सयौं युवा बेपत्ता
वैशाख २९, २०७३- कैलाली
सुँगुरखालका तीन युवा बेपत्ता भएको सात वर्ष बित्यो । भारतको गुजरातमा काम गर्न गएका उनीहरू ३/३ महिनाको फरकमा हराएका थिए । निगालीका पाँच युवा पनि भारत पञ्जाबको फगबाडास्थित आइरन कम्पनीमा काम गर्दागर्दै अचानक सम्पर्कविहीन भएको चार वर्ष भयो ।
डोटी वनलेक बन्डुग्रीसैनका भीमबहादुर बलायर पनि त्यसैगरी हराए ।
परिवारले अब उनको आस मारिसकेको छ । डोटीकै भूमिराजमाण्डौंका २४ वर्षीय गोपाल बेलाल पनि भीमबहादुरसँगै सम्पर्कविहीन छन् । ‘पञ्जाब पुगेको खबर आयो, त्यसपछि सम्पर्क हुन सकेको छैन,’ बेलालकी छोरी चन्द्राले भनिन् ।
डडेलधुरा मणिलेकका दुर्गा भट्ट बेपत्ता भएको एक साता पनि भएको छैन । आफन्तजनका अनुसार कम्पनीमा जानकारी माग्दा बिरामी भएर घर गएको जवाफ दिएको छ । तर दुर्गा घर पुगेका छैनन् ।
सुदूरपश्चिमका ग्रामीण भेगबाट रोजगारीका लागि भारत जानेको सूची जति लामो छ, उतै बेपत्ता हुने पनि उत्ति नै छन् । ‘डोटीका चार गाविसमा गरिएको सर्वेक्षणमा मात्र ५९ जना बेपत्ता भएको पाइएको छ,’ प्रवासी नेपालीका लागि काम गरिरहेको गैरसरकारी संस्था निड्सका कार्यक्रम प्रबन्ध निर्देशक प्रकाश मडैले भने ।
बेपत्ता हुनेमा महिलाको संख्या ३५ प्रतिशत देखिएको छ । सर्भेअनुसार बेपत्ता हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका युवा बढी छन् ।
डोटी कपल्लेकीका २२, भूमिराजमाडौंका १४, लाटामाडौंका १० र वनलेकका १३ जना परिवारको सम्पर्कमा छैनन् ।
‘बेपत्ता हुनुको कारण खोजिरहेका छौं,’ मडैले भने । अध्ययनका क्रममा बेपत्ता भएकाहरूमध्ये अधिकांश आपराधिक गतिविधिमा लाग्ने गरेको पाइएको छ ।
त्यस्ता व्यक्तिको ज्यान गए आपराधिक गिरोहबाहेक कसैलाई जानकारी हुँदैन । भारतबाटै अवैध रूपमा खाडी मुलुकमा तस्करी हुने, बन्धक मजदुरका रूपमा काम गर्ने तथा आपराधिक घटनामा भारतीय कारागारमा थुनिनेहरू पनि उल्लेख्य छन् । बेपत्ता महिलामध्ये अधिकांशलाई यौन बजारमा बिक्री गरिने र भारतका विभिन्न ग्रामीण क्षेत्रमा कृषि मजदुर बनाएर यौन शोषण गरिने गरेको छ ।
‘जानकारी हुनेबित्तिकै हामी खोजबिन सुरु गर्छौं,’ अखिल भारतीय मूल प्रवासी एकता समाजका उपाध्यक्ष हीरा चन्दले भने, ‘तर, अधिकांश घटनामा हराएको लामो समयपछि मात्र जानकारी हुने गरेको छ ।
’ सरकारका तर्फबाट हालसम्म कुनै घटनामा पहल हुन नसकेको उनले बताए । चन्दका अनुसार भारतमा दैनिक औसत ७ नेपाली सम्पर्कविहीन हुने गरेका छन् ।
प्रहरीमा निवेदन दिए पनि खोजीमा चासो नराख्ने गरेको परिवारजनको गुनासो छ ।
‘गरिबी र बेरोजगारीले परिवार पाल्न भारत गएकाहरूको पारिवारिक अवस्था कस्तो हुन्छ ?’ चन्दले प्रश्न गरे, ‘उजुरी गर्ने हैसियतसमेत नभएकाले न्याय कसरी पाउन सक्छन् ?’
प्रहरीले भारतमा बेपत्ता भएकाले खोजी गरिदिन माग गर्दै कोही नआएको जनाएको छ । ‘नेपालमै बेपत्ता भएका निवेदन भने आउने गरेका छन्,’ डोटीका डीएसपी डम्बरबहादुर चन्दले भने ।


0 comments
Write Down Your Responses