हिलिहाङको खोजीमा लोकेन

२०६१ सालमा पहिलो पटक म्युजिक भिडियोमा एक्सन कटभन्दा लोकेन साँवा आफ्नो गन्तव्यका बारेमा अनभिज्ञ थिए । उनले म्युजिक भिडियो निर्देशन गर्न थालेको ११ वर्ष भयो, अहिले उनी आफ्नो लक्ष्य र गन्तव्यका बारेमा स्पष्ट छन्। 'सुरुमा रहर र देखासिकीले यो क्षेत्रमा लागे पनि अहिले व्यवसाय बनेको छ', लोकेन भन्छन्, 'यसबाट जीवन चलेको छ । आफूले जानेको, बुझेको र लामो समय बिताएकाले होला अब त निर्देशनभन्दा अन्य कुराको कल्पनै गर्दिनँ।' 
 म्युजिक भिडियो निर्देशन गर्नुअघि उनी अभिनय गर्थे । रूपिन डंगोलको निर्देशनमा धरानमा निर्माण गरिएको चलचित्र 'पिकनिक', मौसम इम्बुङ निर्देशित चलचित्र 'छिमेकी' मा सानोतिनो भूमिका निर्वाह गरेका लोकेन निर्देशनमा लागेपछि पछाडि फर्केर हेर्नु परेको छैन । शिरै फूल शिरबन्दी, हावा सररर, बिदेसिनु रहर होइन, इशाराले, तिम्रो त्यहाँ बिहानीलगायत अहिलेसम्म डेढ सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। 
 'मेरो निर्देशनमा तयार भएका निङसाङ, लुँवालाई देख्दा, रप्तरंगी, लुङमा हिम (विरही चल्छ), नमस्ते गैरीगुठ, फुङ थाप्ला खेम्सिङलो (जोडी फूल सुहायो), पहिलो प्रयास, आमा— २, हिमाल स्मृति, आदाङमे (मेरो हजुर) गरी १० वटा म्युजिक भिडियो एल्बम नै प्रकाशित भइसकेको छ', साँवाले भने। 
     पछिल्लो समय उनी छोटो चलचित्र एवं वृत्तचित्र निर्देशनतिर पनि लागेका छन्। उनको निर्देशनमा तयार भएको वृत्तचित्र 'हाङ हिलिहाङ' गत साता राजधानीमा प्रदर्शन गरिएको थियो। 'हाङ हिलिहाङ वृत्तचित्रमा लिम्बुवानको अन्तिम राजा, उनको दरबारको संरचना, इतिहास आदि समेटिएको छ', उनले भने, 'अहिले म छोटो चलचित्र आनि हिलिहाङको काममा व्यस्त छु। यो पनि छिट्टै दर्शकमाझ आउँदैछ ।
' मेलिना मानन्धर, नन्दिता केसी, पार्वती राई, ऋचासिंह ठकुरी, प्रियंका कार्की, सौजन्य सुब्बा, बेनिशा हमाल, निशा पोमु, रञ्जन रिजाल, रेखा फागो, दिव्या चेम्जोङ, सिर्जना निङलेखु, डा. एलिसा बनेमलगायत दर्जनौं कलाकारसँग निर्देशक साँवाले काम गरिसकेका छन्।
     लिम्बू सांस्कृतिक कथानक चलचित्र निर्देशन गर्ने योजनामा रहेका उनी ताप्लेजुङको चाँगेमा जन्मेका हुन्। १२ वर्षअघि धरान आएपछि उनको कलायात्रा आरम्भ भएको हो । भविष्यमा भाषा संस्कृतिको संरक्षणसहित भाषिक एवं सांस्कृतिक चलचित्रमा काम गर्ने उनको लक्ष्य छ।

0 comments

Write Down Your Responses