'अब सजाय काटेको दुई वर्षमा पार्टी सदस्य'

२०७३ बैशाख १६ बिहीवार 

काठमाडौं: निर्वाचन आयोगले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय काटेको दुई वर्षपछि दलको सदस्य बन्न पाउने प्रस्ताव गरेको छ। राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामा आयोगले यस्तो प्रस्ताव गरी संसद्को राज्य व्यवस्था समितिका सदस्यसँग बुधबार छलफल गरेको छ।

 राजनीतिक दलको सदस्यतासम्बन्धी परिच्छेदमा 'नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको भए भुक्तानी गरेको मितिले दुई वर्ष पूरा' गरेको व्यक्ति दलको सदस्य हुन पाउने प्रस्ताव गरेको छ। यही दफामा टेकेर नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय काटेको व्यक्ति पनि दुई वर्षमा उम्मेदवार बन्न पाउने ढोका खुल्ने भन्दै केही सभासद्हरूले आयोगको प्रस्तावको विरोध जनाएका छन्।
 'सजाय पाएको व्यक्ति सुध्रिने मौका त दिनुपर्छ। तर दुई वर्षमै सदस्यता पाउने कुरा उचित होइन भन्ने हो,' समिति सदस्य अइन्द्रसुन्दर नेम्बाङले भने, 'अधिकांश सांसदले दुई वर्षको अवधिलाई बढाउनुपर्ने धारणा राख्नुभयो ।'
 यस्तै आयोगले प्रत्यक्षतर्फ १.५ प्रतिशत मत ल्याउने दललाई राज्य कोषबाट रकम दिने प्रस्तावको साना दलले विरोध जनाएका थिए। त्यस क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूसँग प्रारम्भिक छलफल भएको भन्दै नयाँ प्रस्तावित व्यवस्थाका विषयमा गहन छलफल हुनुपर्ने बताएका थिए। आयोगले निर्वाचनसम्बन्धी विभिन्न ऐनको मस्यौदा तयार पारेर सरोकारवालासँग छलफल चलाइरहेको छ।

0 comments

Write Down Your Responses