‘नेपाली क्रिकेट मृत्यु शैय्यामा पुग्यो, यसरी बचाऊँ’
२०७३ बैशाख १७ शुक्रबार
परिषदले अभिभावकको भूमिका खेलोस
काठमाडौंः चतुरबहादुर चन्द नेतृत्वमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समुहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को प्रतिबन्ध फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अभिभावकको भूमिका खेल्नु पर्ने बताएको छ ।
त्यसका लागि परिषद्ले नै समाधानको उपायसहित प्रस्ताव लिएर आउनुपर्ने उसले जनाएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचित समूहले राखेपले अभिभाकत्वको भूमिका निर्वाह नगर्दा आईसिसीले प्रतिवन्ध लगाउनुपर्ने अवस्था आएको जनाएको छ ।
‘
यस्तै अवस्था आउन सक्छ भनेर खेलकुद मन्त्री र सदस्य सचिवलाई समेत बारम्बार जानकारी गराएका थियौं । तर उहाँहरुले गम्भीरतापूर्वक लिनु भएन’, संघका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘अब यो अवस्थाबाट छुट्कारा पाउन परिषद्ले अभिभावककारुपमा समाधानका उपायसहित प्रस्ताव ल्याउनु पर्छ ।’
सरकारले ल्याएको प्रस्तावमा आफूहरु गम्भीरतापूर्वक छलफल गर्न तयार रहेको उनीहरुले जनाएका छन् ।
यद्यपि राखेपले ल्याउने प्रस्तावमाथि छलफल गर्दा ऐन, विधान, प्रजातान्त्रिक मूल्य र मान्यतामा आफूहरुको बलियो अडान रहने उनीहरुले स्पष्ट पारेका छन् ।
‘हामी मृत्यु शैयामा पुगेको नेपाली क्रिकेटलाई फेरि जीवन दिन सबै अवसरको सदुपयोग गर्ने निर्णयमा पुगेका छौं’, महासचिव प्याकुरेलले भने, ‘त्यसमा परिषद्ले प्रस्तुत गर्ने प्रस्तावमा हामी पूर्णरुपमा छलफल गर्न तयार छौं ।
तर, त्यसो भन्दैमा हामीले सबै कुरा छाड्छौँ भन्न खोजेको हैन । ऐन कानुन र प्रजातान्त्रिक मूल्य र मान्यतामा हाम्रो पूर्ण अडान रहने छ ।’
आईसिसीले गत २५ अप्रिलमा सरकारी हस्तक्षेप भएको जनाउँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन दिने छुटसहित क्यानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
आईसिसीले निर्वाचित कार्यसमितीविरुद्ध राखेपले तदर्थ समिती गठन गरीदिएपछि नेपालमा सरकारी हस्तक्षेप भएको निर्णय गरेको हो । बारम्बारको प्रयासपछि पनि राखेपले निर्वाचनका लागि अनुमति नदिएपछि तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको टोलीले निर्वाचन गरी नयाँ कार्य समिति तय गरेका थिए ।
त्यसबेला राखेपले सुनसरी र कैलालीमा प्रतिनिधी छनोट पारदर्शी नगरेको भन्दै तत्कालका लागी निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।
आफ्नो निर्देशनविरुद्ध गएको भन्दै राखेप सदस्य सचिव विष्टले चन्द नेतृत्वको टोलीलाई बेवास्ता गर्दै गत फागुन २३ मा रमेश सिलवालको नेतृत्वमा तदर्थ समिती गठन गरेका थिए ।
महासचिव प्याकुरेलले राखेपले नियोजितरुपमै निर्वाचन रोक्ने प्रयास गरेकाले आफूहरुले प्रतिनिधीहरुको सुझावमा निर्वाचन गरेको बताए ।
‘राखेपले सुनसरी र कैलालीमा प्रतिनिधी छनोट पारदर्शी नभएको जनाएको थियो । परिषद्ले हामीलाई ती स्थानमा पुन निर्वाचन गरी प्रतिनिधि ल्याउन निर्देशन दिन सक्थ्यो ।
तर त्यसो गरेन’, प्याकुरेलले भने, ‘परिषद्ले हाम्रो कार्यकाल सकिन दुई दिन बाकि हुदा समेत निर्बाचन रोक्ने निर्देशन दियो । त्यसैले ३८ जिल्ला र ९ क्षेत्रबाट आउनु भएका प्रतिनिधीको सुझावमा निर्बाचन गरेका थियौं ।’
उनले अझै पनि राखेपले त्यो तथ्यलाई नबुझे यो अवस्था लम्बिनी उनले बताए । उनले यो अवस्था लम्बिएको अवस्थामा नेपाली क्रिकेटलाई दुरगामी असर पर्ने बताए ।
‘हामीले आईसिसीको निर्णय ठिक हो भनेका पनि सुनेका छौं । तर आईसिसीको यो निर्णयले नेपाली क्रिकेटमा दुरगामी असर पर्ने छ’, उनले भने, ‘अब घरेलु प्रतियोगिता हुन्छ की हुँदैन । संरचना बन्छन् की बन्दैनन् भन्ने कुराहरु आइरहेका छन् । त्यसैले सबैले यो बिषयलाई बुझ्न जरुरी छ ।’
पत्रकार सम्मेलनमा अध्यक्ष चन्द भने उपस्थित थिएनन् । महासचिव प्याकुरेलसँगै उपाध्यक्ष दिवाकर घले लगायतको उपस्थिती थियो ।


0 comments
Write Down Your Responses