News
»
भूकम्पमा दिवंगतको सम्झनामा वसन्तपुरमा विशेष कार्यक्रम
भूकम्पमा दिवंगतको सम्झनामा वसन्तपुरमा विशेष कार्यक्रम

काठमाडौं: गत वर्षको त्रासद् भूकम्पमा दिवंगत भएकाहरूको सम्झनामा अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंको वसन्तपुर दरबारस्क्वायरमा विशेष कार्यक्रम आयोजना गरेको छ।
गत वर्ष वैशाख १२ र वैशाख २९ गते गएका भूकम्पमा ज्यान गुमाएका साढे आठ हजारभन्दा बढीको आत्माले शान्ति पाओस् भनी वसन्तपुर दरबारस्क्वायरबाट अनन्त आकाशमा हजारौं बेलुन उडाइएको छ।

दिवंगतहरूको सम्झना, सम्मान र शान्तिका लागि अन्नपूर्णले उक्त कार्यक्रमको आयोजना गरेको हो।अन्नपूर्ण पोस्ट् दैनिक,एपीवान रेडियो, एपी वान टेलिभिजन र अन्नपूर्णपोस्ट् डटकमको सञ्चालक अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गर्ने ‘एक दिवंगत आत्मा: एक बेलुन हातमा' कार्यक्रममा सबै धर्मका गुरु र प्रतिनिधि सहभागी भएका थिए।

हिन्दु धर्मबाट राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधव भट्टराई र विश्व हिन्दु महासंघ नेपालका पूर्वअध्यक्ष दामोदर गौतम, बौद्ध धर्मबाट भिक्षुणी डा. अनोजा र भिक्षु डा. चन्द्रकीर्ति महास्थवीर, क्रिस्चियन धर्मबाट बिसप पावल सिमिक र बिसप नारायण शर्मा, इस्लाम धर्मबाट इमाम मोहम्मद सनाउल्ला मदवी, जैन धर्मबाट डा. नमन उपाध्याय र बहाई धर्मबाट नरेन्द्र पाण्डेले बेलुन उडाएर कार्यक्रम उद्घाटन गरेका थिए।

सहभागीले भूकम्पमा दिवंगत आफ्ना प्रियजन तथा आफन्तका लागि सन्देश समेत लेखेका थिए। कार्यक्रममा राजनीति, प्रशासन, कला, साहित्य, संस्कृति, न्याय, अर्थ, सुरक्षालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, कलाकार, खेलाडी, व्यवसायी, पेसाकर्मी तथा सर्वसाधारण सहभागिता थिए।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्रप्रहरीका आइजीपी दुर्ज कुमार राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री र राखेपका सदस्यसचिव केशव विष्टलगायत दिवंगत आत्माको लागि बेलुन उडाउने कार्यक्रममा सहभागी भएका थिए।
0 comments
Write Down Your Responses