निजी छाडेर ३ सय विद्यार्थी सामुदायिकमा
वैशाख १०, २०७३- गुणस्तरीय पठनपाठन अभावमा थुप्रै अभिभावकले सामुदायिकमा छोराछोरी पठाउन छाडेका छन् । कतिपय सरकारी स्कुल बन्द भए । केहीमा विद्यार्थी कम हुँदै गएका छन् । तर, यहाँको सरस्वती–टीका उच्चमाविको कथा भने फरक छ । शैक्षिक सुधार गरेपछि निजी विद्यालयबाट यहाँ आउने विद्यार्थीको लर्को नै लागेको छ । यतिसम्मकी विद्यालयले सबै विद्यार्थीलाई भर्ना गर्न सकेन । ‘
विद्यार्थी थेग्नै गाह्रो भयो,’ व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले भने, ‘गुणस्तरीय शिक्षा दिनसके सरकारीमा विद्यार्थी, अभिभावकको मोह घटेको छैन भन्ने यसले देखाएको छ ।’
बिहीबारसम्ममा ३ सय ८ नयाँ विद्यार्थी भर्ना भइसकेका छन् ।
अझ त्यति नै फर्काउनुपरेको विद्यालयले जनाएको छ । कक्षाकोठा र शिक्षक अभाव हुने र व्यवस्थापनमा समस्या आउने भन्दै भर्ना नलिएको हो । वरपरका ८ बढी निजी स्कुलका विद्यार्थी यहाँ आएका हुन् । कतिपयले पोखरा र लेखनाथ नगरबाटसमेत फिर्ता ल्याएर यहाँ भर्ना गरेका छन् । यसले केही निजी स्कुल बन्द हुने अवस्थामा पुगेका र अहिले नि:शुल्क पढाउने भन्दै विद्यार्थी खोज्दै हिँड्न थालेका एक अभिभावकले बताए ।
विद्यालयले ९ कक्षासम्म अंग्रेजी माध्ययम र नेपाली माध्ययममा पढाउँछ । अंग्रेजी माध्ययममा पढाउँदा अभिभावकले केही रकम विद्यालयलाई सहयोग गर्नुपर्छ । विद्यालयले यसै वर्षदेखि एउटा स्कुल बससमेत सञ्चालनमा ल्याएको छ । निजीकैजस्तो नर्सरी, एलकेजी र युकेजी कक्षा सञ्चालन गर्छ ।
उनीहरूलाई अडियो र भिडियोको माध्यमबाट पढाउन थालिएको छ । शिक्षक, व्यवस्थापन समितिका सबै सदस्य, शिक्षक अभिभावक संघका सदस्यले अनियवार्य आफ्नै स्कुलमा पढाउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्ता विद्यार्थीमा करिब ५० जना छन् । यस्तो नियम बसाएपछि प्रधानाध्यापक लालप्रसाद भण्डारीले आफ्नो छोरालाई निजीबाट निकालेर गतवर्ष आफूसँगै ल्याएका थिए ।
एक विद्यार्थी एक कम्प्युटर अभियानसमेत थालेको छ । पढाइ अवधिभर शिक्षकले मोबाइल र इन्टरनेट चलाउन पाउँदैनन् । बिद्यालयमा कुनै पनि राजनीति हुँदैन । स्थानीय निशा थापाले बिहीबार छोरा कुशललाई ५ कक्षा र छोरी कुशुमलाई नर्सरीमा भर्ना गरिन् । यसअघि दुवै छोराछोरी घरनजिकैको निजी स्कुलमा पढ्थे । ‘पैसा धेरै तिर्नु नपर्ने । निजीको भन्दा पनि राम्रो वातावरण र पढाइ भएको देखेर सरकारीमा ल्याएकी,’ उनले भनिन् ।
विद्यालयमा १९ सरकारी दरबन्दी र २८ जना निजी स्रोतमा शिक्षक छन् । शिक्षकले विशेष परिस्थितिमाबाहेक बिदा लिन पाउँदैनन् ।
अघिल्लो वर्ष त्यसो गरिएकोमा अहिले विद्यालय आफैंले व्यवस्थापन गरी २ महिनाको तलब थप्ने तर बिदा बस्न नपाइने नियम बनाइएको छ । ‘यसले शिक्षकमा उत्साह थपिएको छ,’ प्रधानाध्यापक लालप्रसाद भण्डारीले भने, ‘निजी स्रोतका शिक्षकलाई पनि सरकारीसरह तलब दिने योजनामा छांै ।’ शिक्षक र अभिभावकको अहोरात्र खटाइले विद्यालयले प्रगति गरेको हो । अभिभावक प्रेमबहादुर सुनार दैनिक ४/५ घन्टा स्कुलकै रेखदेखमा बिताउँछन् । ‘कसैले यस्तो हुन्छ भनेर कल्पना पनि गरेको थिएन,’ उनले भने, ‘विद्यालयलाई देशकै नमुना बनाउने योजनामा छौं ।’
शिक्षकले पनि आफ्नो कर्तव्य पूरा गरेकोमात्रै बताउँछन् । ‘शिक्षक समाजको संवाहक भएकाले समुदायले कसरी हेर्छ भन्ने ठूलो कुरा हो,’ शिक्षक श्रीधर आचार्यले भने, ‘हामीले कर्तव्यमात्र पूरा गरेका हांै । अहिले कहाँ पढाउँछस भनेर सोध्दा सरस्वती टीकामा भन्दा निकै गर्व लाग्छ ।’ कुनै पनि सेवा सुविधा नलिई स्कुलको प्रगति हुनुमा टिमवर्क नै ठूलो रहेको प्रअ भण्डारीले बताए ।
अहिले स्कुलमा भारत सरकारको सहयोगमा भवन बन्दै छ । भवन बनेपछि इच्छुक जति सबैलाई भर्ना लिने र आवासीय बनाउने योजना विद्यालयको छ ।
विद्यालयका केही सर्टर भाडामा रहेका र परेको बेला अभिभावकले आवश्यक सहयोग गर्ने भएकाले रकमको अभाव नभएको जनाएको छ । जिशिअ रमाकान्त शर्माले प्रयास गरेपछि सबै कुरा सम्भव हुने बताए । ‘शिक्षक र व्यवस्थापन समितिको खटाइको परिणाम हो यो,’ उनले भने, ‘अभिभावकको विश्वास जित्ने स्कुल सफल हुँदै गएका छन् ।


0 comments
Write Down Your Responses