माइत जान नदिने सासुको घाँटी थिचेर हत्या
रुकुमः माइत जान्छु भन्दा सासुले चिम्टाले हानेपछि सासुको घाँटी थिचेर हत्या गरेको सुनिता खत्रीले स्वीकार गरेकी छिन् । रुकुमको पश्चिमी मग्मा ७ की ७२ वर्षीया विष्णुकुमारी खत्रीको हत्या अभियोगमा पक्राउ परेकी कान्छी बुहारी १८ वर्षीया सुनिताले बयानका क्रममा सासुको हत्या गरेको स्वीकार गरेकी हुन् ।
सुनितालाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका क्रममा सुनिता र विष्णुको माइती जाने विषयमा घरायसी विवाद भएको खुलासा भएको छ ।
विवादले उग्र रुप लिदा वैशाख ५ गते राति सासु बुहारीको झगडा भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो ।
उक्त दिन पनि बुहारीले ‘माइती जान्छु’ भनेपछि सासूले फलामको चिम्टीले हिर्काएपछि आफूले घाँटी थिचेर हत्या गरेको सुनिताले स्वीकार गरेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए ।
अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ ।
उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छन् । रासस


0 comments
Write Down Your Responses