तातोपानी नाका खुल्नेमा अन्योल कायमै
२०७३ बैशाख २८ मंगलवार
तातोपानीमा क्षणिक चहलपहल तातोपानीः एक वर्षको अन्तरालपछि उत्तरी सीमानाका तातोपानी भन्सार परिसरमा क्षणिक चहलपहल देखिएको छ । गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि खासाको गोदाममा थन्किएका तीन सयभन्दा बढी कन्टेनर भ्यान भन्सार प्रवेश गरेपछि चहलपहल बढेको हो ।
दीर्घकालीन रूपमा नाका सञ्चालनमा आउने टुंगो नलागे पनि खासामा रोकिएका सामान एक वर्षपछि भन्सार प्रवेश गरेका छन् । भन्सार आइपुगेका सामान परीक्षणको क्रम चलिरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
वैशाख पहिलो साताबाट तातोपानी भन्सार आएका सामान चेक गर्ने क्रम चलिरहेको भन्सार अधिकृत रमेश खड्काले जानकारी दिए । सामान्य अवस्थामा चारपाँच दिनमा जाँच पास हुने कन्टेनर भ्यान अहिले झन्डै महिनादेखि पालो कुरेर बसेका छन् ।
चिनियाँ भन्सारले सामान छाडे पनि यता भन्सार जाँच पासको डकुमेन्ट तयार गर्ने समस्याले ढिला भएको खड्काले बताए । राजस्व संकलनको काम गर्दै आएको नेपाल बंगलादेश बैंकले सीमामा कारोबार गर्न नसक्दा व्यवसायी सामान जाँच गराएर डकुमेन्ट बनाउन काठमाडौं जानुपर्ने बाध्यता छ ।
‘काठमाडौं तातोपानी ओहोरदोहोर गर्दा एउटै गाडी छुट्न तीनचार दिन लागेको छ’, खड्काले भने, ‘अब तीनचार दिनमै सबै गाडी पास भइसक्छन् ।’
डकुमेन्ट बनाउने र राजस्व तिर्न राजधानी धाउनुपर्ने समस्याले व्यवसायी मारमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।
चीन सरकारको कूटनीतिक चाहनाका कारण भूकम्पपछि बन्द नाका अझै सुचारु हुन सकेको छैन ।
नाका सुचारु नहुँदा ठूला व्यवसायीमात्र हैन, झोले पोके व्यापारी भनेर चिनिने साना व्यवसायी पनि मारमा परेका छन् ।
भूकम्पअघिसम्म झोलामा सामान ओसारेर दैनिक दुई हजारभन्दा बढी आम्दानी गर्दै आएकी लिस्तीकी साङ्मु शेर्पा अहिले परिवारको दैनिक छाक कसरी टार्ने भन्ने तनावमा छिन् । उनले भूकम्पअघि दैनिक खुद्रा चिनियाँ सामान ल्याएर सीमा क्षेत्र र राजमार्गका बजारमा बेची परिवार पाल्दै आएकी थिइन् ।
चीन सरकारले रसुवागढी नाकालाई प्राथमिकतामा राखेपछि तीन हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको तातोपानी नाका सञ्चालनमा आउन नसकेको हो ।
नाका खुलाउन आश्वासन चिनियाँ पक्षले दिएको वर्ष दिन बित्न लाग्दा पनि पूरा भएको छैन ।
नेपाल तर्फका भन्सार र अन्य संरचना कारोबार गर्न तयारी हालतमा रहे पनि चीन सरकारको उदासीनताका कारण नाका सुचारु हुन नसकेको हो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ भन्छन्, ‘हामीले यहाँका कुनै पनि निकायमा ज्ञापनपत्र बुझाउन बाँकी राखेका छैनौं, चिनियाँ र नेपाली दुवै पक्षले कूटनीतिक पहल नगर्दा नाका सञ्चालन हुन सकेको छैन ।’
दैनिक डेढ करोडभन्दा बढी राजस्व संकलन हुने नाका महिनौदेखि बन्द हुँदा पनि सरकारी निकायले कूटनीतिक पहल नगरेकोमा व्यवसायी चकित छन् ।
किन सरकारले नाका सञ्चालनमा ल्याउन प्रयास गरेन भन्ने बुझ्न नसकेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
नाका सञ्चालन नहुँदा दुई हजारभन्दा बढी गैरव्यावसायिक जनशक्ति बेरोजगार भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष दोर्जे लामाले बताए ।
भौगोलिक अवस्था र दूरीको आधारमा नेपाल–चीन व्यापारमा सबैभन्दा उपयुक्त नाका तातोपानी हो । रेलमार्ग जोडिएको चीनको सिगात्सेबाट तातोपानी चार सय ९१ किलोमिटर दूरीमा पर्छ ।
काठमाडौं पुग्दा सिगात्सेबाट तातोपानी नाका हुँदै ६ सय ६ किलोमिटरमात्र पार गरे पुग्छ । अहिले सञ्चालनमा रहेको रसुवागढी नाका हुँदै सिगात्सेबाट काठमाडौ आइपुग्न सात सय ७६ किलोमिटर दूरी पार गर्नुपर्छ ।
वर्षा लागेपछि रसुवागढी मार्गमा हुने अवरोधले लामो समय व्यवसाय हुन नसक्ने व्यवसायी बताउँछन् ।
भूकम्पपछि सिगात्से सारिएका चीनतर्फका भन्सारलगायत सरकारी कार्यालय खासामा पुनस्र्थापित नगरिएकाले तातोपानी नाका सुचारु हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्यराज पोखरेल बताउँछन् ।
चीन सरकारकै सहयोगमा तातोपानीमा एक अर्ब रुपैयाँको लागतमा सुख्खा बन्दरगाह निर्माण भइरहेको छ । भूकम्पअघि नै ८० प्रतिशत निर्माण कार्य सकिएको बन्दरगाहको काम त्यसपछि भने ठप्प छ ।


0 comments
Write Down Your Responses