रातीभरी पानीको लाइनमा - सुके पानीका मुहान

२०७३ बैशाख ३०
 सुके पानीका मुहान अछामः मंगलसैन नगरपालिका–ठूलासैनकी नामसरा भण्डारीको आजभोली मध्यरातमा उठ्छिन् र छोरीलाई साथमा लगेर गाग्री बोक्दै पानी लिन कुवा तिर लाग्छिन् । मध्ये रातमै करिब २० मिनेट हिँडेर कुवामा पुगे पनि उनी भन्दा पहिले कुवामा गाउँका अरु महिला पानी लिन पुगिसकेका हुन्छन् । गाउँ नजिकैको धाराको पानीको मुहान सुके पछि उनले होटल चलाउनको लागि मध्यरातमा उठेर पानी भर्न कुवामा जानुको कुनै विकल्प छैन ।
 ‘आधा रातमा पानी भर्न कुवामा गएन भने होटलमा आगो नै बल्दैन’ नामसराले भनिन्, ‘कुवामा ढिलो पुग्यो भने त पानी भर्नै पाइँदैन ।’ ढिलो पुगेको दिन त कुवामा पानी सकिएर कहिले काँही खाली भाडो बोकेर घरफर्किनु परेको उनले सुनाइन्। मध्यरातमा उठेर पानी लिन कुवामा जाने नामसराले पानी भरेर फर्किए पछि सुत्ने गरिएको बताइन् ।
 पानीको सारै समस्या भइरहने ठूलासनैनमा यस बर्षको लामो खडेरीका कारणले भएको मुहानसमेत सुकेपछि पानीको निकै हाहाकार मच्चिएको स्थानीय धर्म भण्डारीले बताए । तत्कालै पानी परे पनि मुहान नफुट्ने भएकाले यस बर्ष बर्खा नलाग्दासम्म कुवामा पनि सुक्ने उनले सुनाए । खानेपानीको समस्या ठूलासैनमा मात्रै होइन लामो खडेरीका कारण जिल्लाका अधिकांश गाउँमा पानीका मुहान सुकेका छन् । पानीका मुहान सुक्दा पानीको हाहाकार नै फैलिएको छ । 
सदरमुकाम मंगलसैन बजारमा रहेका धारामा पानीको मात्रा घटेपछि उपभोक्ताले घण्टौँ कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बजारमा रहेको झाडफुँगा धारा र बैरागी धारामा दिनप्रतिदिन पानीका मुहान सुक्न थालेपछि पानीको अभाव सिर्जना भएको हो । यहाँ पानी भर्नको लागि दिनमा मात्र होइन रातमा समेत लाइन बस्नु पर्ने बाध्यता छ ।
 पानी भर्नको लागि तछाडमछाड हुँदा दिनहुँ हानथापसमेत हुने गरेको छ । सदरमुकामको माथितिर रहेको पालेवन सामुदायिक वनमा सरकारी कार्यालय पुनःनिर्माण गरिएपछि पानीका मुहान सुक्न थालेको पालेबन सामुदायिक वनका अध्यक्ष लोगबहादुर केसीले बताए । तत्कालिन सशस्त्र युद्धको समयमा विद्रोही पक्षबाट जिल्ला सदरमुकाम ध्वस्त हुँदा बजार क्षेत्र छोडेर वन क्षेत्रमा कार्यालय पुनःनिर्माण थालिएको थियो । त्यसले बजारमा रहेका पानीका मुहान बर्षेनी सुक्दै गएका छन् । 
सदरमुकाम मात्र नभएर जिल्लाका अधिकांश क्षेत्रमा स्वच्छ खानेपानीको अभावमा कोही खोलाको पानी पिउँन बाध्य छन् भने कोही घण्टौँ लगाएर टाढाबाट पानी बोकेर प्रयोग गरिरहेका छन् । सदरमुकाममा पानीको हाहाकार भए पछि अधिकांश सरकारी कार्यालयले टाढाबाट गाडीमा पानी बोकेर उपभोग गरिरहेका छन् । पिउनका लागि समेत पानी पाउन मुस्किल भए पछि सदरमुकाममा बस्ने अधिकांश कर्मचारी तथा अन्य व्यक्तिलाई नुहाउँनका लागि गाडी चढेर कैलाश खोलामा जानुपर्ने बाध्यता छ ।
 ‘हाम्रो गाउँमा रहेको पानीको धारा पुरै सुकेपछि पानी लिन करिब एक घण्टा हिँडेर छिमेकी गाउँमा गइरहेका छौँ’ नन्देगडा–९ का खम्म बुढाले भने, ‘यो बर्षको जस्तो पानीको हाहाकार त इतिहासमा कहिल्यै भएको थिएन ।’
 जिल्लामा रहेका खोलानाला तथा तालतलैयामा समेत पानीको मात्रा निकै घटेको छ भने अधिकांश साना खोलानाला सुकिसकेका छन् । भदौ यता राम्रोसँग पानी नपर्दा यस बर्ष हिउँदे बाली उत्पादनमा निकै असर परेको छ भने बर्खेबाली लगाउन पनि पानीकै कारणले समस्या उत्पन्न भइरहेको छ । पानीको अभावले गर्दा जेठमै धान रोपीने खेतमा वैशाख अन्तिम सम्म पनि धानको बेर्ना राख्न नपाएको किसानले दुःखेसो पोखेका छन् । 
खडेरीकै कारणले हिउँदे खेती लगाउन नसक्दा अधिकांश जमिन बाँझै रहेकोमा किसानले वैशाख जानैलाग्दासम्म पनि चैते धान छर्न सकेका छैनन् ।

0 comments

Write Down Your Responses