दुर्घटनाले रुवायोः एक वर्षमा १८ सयको मृत्यु


३० चैत, काठमाडौं । वर्षको अन्तिम दिन मंगलबार एकाबिहानै दुखद खबर आयो । २२ जनाको ज्यान जानेगरी खोटाङमा भएको बस दुर्घटनाले २०७२ सालको पिडादायी अन्त्य गरेको छ । सवारी दुर्घटनाको कुरा गर्दा यो एक वर्ष त्रासदीपूर्ण नै रह्यो । साना-ठूला सवारी दुर्घटनामा १८ सय १५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत वैशाखदेखि चैत महिनासम्ममा भएका १३ हजार ६ सय ६६ वटा सवारी दुर्घटना यति हताहति भएको हो । मृत्यु हुनेमा १३ सय १२ पुरुष, २ सय ९२ महिला र १ सय ८६ बालबालिका रहेका छन् । सवारीसाधनमा सबैभन्दा बढी ५ हजार २ सय ५२ वटा मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ । मापसे गरेर मोटरसाइकल चलाउनु दुर्घटनाको मुख्य कारण बन्ने गरेको ट्राफिक महाशाखाको दावी छ । उपत्यकामा मात्रै अघिल्लो एक वर्षमा ३५ सयभन्दा बढी सवारी दुर्घटना भए । जसमा एक सय १५ भन्दा बढीले ज्यान गुमाएका छन् । 
 हवाइ दुर्घटनाको पीडा सडक दुर्घटना मात्रै नभएर २०७२ सालमा हवाई दुर्घटनाले पनि पिरोल्यो । फागुन १२ गते बिहान करिब ७ः५० बजे तारा एयरको जहाज पोखरा विमानस्थलबाट जामसोमको लागि उड्यो । जहाज उडेको १० मिनेट नबित्दै सम्पर्कविहीन भएको खबर आयो ।
 Tara Air Crash side (8) तत्काल जहाजको खोजी सुरु भयो तर ५ घण्टासम्म भेटिएन । अन्ततः जोमसोम उडेको जहाज म्याग्दीको सोलीघोप्टे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो । जहाजमा सवार चालक दलका सदस्यसहित २३ जनाको मृत्यु भयो । त्यसको तीन दिन बित्न नपाउँदै नेपालगञ्जबाट जुम्लाको लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा परेको खबरले सबैलाई पिरलो थप्यो । फागुन १४ गते दिउसो १२ः२० मा नेपालगञ्जबाट जुम्लाको लागि उडेको कलसाइनको जहाज कालिकोटको चिलखायामा दुर्घटनामा परेको थियो । दुई चालकसहित ९ यात्रु सवार जहाजको पङ्खा बन्द भएपछि चालकहरुले गहुँबारीमा लगेर आकस्मिक अवतरण गराएका थिए ।
Gulmi-Accident चालक र सहचालक दिनेश न्यौपाने र सन्तोष रानाले सबै यात्रुलाई जोगाए, तर आफैंलाई जोगाउन सकेनन् । दुर्घटनामा सबै यात्रुलाई जोगाएर मृत्युवरण गरेका दुई चालकको बहादुरीको सबैले प्रसंशा गरेका थिए । यसअघि भुकम्पको उद्धारका लागि आएको अमेरिकी सेनाको हेलिकोप्टर जेठ २६ गते बेपत्ता भएको थियो । भूकम्प पीडितको उद्धारको लागि नेपाली सेनाको २ र अमेरिकी सेनाको ६ गरी ८ जना सैनिक सवार हेलिकप्टर सिन्धुपाल्चोकको सुनाखानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो । हेलिकप्टर हराएको ५ दिन पछि दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने गर्थोलीको सिन्धुरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ८ जनाको ज्यान गयो ।

0 comments

Write Down Your Responses