बाबुभन्दा सम्पत्ति प्यारो

सन्तानले हेला गरेपछि कपिलवस्तु ५ ठूलो बगर्दवाका ८० वर्षीय चिन्नी कुर्मी बिचल्लीमा परेका छन् । छोरी मन्नी र ज्वाइँ दिनानाथ कुर्मीले उनी बस्ने घरमा ताला लगाएपछि आफू बिचल्लीमा परेको दुखेसो पोखे । वृद्धले आफ्नो सम्पत्ति छोरी–ज्वाइँलाई नामसारी गरिसकेको बताए ।
   अहिले खानलाउन दिँदैनन् । आफू घर निकाला बन्नुपरेको दुखेसो पोखे । पहिले छोरी–ज्वाइँले लालनपालन गर्ने भनेर उनको नाममा रहेको २० कठ्ठा जग्गा र घर नामसारी गराएका थिए । सम्पत्ति प्राप्त गरेपछि १ वर्षदेखि दुवैले बेवास्ता गरेको उनले बताए । पीडा सुनाउन जिल्ला प्रशासन पुगेका वृद्धले आँसु झाँर्दै भने, ‘सुख पाउने लोभमा सम्पत्ति दिएँ, अहिले मागेर छाक टारिरहेको छु ।’ जग्गा र घर लिने बेला ‘राम्ररी पाल्छौं, कुनै कमी हुन दिँदैनौं,’ भनेको सम्झे । अहिले घर न घाटको बनाएको उनले बताए । 
   ‘बाचुन्जेल सुखले पाल्छु भन्ने छोरी नाकमुख देखाउँदिन,’ उनले भने, ‘घरमा ताला लगाएर बसेकी छे, अब आफनो पीडा कति सुनाऔं ।’ एक वर्षअघि कपिलवस्तु १९ तिलौरीमा रहेका भतिजा सन्तरामले आफ्नो घरमा लगेर राखे । केही समय स्याहार गरे । छोरी ज्वाइँले निकालेपछि पीडित वृद्धले भतिजाको सहारा पाएपछि बाँकी जीवन खुसीसाथ बित्ने विश्वास लिए । उनले ठूलो बर्गदवामा बाँकी रहेको ४ कठ्ठा जमिन भतिजाको नाममा दर्ता गरे । जग्गा नामसारी गरेको १ महिना नबित्दै भतिजाले घर निकाला गरेको उनले बताए ।
   ‘छोरी ज्वाइँले जस्तै जीवनभर पालनपोषण गर्छु भनेको थियो, उसले पनि धोका दियो,’ उनले भने, ‘छोरी–ज्वाइँ र भतिजाले घरबाट निकाले, अब १ हात सम्पत्ति रहेन ।’ घरमा ताला लगाएपछि अहिले बरन्डामा बस्ने गरेका छन् । भतिजाको नाममा जग्गा लेखिदिएपछि छोरी–ज्वाइँ रिसाएको र घरबाट लखेटेको स्थानीय पशुपतिमणि त्रिपाठीले बताए । गाउँलेले दिने भीखबाट वृद्धको सास धानिएको उनले बताए । 
      आफूहरूले पटक–पटक बुबालाई सँगै राख्न आग्रह गर्दा छोरी ज्वाइँले बेवास्ता गरेको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडकाले वृद्ध कानुनी रूपमा चुकेकाले आफूहरूले केही गर्न नसक्ने बताए । एकपटक कार्यालयमा छोरी–ज्वाइँलाई झिकाएर सम्झाउने उनले बताए । ‘बाउभन्दा प्यारो सम्पत्ति भयो,’ वृद्धले निधारमा हात पुर्‍याउँदै भने, ‘सन्तान पनि आफना भएनन् ।’ उनी बल्लतल्ल लाठीको सहायताले हिँड्छन् ।

0 comments

Write Down Your Responses