समस्यामा अन्तरजातीय जोडी
वैशाख १५, २०७३-
तीन वर्षअघि अन्तरजातीय विवाह गरेका सिपवा ८ पतिजीयाका विपत हरिजनको ज्यान पटक–पटक भागेर बच्यो। पत्नीका आफन्तको प्रहारबाट बच्न उनी अझै पनि लुकेर ज्यान जोगाइरहेका छन्। २०७० चैतमा गाउँकै विन्देश्वरी भरसँग प्रेम विवाह गरेका उनी त्यसयता आफ्नै घरमा जान सकेका छैनन्।
भैरहवामा आफन्तको घरमा बसेका उनलाई त्यहाँसमेत पत्नीका आफन्तले आक्रमण थालेपछि भारतमा लुकेर गुजारा चलाएका छन्।
करिब ६ महिना विस्थापित भएका घरका अन्य सदस्यलाई भने दलित सम्बद्ध संघसंस्था, प्रहरी र प्रशासनको सहयोगमा पुन:स्थापित गरिएको छ। अझै, बेलाबेलामा धम्क्याउन नछाडिएको हरिजनका दाइ सुग्रिवको गुनासो छ।
रूपन्देहीमा जातीय छुवाछूतका घटना तुलनात्मक रूपमा घटेका छन्। सार्वजनिक स्थलमा छुवाछूत गर्ने बानी हराउँदै गएको छ। त्यसका बाबजुद अन्तरजातीय विवाह गरेका जोडी समाजमा स्थापित हुन नसकिरहेका उदाहरण हुन् हरिजन दम्पती।
बुटवल १३ की सरिता नेपालीको अवस्था पनि उस्तै छ। शंकरनगरका रामबहादुर क्षत्रीसित सात वर्षअघि बिहे गरेकी उनी अहिले नाबालक छोरीसहित एक्लै छिन्। सरिताको भनाइमा ०६५ मा प्रेम विवाह गरेर भारतको दिल्लीमा गएका उनीहरू दुई वर्ष उतै बसे।
घर फर्केपछि सरितालाई परिवारले स्वीकारेन। पारिवारिक दबाबले भारतमा राम्रै सम्बन्ध भएका पतिले पनि सम्बन्ध विच्छेद गर्न आग्रह गरे। सरिता राजी भइनन्। ०६७ असारमा पतिलाई लिएर घरपरिवार लापत्ता भएपछि एक्लै परेकी हुन्।
‘आफन्तले हाम्रो बिहे सहन सकेनन्। आखिरी उहाँलाई नै लुकाए,’ सरिताले भनिन्।
केही उपाय नलागेपछि अहिले आफन्तका घरमा बसेर निर्माण मजदुरी गर्दै गुजारा चलाइरहेकी छन्।
सात वर्षअघि केशव मगरसित बिहे गरेकी बुटवल १४ की उमा सार्की पनि छोरीसहित अलपत्र छिन्। कपिलवस्तुकी सीता रानासित तीन वर्षअघि प्रेम विवाह गरेका बुटवल ११ का दिनेश विकले एक महिना पनि पत्नीसित बिताउन पाएनन्।
काठमाडौं कलंकीमा डेरा बसेका उनकी पत्नी ससुरालीले खोसेर लगे। पटक–पटक प्रहरीसित पत्नी फर्काउन गुहार मागेका उनले उल्टै प्रहरीबाट अपहरणको मुद्दा लगाइदिने धम्की पाए।
‘आजित भएर खोजी गर्नै छाडिदिएँ,’ उनले भने ।


0 comments
Write Down Your Responses