वृद्धालाई फेसबुकले भेटाइदियो परिवार


  १५ वैशाख
चितवन,हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ । नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । 
मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिनुभयो । फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको थाहा पाएपछि लिन आएको नाति पुण्य प्रसाद पाण्डेले मङ्गलबार पुनर्मिलनका क्रममा बताउनुभयो । 
मानव सेवा आश्रमले उहाँलाई भेटेपछि फेसबुकमा तस्बिरसहित जानकारी राखेको थियो । सोही जानकारीका आधारमा खोजी गर्दा हजुरआमालाई फेला पारेको पुण्यप्रसादले भन्नुभयो । उहाँ घरमा कोही नभएको बेला वैशाख १ गते निस्कनुभएको थियो । पुण्य प्रसादका अनुसार उहाँ यसअघि पनि ६ पटक हराइसक्नुभयो । विभिन्न ठाउँमा गएर खोजी गरी घर ल्याउने गरिएको पुण्य प्रसादको भनाइ छ । अहिले धेरै ठाउँमा खोजी गर्दा भेटिएको थिएन । 
बारा जितपुर घर हो भन्दै भरतपुर अस्पतालअगाडि उहाँ गम्भीर घाइते अवस्थामा रहेका बेला नारायणगढ पुल्चोक निवासी अस्मिता गुरुङले फेला पारेपछि वैशाख ४ गते नै आश्रममा ल्याइएको थियो । इन्द्रकलाको निधार तथा दाहिने आँखावरपर गहिरो घाउ लागेको अवस्थामा उद्धार गरिएको अभियन्ता सिर्जना ओलीले बताउनुभयो । उपचार पछि सबै घाउ ठीक भएको उहाँको भनाइ छ । यसअघि गएको मङ्सिरमा पनि उहाँलाई आदर्श गृहले उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।

0 comments

Write Down Your Responses