लामाविरुद्ध अख्तियारले दायर गर्‍यो साढे ९ करोडको भ्रष्टाचार मुद्दा

वैशाख ३०, २०७३- 
एनेकपा माअोवादीबाट सांसद बनेका विवादस्पद ल्हारक्याल लामाविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ४४ लाख भ्रष्टाचार गरेको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार प्रवक्ता कृष्णहरि पुस्करका अनुसार उनीविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी संसद सचिवालयलाई पनि गराइएको छ । 
 सांसद भएपछिको यो आर्जन गैरकानुनी आर्जन भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । लामासँग माग गरिएको बिगो रकम ९ करोड ४४ लाख अख्तियारले दायर गरेका मुद्दाहरुमध्ये ठूलोमा पर्ने रकम हो । नेपाली कांग्रेसबाट राजनीतिक नियुक्ति पाउन थालेका लामा एमालेबाट अर्थ सहायक मन्त्रीसम्म बनेका थिए । दोहोरो नागरिकताको विवादमा परेर मन्त्री पद गुमाएका उनी पछि एनेकपा माअाेवादीमा प्रवेश गरेर सांसद बनेका हुन् । अकुत सम्पतिमा अख्तियारले गरेको छानविनका क्रममा केहीअघि इन्भेस्टमेन्ट बैंकको उनको लकरमा बन्दुकको गोली भेटिएको थियो ।

0 comments

Write Down Your Responses