गर्भवतीको प्रश्न-बर्खाले छोपिसक्यो, कतिञ्जेल यसरी बस्ने ?

पाहुनालाई छ्यांग दिएर सत्कार गर्ने उनको परम्परा अस्थायी टहरामा पनि यथावत् देखिन्थ्यो । छ्यांग खानलाई सुझाइरहेकी सिन्धुपाल्चोक माझखर्ककी साहिँली तामाङको पिठ्यूँमा सानो छोरो सुतिरहेको थियो ।  त्यति नै बेला उनकी भाउजू निशाले गल्र्याम्म दाउराको भारी बिसाइन् । साँझ झमक्कै परिसकेको थियो । पटुकीले छोपछाप पारेको निशाको पेट पुटुक्क बाहिर निस्किएको थियो । उनलाई देख्नेबित्तिकै चारवर्षे छोरो अनिल आमासँगै लुटुपुटु भयो र हात समाउँदै टहराभित्र छिरे । मैले उनीहरूलाई नियालिरहेँ । सिन्धुपाल्चोक चौताराबाट करिब २० किलोमिटर परको माझखर्कमा भेटिएकी हुन् साहिँली र निशा तामाङ । सेलाङ गाविसमा पर्ने माझखर्कको सामुदायिक जंगल फाँडेर बसेका छन् उनीहरू ।
 भूकम्पमा माइलो छोरो गुमाइसकेकी निशा तेस्रो सन्तानलाई स्वागत गर्ने तर्खरमा रहिछन् । टहरामै गर्भ बसेको रहेछ उनको । पेटमा आठ महिनाको बालक हुर्किरहेको छ । तर, उनी सहरमा जस्तो न आराम गर्छिन् । न पोषिलो खानेकुरा खान्छिन् । दुःखको अनुहार निरीह हुँदोरहेछ । यस्तोमा स्वस्थ्य बालक र आमाको कल्पना गर्नु परैको कुरा हो ।
 आफ्नै कर्मले यहाँसम्म ल्यायो भन्छिन् निशा । पहिले भाग्यमा विश्वास गर्थिन् क्यारे । भोकाएर फर्केकी निशाले कराहीमा मकै भुट्दै आफनो कथा यसरी सुर गरिन् : ‘बिहेपछिको मेरो गाउँ यति विकट होला भन्ने कल्पना गरेकी थिइनँ । सेलाङ गाविसको सेबगाउँमा रहेको घर भत्किसकेको छ । एउटा घर सिंगो छैन । 
भूकम्पपछि त्यो गाउँमा मान्छे बस्दैनन् । 
चारैतिर डरलाग्दो भीर अनि खोला छन् । जानलाई बाटो छैन । पुल छैन । तर पाँच वर्ष पहिला भाग्यले यही गाउँमा पु¥यायो मलाई । मेरो माइती काठमाडौंको जर्सिङपौवा हो । करिब ३० वर्ष पुग्दा थाहै नपाई उहाँसँग लभ परेछ । नजिकै बस्थ्र्यौँ । मायामा परेपछि सबैकुरा स्वीकार्य हुने रहेछ । भौगोलिक विकटताभन्दा ठूलो हुनेरहेछ माया । उहाँलाई पाउनको लागि काठमाडौंमा हुर्किएको भए पनि सिन्धुपाल्चोक जाने आँट गरेँ । हामीले भागी विवाह ग¥यौ ।’ यसो भनिरहँदा निशाको मन्द मुस्कानसँगै अनुहारमा गम्भीरता छाएको थियो । मिलेका दाँतझैं दाउराको हार टहराको छेवैमा मिलाएर राखेकी थिइन् उनले । ढोकानिर बाख्रा बाँधेकी ।
 ‘सुत्केरी हुने समयले छोप्यो, बर्खा लाग्न थाल्यो । त्यसैले बेलैमा दाउराको जोहो गरेको’, उनले भनिन् । पाल र जस्ताले बनेको टहरामा ३५ वर्ष पुग्दै गर्दा तेस्रो सन्तान जन्माउँदैछिन् निशा । तर आर्थिक संकट टार्नकै लागि निशाका श्रीमान् विदेश पुगेका छन् । टहरामा एक्लै सन्तान जन्माउन तयार निशा यतिबेला डराउन थालेकी छिन् । ‘जतिजति बच्चा जन्माउने समय नजिकिँदै छ उति नै मन भुक्क फुलेर आउँछ मेरो’, निशाले भनिन् ।
 पोहोरको भूकम्पमा उनले माहिलो छोरा गुमाइसकेकी छिन् । ‘त्यतिबेला मेरो १० महिनाको छोरोलाई कोक्रोमा हालेर घरभित्र सुताएको थिएँ । तर ऊ घरभित्रै पुरियो । उसलाई ६ दिनसम्म निकाल्न नसक्दाको पीडा म अहिले पनि महसुस गर्छु’, उनी भन्छिन्, ‘मलाई त मेरो अर्को बच्चा पनि मर्छ कि जस्तो लाग्छ । खै अहिलेसम्म भूकम्प आएको आयै छ ।’ भूकम्पपछि मान्छे बस्न सम्भव भएन त्यो गाउँमा । चारैतिर भीर र खोलाले छेकेको छ । त्यहाँ पुग्नलाई न त बाटो छ, न त पुल । पहिरोले जताततै भत्किएको छ । त्यसैले उनी भूकम्पपछि माईती बसिन् तीन महिनासम्म । छोरा मरेको र ससुरालाई घरले थिचेर करंग भाँच्चिएको थियो । बल्ल बिसेक भएको छ । तर औषधि खाइराख्नुपर्ने भएको छ । टहरामा के खाएर बस्ने समस्या त छँदैछ । 
गाउँ फर्किन पनि सकिन्न । निशाको छेवैमा टहरा हालेकी छिन् उनकी नन्द साहिली तामाङले । भूकम्पपछि त्यही टहरामा बच्चा जन्माएकी साहिलीको सुत्केरी पीडा नमीठो लागेको निशाले बताइन् । ‘सुत्केरी भएको बेला निकै चिसो थियो । हिउँले छपक्कै ढाक्थ्यो । ओड्नेमाथि पाल थपेर सुतेँ । बच्चालाई चिसो उत्तिकै लाग्ने । के गर्ने बाँच्नै प¥यो’, साहिलीले भनिन् । आफ्नो नन्दको हालत देखेर निशालाई पनि निकै डर लागिरहेको छ । आठ महिना भइसक्दा पनि एकपटक स्वास्थ्य परीक्षण गराएकी छैनन् उनले । 
 ‘हेल्थपोस्टसम्म जान पनि गाह्रो लाग्छ । गाडी छैन । टाढा जानुपर्छ । अर्को बच्चा जन्माउन डर लागिरहेको छ । सदरमुकाम चौतारा जानलाई पनि गाडी पाइन्न । हिँडेर जान सकिन्न ।’ २० वर्षमा विवाह गरेकी निशाकी नन्द साहिँली अहिले २७ वर्ष पुगिन् । कुबेत गएर ‘हाउसमेड’ को काम गरिसकेकी साहिली साढे दुई वर्षसम्म पचास रुपैयाँ मात्रै तलब पाएकोले नेपाल फर्किइन् । राम्रोसँग नेपाली पनि बोल्न आउँदैन उनलाई । न त एकै कक्षा पढेकी छिन् । 
सानैमा आमा गुमाएकी उनलाई बाबुले स्कुल नपठाएको बताउँछिन् । वैशाख १९ गते जन्मिएको उनको छोरो हुर्किंदै गएको छ । जेठी छोरी ६ वर्ष पुगिसकेकी छिन् । ‘अब मलाई अर्को बच्चा जन्माउने रहरै छैन । गर्भनिरोधक साधन पाइन्न, नचाहिँदो बच्चा जन्मिहाल्छ’, उनी भन्छिन् । सामुदायिक जंगलमा बस्दै आएका यी नन्द–भाउजूको टहरा कहिले भत्किने हो पत्तो छैन ।
 उनीहरूको मन आत्तिइरहन्छ । उनीहरूलाई सरकारले अहिलेसम्म पनि स्थायी बासस्थानको व्यवस्था गरेको छैन, न त बस्दै आएको जग्गामा स्थायी रूपमा बस्न पाउने अधिकार नै दिएको छ । ‘सुरक्षित बास चाहिएको छ मलाई । मेरो बच्चाहरूलाई उचित शिक्षा दिन चाहन्छु । मेरो बच्चा सुरक्षित रूपमा जन्माउने रहर छ । हावालाई नआइज भन्न सकिन्न, पानी नपरोस् भन्न मिल्दैन । बर्खाले छोपिसक्यो । कतिन्जेल बस्ने यसरी ? यसको व्यवस्था कसले गरिदेला ? ’, निशाको यी गम्भीर प्रश्नको उत्तर दिन उनीसँग कोही हाजिर छैन ।

0 comments

Write Down Your Responses