चिनियाँ रेलबाट ल्याइएको सामानको अवस्था बुझ्न रसुवा लागे कर्मचारी, भन्सार प्रमुख नाकातिर

जेष्ठ ५, २०७३
काठमाडौँ । अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट 'काठमाडौँका लागि' भन्दै रेल छुटेको समाचारले ठूलो तरंग ल्यायो। त्यही रेलमा ल्याइएको सामान अहिले नेपाल आउने क्रममा छ। सामानको अवस्था बुझ्न रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु केरुङ पुगेका छन्। सामान मंगलबार चीनको केरुङ आइपुगेको हो।
 सामान लिन गएका नेपाली कन्टेनर हिजै केरुङ पुगेका थिए। त्यहाँबाट कन्टेनरहरुमा लोड गरिएका सामान नेपाल भित्रिनेछन्। रसुवागढीबाट केरुङ २२ किलोमिटर माथि पर्छ। केरुङ प्रस्थान गर्नुअघि पनेरुले पहिलोपोस्टसित भने, ‘
म सामानको अवस्था बुझ्न केरुङतर्फ हिँडे, के सामान आएको भन्ने मलाई पनि थाहा छैन।' उनले सामान आज साँझसम्म नेपाल भित्रन सक्ने जानकारी गराए। पनेरुका अनुसार रसुवागढी भन्सार कार्यालयमा व्यापारीहरुले सामानको राजस्व दाखिला गरेपछि काठमाडौँ ल्याउनका लागि अनुमति पाउँछन्। 'लान झाउ-काठमाडौँ रेल' लेखेर दैनिक आवश्यकताका घरायसी उपकरण र ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्से आइपुगेको थियो।
 सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरुले ५६४ किलोमिटर पार गरेर सामान केरुङ ल्याइपुर्‍याएका थिए। केरुङबाट काठमाडौँसम्मको सडक यात्राको दूरी भने १६० किलोमिटर छ।

0 comments

Write Down Your Responses