महाभूकम्प सम्झना : जसका परिवारका १६ सदस्य बिते
कुराकानीको विषय प्रस्टाएपछि उनले भित्रबाट ढोकाको चुकुल लगाए । ‘आँखामा आँसु नै रित्तिइसक्यो । सपनाजस्तै लाग्छ कहिलेकाहीं । खै के भनौं,’ कुराकानीको सुरुमै उनको गला रोकियो । एकहोरो अगाडिको टेबलमा रहेको काँचको सिसामा उनले हेरिरहे । मलिन स्वरमा थपे, ‘आफूलाई सम्हाल्दैछु, अरूलाई सम्झाउँदैछु ।’
वैशाख १२ को महाभूकम्पको महावज्रपात बेहोर्नेमध्ये एक पात्र हुन् विष्णुमान । भागवत् सप्ताहको पहिलो दिनको साइत थियो । २०७२ साल वैशाख १२ गते १२ बजे । साइत निकाल्नेको दाबी थियो, ‘यस्तो साइत धेरै वर्षमा कहिलेकाहीं जुर्छ ।’ आफन्तहरू घरमा आइसकेका थिए, बालबालिकाको उल्लासपूर्ण चहलपहलले घर गुञ्जायमान थियो ।
चारतले सेतो घरको ‘ग्यारेज’ रहेको भुइँतलामा सप्ताह सुरु हुने तरखर हँ‘दै थियो ।
साइतमै देउता पदस्थापन गर्न तीन मिनेट बाँकी रहेको बेला, ११ बजेर ५७ मिनेटको महाप्रलयले शोभा भगवती–१५ स्थित उनको घर गल्र्याम्मै ढल्यो । विष्णुमानकी आमा चन्द्रवदन प्रधान ६२, दिदी हेमलता ४३, दाइ सुन्दरमान ४० सहित परिवारका १६ सदस्य एकै ठाउँ दिवंगत भए । चारपुस्ते आफन्तहरू पुरिए । मावलीतिरका हजुरबा र हजुरआमादेखि चार वर्षकी भान्जीको प्राण उड्यो ।
उनका तीनजना सानीआमा, काका, बहिनी, बहिनीकी सासू र नन्द एवम् विष्णुमानकी भाउजूकी भाउजू, उनका तीनवर्षे छोरा र भाउजूकी भाइबुहारीको इहलीला समाप्त भयो । घटनामा पुजारीकी श्रीमतीको समेत निधन भयो ।
‘परिवार उजाडियो, सिसाझंै चकनाचुर भयो,’ केही सम्हालिँदै उनले भने, ‘एउटा मान्छेको जीवनमा सम्भवत: यसभन्दा अर्काे दु:खान्त के हुन सक्छ र ?’ त्यो दिनमा केवल जोगिए त उनका ६९ वर्षीय पिता, भाउजू एवम् आठ र एघार वर्षीया भतिजीहरू ।
बीभत्स घटनालाई उनी अहिले सम्झन्छन्, ‘भुइँचालो आएपछि सक्नेहरू सुरक्षित स्थलतिर भाग्न खोजेछन् ।
भुइँतलामा रहेका दाइको भने माथिल्लो तलातिर दौडने क्रममा सिँढीमा च्याप्पियर ज्यान गएको रहेछ । सायद माथिल्लो तलामा खेलिरहेका दुई छोरीलाई बचाउन माथितिर गएको हुनुपर्छ ।’ बोल्दाबोल्दै उनको आवाज अड्कियो । भावुक बन्दै मुन्टो निहुराइरहे । नि:शब्द भइरहे । घरको उत्खनन गर्ने क्रममा विष्णुमानकी भाउजूकी भाउजू र उनको काखीमै च्यापिएको अवस्थामा तीनवर्षे छोराको शव निकालिएको थियो ।
पीडाको छटपटी र निस्सासिएर होला बच्चाले आमाको गालामा नीलो डाम हुने गरी टोकेको थियो । साहस बटुल्दै उनले भने, ‘यस्तो पीडा कसरी भुल्न सकिएला ? सम्झँदा मन छियाछिया हुन्छ ।’
महाप्रलय हुँदा विष्णुमान न्युयोर्कमै थिए । उनी सम्झन्छन्, ‘एउटा पार्टीबाट हामी भर्खरै फर्केका थियौं । त्यस्तै रातको १२ बजेको थियो । फेसबुक हेरेको, काठमाडौंमा भुइँचालो गएछ । निद्रा लाग्ने कुरै भएन ।’ उनले काठमाडौंमा पहिले दाइ र त्यसपछि बुवालाई फोनमा सम्पर्कको कोसिस गरे, तर सम्पर्क हुन सकेन । आत्तिए पनि मनको एउटा कुनामा आशाको दियो बलिरह्यो, ‘केही भएको छैन होला ।’


0 comments
Write Down Your Responses