वैदेशिक रोजगारीको ठगीमा नक्कली एजेन्टको बिगबिगी ..
जेष्ठ ५, २०७३-
वैदेशिक रोजगारीमा हुने अधिकांश ठगीमा नक्कली एजेन्ट सक्रिय रहेको भेटिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मात्रै पछिल्ला दस महिनामा २२ ठगीका मुद्दामा २४ एजेन्ट पक्राउ गर्यो । जसमध्ये अधिकांश वैदेशिक रोजगार विभागमा सूचीकृत थिएनन् ।
वैदेशिक रोजगारीमा हुने अधिकांश ठगीमा नक्कली एजेन्ट सक्रिय रहेको भेटिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मात्रै पछिल्ला दस महिनामा २२ ठगीका मुद्दामा २४ एजेन्ट पक्राउ गर्यो । जसमध्ये अधिकांश वैदेशिक रोजगार विभागमा सूचीकृत थिएनन् ।
गतवर्ष जेठ २६ को श्रममन्त्रीस्तरीय निर्णयअनुसार सरकारले असार २१ गतेदेखि मलेसिया र खाडीका ६ मुलुकका लागि निःशुल्क भिसा र टिकटको नीति लागू गरेपछि सूचीकृत एजेन्टको संख्या हवात्तै घटेको छ । तर यही अवधिमा अवैध एजेन्टको बिगबिगी भने बढेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल एजेन्टहरू म्यानपावर व्यवसायीको नियन्त्रणमा नहुने भएकाले नयाँ सूचीकृत एजेन्ट दर्ता नगरेको र भएका एजेन्टको पनि दर्ता खारेजी गरेको बताउँछन् ।
विभागको तथ्यांकअनुसार जेठयता विभागमा जम्मा सात नयाँ एजेन्ट सूचीकृत भएका छन् भने यही अवधिमा दर्ता खारेजी गर्ने एजेन्टहरूको संख्या ९३ पुगिसकेको छ । गत चैतमा मात्रै २० सूचीकृत एजेन्टहरूको दर्ता खारेज भएको देखिन्छ ।
लाइसेन्स प्राप्त वैदेशिक रोजगार व्यवसायीको सिफारिसमा एक लाख रुपैयाँ धरौटी राखेर विभागबाट एजेन्टको लाइसेन्स लिन मिल्ने प्रावधान छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगीका घटनामा एजेन्ट संग्लन रहेको प्रमाणित भयो भने उसले राखेको धरौटी रकमबाट निकालेर दिने व्यवस्था छ । तर यस्ता सूचीकृत एजेन्टहरूको नयाँ दर्ता माघयता ठप्प छ ।
बरु सूचीकृत भएका एजेन्टहरूको पनि धमाधम दर्ता खारेजी भइरहेको छ । २०७२ को वैशाखमा विभागमा दर्ता भएका म्यानपावरको संख्या १ हजार ३३ थियो । यो संख्या चैतसम्ममा २ सय ७८ ले घटेर ७ सय ५५ भयो । म्यानपावरको संख्यात्मक गिरावटको सोझो असर सूचीकृत एजेन्टहरूमा पनि परेको देखिन्छ । जसका कारण अवैध रूपमा कामदार वैदेशिक रोजगारीमा पठाउने धन्दामा संग्लन एजेन्टहरूको संख्या बढदो देखिन्छ । विभागका अनुसार अहिले ६ सय ७३ सूचीकृत एजेन्टहरू ७ सय ५५ म्यानपावरका निम्ति काम गरिरहेको देखिन्छ ।
निःशुल्क भिषा र टिकटको नीतिगत निर्णयपछि म्यानपावर व्यवसायीहरूले सरकारसँग म्यानपावरको शाखा कार्यालय खोल्न पाउनुपर्ने माग गरेका थिए । तर त्यसको नीतिगत निर्णय भने हुन सकेको छैन । अध्यक्ष ढकालले निःशुल्क भिषा तथा टिकटको व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको र त्यसको असर पनि सूचीकृत एजेन्टको संख्यामा परेको बताउँछन् ।
यस्ता सूचीकृत एजेन्टहरूले कामदार खोजेर म्यानपावरसम्म पुर्याएबापत निश्चित कमिसन लिने व्यवस्था छ । यसलाई कानुनले भने व्यवस्थित गरेको छैन ।
अध्यक्ष ढकाल भन्छन्, 'एजेन्टहरूलाई सम्हालिसक्नु पनि भएन र तिनीहरूलाई कसरी सेवा सुविधा दिने भन्ने नीतिगत आधार पनि भएन ।' उनका अनुसार कतिपय ठाउँमा एजेन्टहरूले अनावश्यक र अवैध रूपमा कामदारसँग पैसा उठाएका कारण म्यानपावरले पनि दुःख पाए ।
भन्छन्, 'वैदेशिक रोजगारीमा जति पनि ठगीका समस्या छन्, ती सबै अवैध एजेन्टहरूका कारण भएको छ ।' महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटनामा अवैध एजेन्टकै संग्लना देखिने बताउँछन् ।
भन्छन्, 'कतिपय एजेन्टले त म्यानपावरलाई पनि झुक्याउने रहेछन्, एजेन्टको बिगबिगी सहरदेखि गाउँसम्मै फैलिएको छ ।'


0 comments
Write Down Your Responses