खायो खडेरीले
वैशाख १६, २०७३-
खडेरीका कारण तराईसहित मुलुकका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ। गर्मीकै कारण बिरामीसमेत बढेका छन्। दिउँसो तातो हावा चल्ने अनि चर्को घामका कारण बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल कम देखिन्छ। सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ।
बुधबार राजविराजको तापक्रम ३६ डिग्री सेल्सियस पुग्यो। पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय धरानका अनुसार बुधबार विराटनगरको तापक्रम ३७ दशमलव ४ डिग्रीसम्म पुगेको छ।
यस्तै धरानको ३४ दशमलव ३, धनकुटाको २८ दशमलव ६, ताप्लेजुङको २५ दशमलव ७ र ओखलढुंगाको तापक्रम २७ दशमलव ५ डिग्रीसम्म पुगेको छ।
पछिल्लो केही दिनयता पूर्वी जिल्लाको तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्हरूले बताए।
गर्मी बढेसँगै झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, मूत्रनलीसम्बन्धी समस्याबाट पीडित भई अस्पताल आउने बिरामीको संख्या पनि बढेको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गर्मीका बिरामीको संख्या दैनिक ६० देखि ७० जनासम्म पुग्ने गरेको आकस्मिक कक्षका इञ्चार्ज रामकुमार दियालीले जनाए। तीमध्ये बालबालिका अत्यधिक छन्।
निजी क्लिनकमा पनि बिरामीको चाप बढेको छ। सप्तरीका ग्रामीण क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि पछिल्लो समय गर्मीका कारण झाडापखाला, छालासम्बन्धी रोग, एलर्जीलगायत बिरामी आउने बिरामीको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले बताए।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा पनि गर्मीका कारण ज्वरो, झाडापखालालगायत बिरामीको चाप बढेको छ।
अहिले दैनिक ८ सयजना बिरामी ओपीडीमा उपचारका लागि आउने गरेको र त्यसमा सबभन्दा बढी गर्मीका कारण हुने समस्याबाट पीडित भएकाहरू रहने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले जनाए।
उनका अनुसार उक्त अस्पतालमा अहिले उपचारका लागि आउने बिरामीमा वृद्धवृद्धा र बालबालिका बढी छन्।
अत्यधिक गर्मीकै कारण राजविराजलगायत पूर्वका बजारमा दिउँसोका बेला सर्वसाधारणको चहलपहल कम हुने गरेको छ
। खासगरी मजदुरी गरेर तथा रिक्सा र ठेला चलाएर गुजारा गर्नेहरू गर्मीको मारमा परेका छन्।
‘चर्को घाममा सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कँदैनन्, जसले गर्दा यात्रु नपाएर कमाइ नभई संकट भएको छ,’ राजविराजमा विगत १० वर्षदेखि रिक्सा चलाउँदै आएका रामपुकार मण्डलले भने। उनले यात्रु पाए पनि चर्को घाम र अत्यधिक गर्मीका कारण लामो दूरीसम्मको यात्रुलाई बोक्नसमेत कठिनाइ हुने गरेको बताए।
सिरहामा पनि गर्मीका बिरामी बढेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्ला अस्पतालको आकस्मिक कक्षमा २४/२५ जना र बहिरंग विभागमा नब्बे/सय जना बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्।
यस्तै, उमाप्रसाद मुरारका रामकुमार शारडा मेमोरियल अस्पताल लाहानको तथ्यांकअनुसार दैनिक १ सय २५ देखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका सूचना अधिकारी राजवीर यादवले जिल्लास्थित प्रत्येक स्वास्थ्य संस्थाहरूमा गर्मीका कारण बिरामीको संख्यामा वृद्धि भएको बताए। जिल्ला स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक रायका अनुसार तर औषधि अभाव छ।
जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल सिरहाका प्रमुख डाक्टर दयाशंकरलाल कर्णले गर्मीले भाइरल झाडापखाला, टाइफाइड, भाइरल हेपाटाइटिस, हारे, चिकेनपक्स, भाइरल ज्वरो, निमोनिया, आँखा पाक्ने, पेट दुख्ने, कमलपित्तका बिरामी उपचारका लागि आउने गरेको बताए।
तापक्रम बढ्दै
नयाँ वर्षको सुरुवातमै गर्मीले मध्य तथा पश्चिम तराईका बासिन्दा प्रभावित बनेका छन्। लामो समयदेखि पानी नपरेका कारण जताततै तातो बनेको छ। त्यसले यहाँ गर्मी छल्न समस्या छ।
यस क्षेत्रमा अतिरिक्त लोडसेडिङले सर्वसाधारण थप मर्कामा परेका छन्। बिहानैदेखि घाम चर्किनाले सडकमा ओहोरदोहोर पातलो बनेको छ।
सवारीको चाप कम छ। सरकारी कार्यालयमा सेवाग्राही कम देखिन्छन्। तर अस्पतालमा मौसमी रोगका बिरामीको भीड लाग्ने गरेको छ।
‘वैशाखमा यस्तो गर्मी छ,’ भरतपुर १२ का ऋषि ढकालले भने, भदौ र असोजमा कस्तो होला।’ गर्मीको मारमा कामकाजी र बालबालिका बढी परेका छन्।
बस्ती आसपासका जंगल क्षेत्रमा महिनौंसम्म भएको आगलागीले पनि तातो बढेको स्थानीयको भनाई छ। चारपांग्रे गाडीका चालकलाई सजिलो भए पनि २ पांग्रेका चालक मारमा छन्।
दिउँसोमा पिच अत्यधिक तातो हुने भएकाले मोटरसाइकल चलाउन मुस्किल पर्ने गरेको छ। अहिले चितवन र आसपास ४० डिग्री हारहारी तापक्रम रहेको छ। तापक्रम वृद्धि हुने क्रममा रहेको मापन केन्द्रले जनाएका छन्।
गर्मी छल्न स्थानीय रूखमुनि जाने गरेका छन्।
स्विमिङ पुलमा भीड लाग्ने गरेको छ। भरतपुर विमान स्थलका अनुसार बुधबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २४ डिग्री रहेको छ।
तीन दिनयता उक्त तापक्रम यथावत् रहेको विमानस्थलले जनाएको छ। गर्मीले सर्वसाधारणमा टाउको दुख्ने, झाडापखाला लाग्ने, रुघाखोकीलगायत समस्या देखा पर्न थालेको भरतपुर अस्पतालका चिकित्सक डा. प्रकाश खतिवडाले बताए।
‘गर्मी बढेसँगै जिल्लामा डेंगु फैलिने, मलेरियालगायत संक्रमण फैलिने सम्भावना बढेको छ,’ उनले भने, ‘गर्मी छल्न खुल्ला स्थानमा सुत्नेबस्ने गरेका छन्।’
पछिल्लो केही दिनदेखि गर्मीसँगै चलेको तातो हावाले वीरगन्ज र आसपास क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेको छ। मध्याहन बजारमा चहलपहल पातलिएको छ। सरकारी कार्यालयमा समेत सेवाग्राहीको संख्या घटेको छ। किनमेलका लागि स्थानीय घामको राप कम भएपछि मात्र घरबाट निस्किन थालेका छन्।
नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार गर्मीजन्य रोगका बिरामी बढेका छन्।
लु, झाडापखाला, टाइफाइड, ज्वरो र मलेरियाका बिरामी बढेका छन्। कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा ४ दिनदेखि बिरामी बढेका छन्। दैनिक ६०/७० बिरामी आउने गरेकामा अहिले बढेर १ सयभन्दा बढी पुगेका छन्।
गर्मीले दैनिक १ सयभन्दा बढी बिरामी आउन थालेको चिकित्सक गोपाल कँडेलले बताए। जिल्लामा ज्वरो, रुघाखोकी, आउँ, टाइफाइड, झाडापखाला र छालाका बिरामी बढेका छन्। कतिपय थलिएर आउने हँुदा भर्ना गरेर उपचार गर्नु परिरहेको उनले बताए।
बुधबार एकैपटक गर्मीले थलिएर ५ बिरामी आएपछि बरन्डामा राखेर उपचार गर्नु परेको थियो। तीन जनालाई बाहिर स्लाइनपानी चढाउनु परेको थियो।
राति एक्कासि पेट दुखेपछि खप्नै नसकेर बुधबार बिहान उपचारका लगि आएको शुखरामपुरकी किस्लाबती कुर्मीले बताइन्। तीन दिनको औषधि पाएकी आफूलाई शुक्रबार चिकित्सकले बोलाएको बताइन्।
अहिले गर्मीका १५ बढी बिरामीलाई भर्ना गरी उपचार गरिएको छ। जिल्ला अस्पतालसँगै जिल्लाभरिका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि गर्मीका ४० प्रतिशत बिरामी बढेका छन्।
आइतबारदेखि यहाँको तापक्रम बढेर अधिकतम ४२ डिग्री सेल्सियल पुगेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग इकाईले जनाएको छ। न्यूनतम तापक्रम पनि बढेर २४ डिग्री सेल्सियस पुगेको छ।
चार दिनदेखि अधिकतम तापक्रममा गिरावट नआउँदा बढी गर्मी महसुस भइरहेको इकाईका रामु रेग्मीले बताए। प्रचण्ड घामसँगै तातो हावा चल्दा सडकमा हिँडन अति सकस भइरहेको स्थानीय विजय श्रेष्ठले बताए।
गर्मीले उजाड
खडेरी र बढ्दो तापक्रमले रूपन्देहीको धार्मिक पर्यटकीय स्थल लुम्बिनी उजाड बनेको छ। मायादेवी मन्दिर परिसरमा राखिएको टायल अत्यधिक तात्ने गरेकाले दर्शन तथा भ्रमणका लागि त्यहाँ जानेले कष्ट खेप्नु परेको छ।
परिसरमा खाली खुट्टा जानुपर्ने प्रावधान छ।
लुम्बिनी विकास कोष सदस्य सचिव अजितमान तामाङले यात्रुलाई कष्ट हुन नदिन टायलमाथि जुटको बोरा राख्ने योजना भएको र आवश्यकताअनुरूप नपाइएको बताए।
खडेरी र गर्मीको असर कृषि क्षेत्रमा पनि परेको छ। खडेरीले तरकारी उत्पादनमा ५० प्रतिशत कमी आएको जिल्ला कृषिले जनाएको छ। उत्पादन कम भएकाले तरकारीको मूल्य ६० प्रतिशतले बढेको छ।
पश्चिमी हावा चल्ने गरेका कारण तातो हावाको असर बढदो छ।
गौतम बुद्ध विमानस्थलस्थित मौसम शाखाका अनुसार विगत एक सातादेखि भैरहवा क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि छ।
अघिल्लो बुधबार भैरहवा क्षेत्रको तापक्रम यस वर्षको सर्वाधिक ४३.२ डिग्री सेल्सियस पुगे पनि त्यसपछि भने केही घटेको छ। दिउँसोमा गर्मी र तातो हावा चल्ने गरे पनि साँझ बिहान शीतल हुने गरेकाले गर्मीबाट हुने बिरामी कम छन्।
भैरहवास्थित भीम अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट अनन्त शर्माले अस्पतालमा गर्मीका बिरामी नभएको बताए।
मुहान सुके
लामो खडेरीले मकवानपुरका ग्रामीण भेकमा पानीको मुहान सुकेपछि खानेपानी हाहाकार भएको छ।
गर्मीले बालबालिकालाई पखाला लागेको छ। कुवा, इनार र पानीको मुहान सुकेकाले भैंसे गाविस गुन्डुङ, चुरियामाईको शिखरपानी, काँकडा १ को सिलिङे, टिस्टुङ गाविसको वसन्तलगायत क्षेत्रमा पानी अभाव छ। पानी नपरेकाले यस्तो समस्या मात्र छैन, आलुका बोट मर्नसमेत थालेका छन्। अर्कातिर कृषकले मकै छर्न पाएका छैनन्।
‘चैतको पहिलो सातामा मकै छर्नु पर्थ्यो, पानी नपरेकाले मकै छर्न पाएका छैनौं,’ गढी ६ का तीर्थबहादुर लामाले भने, ‘यो खडेरीले अनिकालमात्र होइन, रोगब्याधी पनि ल्याउँछ।
’
घर बनाउन सरकारले भूकम्प पीडितहरूलाई अनुदान रकम दिए पनि पानीको अभावले भूकम्प प्रभावित गाविसका अधिकांश पीडितहरूले घरको पुनर्निर्माण कार्य अगाडि बढाउन सक्ने अवस्थामा छैन।
‘पिउने पानी छैन कसरी घर बनाउने,’ टिस्टुङ गाविस ६ वसन्तका रामबहादुर स्याङतानले भने, ‘दैनिक ९ सय रुपैयाँ ज्याला दिएर मूलखोलाबाट पानी बोकाउनु पर्छ
बालबालिकामा पखाला फैलिएको हेटौं अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले बताए। उनले भने, ‘अस्पतालमा दैनिक १०/१५ जना झाडापखाला लागेका बालबालिकाहरू उपचारका लागि ल्याउने गरेको छ, यो संख्या दैनिक बढदै छ।’
हेटौंडाको अस्पतालमा मात्र होइन, थाहा नपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि झाडापखाला लागेका बालबालिकाहरू उपचार गराउन आउने बढेका छन्।’
पिउने पानी हाहाकार
जाजरकोटमा लामो खडेरीले पानीका मुहान सुकेका छन्। मुहानमै पानी निस्कन छाडेपछि जिल्लाका अधिकांश गाउँबस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ।
भेरी नदीको पानी आधा घटेको छ।
खोला सुकेपछि किसानले धानको बिउसमेत राख्न पाएका छैनन्। बुद्बुदी मुहान सुकेपछि सदरमुकाम खलंगामा पिउने पानीको संकट गहिरिएको छ।
पानी अभावमा महिनादेखि जिल्ला अस्पतालको स्वास्थ्य सेवा पनि प्रभावित बनेको छ। विगत वर्षको तुलनामा भेरी नदीको पानी आधा घटेको हो।
लामो खडेरी तथा पानी नपर्दा कुशे, चाखुरे, सिस्नेलगायत हिमालमा हिउँ पर्न छाडेको छ। हिमालमा हिउँ नहुँदा नदीको पानी घटेको हो।
त्यस्तै अन्य खोला पनि सुकेर बगरमा परिणत भएपछि भेरी नदी झन् घटेको हो। यो वर्ष भेरीको सतह २ मिटर तल झरेको स्थानीयवासी दिपानन्द गिरीले बताए।
मुहान सुकेपछि भेरीमालिकाको १३ वटै वडामा खानेपानीको चरम समस्या छ। नगरपालिका ३ र ४ का बासिन्दा एक महिना अघिदेखि पिउने पानीको मारमा परेका छन्।
बुँद्बुँदी मुहान सुकेपछि स्थानीयका धारामा पानी आउन छाडेको उपभोक्ता समिति अध्यक्ष तेजविक्रम शाहले बताए। जिल्ला सदरमुकाम खलंगासमेत रहेको यी वडामा आपूर्ति हुने २३ मुहान


0 comments
Write Down Your Responses