको शक्तिशाली भूकम्प ७ दशमलव ६ रेक्टर म्याग्निचुड स्केल पछि लगभग १ महिनासम्म पराकम्पनहरू ४ देखि ६ दशमलव २ रेक्टर म्याग्निचुड स्केल सम्मका० आएका थिए। नेपालको गत बैशाख १२ गरेको भूकम्पका पराकम्पन अहिलेसम्म आइनै रहेका छन् । त्यसैगरी अगस्ट १५, १९५० मा भारत र चीन सिमानामा गएको ८ दशमलव ७ रेक्टर म्याग्निचुड स्केलको भूकम्पको पराकम्पनहरू एउटा ८ र ४६ वटा ६ रेक्टर म्याग्निचुड स्केलका ४ वर्षसम्म गएका थिए। यसको अर्थ के हो भने जति शक्तिशाली भूकम्प आउँछ, उति नै लामो समयसम्म पराकम्पनहरू पनि आइरहन्छन्।
हिमालय पर्वतको उत्पत्ति र भूकम्प :
हाम्रो देश नेपाल अस्ट्रेलियन–इन्डियन प्लेट र युरेसियन प्लेटको कन्भर्जेन्ट बाउन्ड्रीमा अवस्थित छ। यी दुई प्लेटहरू एक–आपसमा ठोक्किएपछि यो क्षेत्रमा बारम्बार शक्तिशाली भूकम्प जाँदा पृथ्वीको सतह उचालिँदै दक्षिणतिर धकेलियो र हिमालय पर्वत शृंखला बन्ने प्रक्रिया सुरू भएको पाइन्छ । लगभग २४०० किलोमिटर लामो हिमालय पर्वत शृंखला पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्थानसम्म फैलिएको छ।
लगभग ५ करोड वर्ष अगाडि सुरू भएको पहाड बन्ने प्रक्रिया अझै पनि जारी छ। हाम्रो देशको उत्तरी सिमानामा अवस्थित हिम–शृंखलाहरू सबैभन्दा पहिले बनेका पहाड हुन्। हिम–शृंखलाको दक्षिणमा अवस्थित पहाडहरू क्रमशस् एकपछि अर्को गर्दै बनेका हुन्। महाभारत पहाड बनिसकेपछि बनेको चुरे पहाड सबैभन्दा कान्छो पहाड हो। पहाड बन्ने क्रममा तीनवटा महत्त्वपूर्ण फल्टहरू पनि बनेका छन्। सबैभन्दा पहिले बनेको फल्ट उच्च हिम–शृंखलाको दक्षिणी मोहडामा रहेको छ र यसलाई मेन सेन्ट्रल थ्रस्ट भनिन्छ। यसको दक्षिणतिर अरू दुईवटा फल्टहरू क्रमशस् मेन बाउन्ड्री थ्रस्ट र हिमालयन फ्रन्टल थ्रस्ट रहेका छन्। मेन बाउन्ड्री थ्रस्ट महाभारत पहाडको दक्षिणी मोहडामा रहेको छ भने हिमालयन फ्रन्टल थ्रस्टले तराई र चुरे पहाडलाई छुट्याउँछ।
सम्पूर्ण हिमालय ९अफगानिस्तानदेखि म्यान्मासम्म० लाई चिर्ने यी प्रमुख फल्टहरू पूर्व–पश्चिम दिशातिर लम्बाइ भएर उत्तरतिर ढल्किएका छन्। यिनीहरूको अलावा हिमालयमा अरू पनि थुपै्र क्षेत्रीय र स्थानीय स्तरका फल्टहरू विभिन्न दिशामा पंक्तिबद्ध भएर रहेका छन्। यी फल्टहरूले पहाडलाई चिरा पारेर टेबलमा राखेको पाउरोटीजस्तो बनाइदिएका छन्।
भूगर्भशास्त्रीहरूका अनुसार अहिलेको अवस्थामा सबभन्दा सक्रिय फल्ट, हिमालयन फ्रन्टल थ्रस्ट नै हो। अर्को शब्दमा अस्ट्रेलियन–इन्डियन प्लेटको उत्तरी भाग हिमालयन फ्रन्टल थ्रस्टको बाटो भएर चुरे पर्वतको मुनि घुस्रिरहेको छ भने चुरे पर्वतको दक्षिणी भाग तराईमाथि खप्टिएको छ। हिमालयन फ्रन्टल थ्रस्टबाट भित्र छिर्ने क्रममा अस्ट्रेलियन–इन्डियन प्लेटले लिथोस्फेयरमा भएका चट्टानहरूलाई ठेलिरहेको छ। जसले गर्दा यहाँका चट्टानहरूमा स्ट्रेन इनर्जी सञ्चय भइरहेको छ। उक्त सञ्चित शक्ति चट्टानको भार बहन गर्ने क्षमता भन्दा बढी भएपछि त्यहाँका चट्टानहरू अचानक भाँचिन्छन् र पृथ्वीको सतहमा एउटा लामो चिरा पार्दै भूकम्प जान्छ।
भूकम्प गइसकेपछि पनि प्लेटको गति रोकिँदैन। फेरि विस्तारै स्ट्रेन इनर्जी चट्टानमा जम्मा हुनथाल्छ र माथि उल्लिखित प्रक्रिया अनुरूप नै पुनस् भूकम्प जान्छ। यसै कारणले गर्दा नेपाल लगायत सम्पूर्ण हिमालय क्षेत्रमा बारम्बार भुइँचालो गइरहन्छ।
के पृथ्वीको अस्तित्व समाप्त हुन्छ ?
हालसम्म ज्योतिष या विज्ञान सबैको एउटै निष्कर्ष हो, पृथ्वीको निश्चित आयु छ । पृथ्वीको अन्त्य स्वभाविक हो । तर अहिले होइन कयौँ करोड वर्ष पछि । पृथ्वीनै विनास हुने आयु लामो भएपनि यहाँका जीवजन्तुको अस्तित्व भने खतरामा छ । विश्वव्यापी उष्णिकरण अर्थात् तापमान बढ्ने क्रम तिब्र बनिरहेको बेला वैज्ञानिकहरुले पृथ्वीमा एक दिन सबै जिवको अस्तित्व समाप्त हुने भविष्यवाणी गरिसकेका छन् । भविष्यमा सूर्य निकै तातो हुने र अत्यधिक तापक्रममा कारण पृथ्वीमा कोहीपनि नबाँच्ने वैज्ञानिकहरुको भनाइ छ ।
पृथ्वीको सन्तुलित स्थान अर्थात् गोल्डीलक्सका कारण पृथ्वीको समुद्र न त उम्लिने, न त जम्ने अवस्थामा रहेका हुन् जसका कारण यहाँको तापक्रम सन्तुलित छ । तर पृथ्वीको यस्तो अवस्था सधैभरि रहने होइन । यो पृथ्वीको उत्पत्ति बाट ६।३ अर्ब वर्ष देखि ७।८ अर्ब वर्षसम्म रहन्छ । पृथ्वीको उत्पत्ति भएको साढे ४ अर्ब वर्ष नाघिसकेको अवस्थामा अबको पौने २ अर्ब देखि साढे ३ अर्ब वर्ष सम्म मात्र पृथ्वीको तापक्रम बसोबास योग्य हुनेछ । त्यसपछि यो तातो पिण्डको रुपमा परिणत हुने शोधकर्ताहरु बताउँछन् । त्यस्तो अवस्थामा समुद्रको पानी तातेर वाष्पिकरण हुनेछ, विभिन्न खाले प्रलय हुनेछन् र पृथ्वीमा सम्पूर्ण जिवको अस्तित्व समाप्त हुनेछ ।
वैज्ञानिकहरुका अनुसार यस्तो प्रलय अगावै पृथ्वीबाट लोप हुने प्राणीमा मानिसको पालो सबैभन्दा पहिले आउनेछ । पृथ्वीमा मानिसको अस्तित्व अबको पौने दुइ अर्ब वर्षभन्दा अघि नै समाप्त हुने वैज्ञानिकहरु बताउँछन् ।

0 comments
Write Down Your Responses